१ आश्विन २०८१ मंगलबार
image/svg+xml
समाज

‘कुश ल्याउने पुरोहित समेत छैनन् गाउँमा ’

गोरखाको भीमसेन थापागाउँपालिका-६ अश्राङका जगतकुमार श्रेष्ठले घरमा कुश नभित्र्याएको पनि आठ/१० वर्ष जति भइसक्यो। हिन्दू धर्ममा कुशलाई भगवान् विष्णुको प्रतीकका रूपमा लिइन्छ। 

हरेक वर्ष भाद्र महिनाको औंसीको दिन कुशे औंसी पर्वमा हिन्दू धर्मालम्बीले घरघरमा कुश भित्र्याएर मनाउने प्रचलन रहदै आएको छ। पुरोहितले पूजाआजासहित मन्त्र जपेर चोखो गरी कुशे औसी दिन ल्याएको कुश घरको ढोका अगाडि पालीमा जजमानको घरमा सिउरिएर छोडेपछि घरमा वर्षभरि पर्ने देवकार्य तथा पितृकार्यमा त्यहीँ कुश प्रयोग गर्ने गरिन्छ।

तर गएको केही वर्षदेखि कुशे औंसीको दिन उनको न त पुरोहित नै कुश नै कुश लिएर आउँछन् न त उनी आफै कुश लिन जान्छन्। बरु घरमा देव तथा पितृ कार्यमा कुश चाहिए पुरोहितलाईं नै ल्याउन लगाएर आवश्यकतामा काम गर्दै आएका छन्।

‘मेरो घरमा मात्र होइन आजभोलि छरछिमेकमा समेत धेरैजसोको घरमा कुश भित्र्याउने चलन हट्दै गएको छ, श्रेष्ठले भने, ‘घरघरमा कुश ल्याउने पुरोहित समेत गाउँमा छैनन्।’

गोरखा नगरपालिका-८ का बमबहादुर खत्रीको घरको घरमा पनि कुश नभित्र्याएको तीन वर्षभन्दा बढी भइसक्यो।

‘कुशे औसीको दिन बिहानै घरको ढोकामा पुरोहित कुस लिएर आउने र ढोकामा दुवे टाँसेर जाने र जजमानले सकेको दानदक्षिणा दिने प्रचलन पुरानो हो’, उनले भने, ‘हिजोआज पुरोहित आउन पनि छोडिसके हामी पनि खोज्दै जान छोड्यौ।’

घरघरमा पूजा गर्दा तथा पितृकार्य पर्दा बजारबाट कुश किनेर ल्याई कार्यहरू गर्ने गरेको उनको भनाइ छ।

पुरोहितहरूद्वारा पूजा गरी छेदन् गरेर जजमानहरू कहाँ पुर्‍याइएको कुश घरमा राख्नाले परिवारको कल्याण हुने धार्मिक विश्वास छ। चाहिएको बेलामा बजार किनेर काम टार्न पाइने भएपछि घरघरमा कुश भित्र्याउने प्रचलन हट्दै गएको खत्री बताउँछन्।

बौद्धिक सनातन हिन्दू संस्कारमा कुश एउटा अत्यन्त महत्त्वपूर्ण सांस्कृतिक र धार्मिक भूमिका भएको पवित्र वनस्पती हो। पितृकार्यदेखि लिएर देवीदेवताको पूजाआजा अभिषेक, प्राणप्रतिष्ठा आदि कार्यमा कुश मिश्रित जलप्रयोग चोखोनितो गर्न प्रयोग गरिने भएकाले कुशको धार्मिक महत्व रहेको पुरोहित ऋषिराम भट्टराई बताउँछन्।

‘गाउँघरमा विस्तारै पुरोहितको घट्दै गएको छ, उनले भने, ‘धेरैजसो पुरोहितका काम गर्नेहरू गाउँ छोडेर शहरतिरे पसे, गाउँमा पुरोहित नै पाउन पनि गाह्रो भइसकेकाले पनि कुश भित्र्याउने प्रचलन घट्दै गएको हो।’

त्यस्तै पछिल्लो पुस्तामा पुरोहित गर्ने प्रथा परम्परा छोड्दै गएकाले समस्या हुन थालेको पुरोहित भट्टराईको भनाइ छ।

जप गर्दा, होम, देवपूजा यज्ञयज्ञादी कार्य गर्दा हातमा कुशको दण्ड लिएर बस्नु हिन्दू धर्मालम्बीले गर्ने कर्मको विशेषता भएकाले कुशको विशेष महत्व हुने उनको भनाइ छ। कुश एक किसिमको वनस्पती हो। यसको स्वरूप धारिलो र टुप्पो तीखो हुन्छ।

कुश घरमा भित्रयाउँदा शुभ हुने धार्मिक मान्यता छ। कुश बिना कुनै पनि धार्मिक पितृकार्य, स्नान, दान, जप, यज्ञ-अनुष्ठान, तप जस्ता कार्य सफल हुँदैनन् भन्ने मान्यता रहेको पुरोहित भट्टराईले बताए।

कुश भाद्र कृष्ण औंशीको दिन बिहानै नुहाएर चोखो गरी धोती लगाएर विधिपूर्वक पूजा गरेर बिहानै उखेल्नुपर्ने धार्मिक मान्यता रहेको उनको भनाइ छ।

‘कुश उखेल्दा उत्तर या पूर्वतर्फ फर्किएर उखेल्नुपर्दछ, पुरोहित भट्टराईले भने, ‘भाद्र कृष्ण औंशीको बेला उखेलिएको कुश एक वर्षसम्म देव अनुष्ठान तथा पितृकर्मको लागि प्रयोग सकिने शास्त्रमा उल्लेख छ।’

काटेको कुश भने धार्मिक तथा पितृकार्यका लागि प्रयोग गर्न नहुने भएकाले कुशको फेदको भागमा बलियोसँग समाएर एकै झट्कामा उखेल्ने गरिन्छ। मानिस जन्मदा, मर्दा तथा पूजाआजाका कार्यमा कुशलाई पवित्र पूजा सामग्रीका रूपमा लिइएको छ।  

प्रकाशित: २८ भाद्र २०८० ०७:०६ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App