२२ वैशाख २०८१ शनिबार
image/svg+xml
समाज

रिसइबी साँध्न उपमेयरको घरमा ढुङ्गामुढा

धरान १५ स्थित खोरिया र सूर्य बस्तीका युवाबीच झगडा हुँदा एकजना गम्भीर घाइते भएका छन् भने उपमेयर अइन्द्रविक्रम बेघाको घरमा ढुङ्गामुढा  भएको छ। पुरानो रिसइबीका कारण भएको झगडाका क्रममा उपमेयर बेघाका भाइ विष्णु बेघा सामान्य घाइते भएका छन्।सूर्य मार्गका सन्देश राई भने धारिलो हतियार लागेर गम्भीर घाइते हुन पुगेका छन्।उनको बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ।

प्रहरीले मङ्गलवारसम्म आठजनालाई नियन्त्रणमा लिएको छ।प्रहरीले उपमेयर बेघाका भाइ विष्णु बेघालाई पनि नियन्त्रणमा लिएको छ।घटना कसरी भयो भन्ने प्रस्ट भइसकेको छैन।दुवै पक्ष हतियारसहित आक्रमण गर्न आएपछि प्रतिकार गरेको भन्दै एकअर्का पक्षलाई दोष देखाइरहेका छन्।घटनाको गम्भीरतापूर्वक अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रवक्ता एवं डिएसपी नविनकृष्ण भण्डारीले जानकारी दिए ।

आफ्नो घरमा ढुङ्गामुढा भएको घटनामा प्रहरी समयमै नआइपुगेको भन्दै उपमेयर बेघाले धरानका डिएसपी नवराज मल्ललाई फोन गर्दै फेसबुक लाइभ गरेपछि यो घटनाले सनसनी मच्चाएको थियो।उपमेयर बेघाको घरमा आक्रमण गरी भाइलाई खुकुरी प्रहार गरेको भनिए पनि घटनाको अनुुसन्धान गर्दै जाँदा दुई टोलका युवाबीच झगडा भएको प्रहरीले जानकारी दिएको छ।त्यसक्रममा उपमेयर बेघाका भाइ घरमा लुकेर बसेकाले अर्को पक्षका युवाले ढुङ्गामुढा गरेको पाइएको छ।‘दुई समुहबीच पहिला झगडा भएको थियो।त्यसपछि उपमेयरको घरमा पनि ढुङ्गामुढा भएको हो’, जिल्ला प्रहरी प्रवक्ता भण्डारीले भने, ‘घटनाको वास्तविकता चाँडै खुल्छ ।’

उपमेयर बेघाले आफूले कार्यालयबाट घटनाबारे जानकारी गराएर घरमा पुग्दा पनि प्रहरी नआइपुगेकाले फेसबुकमा लाइभ गरेको प्रतिक्रिया दिए।उनले प्रहरी समयमै नपुग्दा घटना भएको पनि दाबी गरे।‘दुई टोलका युवाबीचमा समस्या छ, तर प्रहरीलाई समयमै खबर गर्दा पनि नआइपुगेकाले यो घटना भयो’, उनले भने ।

इलाका प्रहरी कार्यालय धरानका डिएसपी नवराज मल्ल भने प्रहरी समयमै पुगेको बताउँछन्।‘घटनाको जानकारी पाएलगत्तै तीनवटा युनिट परिचालन भएको छ, समयमै प्रहरी पुगेको पनि हो’, उनले भने, ‘त्यस क्षेत्रको प्रहरी ७ मिनेटमा पुगेको छ, अर्को टोली ११ मिनेटमा पुग्यो।१५ मिनेटभित्र प्रहरी निरीक्षकसहितको टोली पनि पुगिसकेको थियो ।’

खोरिया बस्तीका एक युवाका अनुसार मङ्गलवारको घटनाको मुख्य जड खोरिया बस्तीका विष्णु बेघा र सूर्य बस्तीका बिसन श्रेष्ठको पुरानो रिसइबी हो।यसअघि खोका भनिने बिसनले विष्णुमाथि आक्रमण गरेका थिए।सोही घटनाको बदला लिने सुरमा विष्णु थिए।‘मुख्य यी दुईबीच दुस्मनी थियो’, ती युवाले भने ।

दुवै पक्षबाट जाहेरी

उपमेयर बेघाको घरमा ढुङ्गामुढा भएको घटना सम्बन्धमा दुवै पक्षले प्रहरीमा किटानी जाहेरी दिएका छन्।गम्भीर घाइते भएका सूर्य बस्तीका सन्देश राईकी आमा बिमा राईले उपमेयर बेघाका भाइ विष्णु बेघासहित पाँचजनाविरुद्ध ज्यान मार्ने उद्योगमा किटानी जाहेरी दिएकी छन्।अर्कातर्फ विष्णु बेघाका दाजु बुद्धिमान बेघाले पनि सूर्य बस्तीका युवाविरुद्ध आपराधिक उपद्रवविरुद्ध जाहेरी दिएका छन्।उनले गम्भीर घाइते भई उपचाररत सन्देश राईसहित ११ जना युवाविरुद्ध किटानी जाहेरी दिएका छन्।सुनसरी प्रहरी प्रवक्ता एवं डिएसपी भण्डारीले दुवै पक्षबाट जाहेरी आएको तर अदालती प्रक्रियामा रहेकाले थप खुलाउन नसकिने बताए।‘दुवैतिरबाट जाहेरी आएको हो।हामी अदालती प्रक्रियामा छौं, भोलि मात्र विस्तृत जानकारी दिन सक्छौं’, उनले भने ।

यसैगरी बाँझगरा वन उपभोक्ता समुह धरान १५ ले पनि कार्यालय तोडफोड भएको घटनाबारेमा अनुसन्धान गरी दोषीलाई कारबाही गर्न माग गर्दै प्रहरीसमक्ष जाहेरी दिएको छ।युवाबीच झगडा भएपछि मङ्गलवार राति सूर्य बस्तीका युवा ताला फोडेर वन समुहको कार्यालयभित्र लुकेका थिए।ताला तोडफोड भएको घटनाको अनुसन्धान गरी दोषीमाथि कारबाही गर्न माग गर्दै प्रहरीसमक्ष जाहेरी दिएको वन समुहका अध्यक्ष राजन मोक्तानले बताए ।

प्रकाशित: २८ भाद्र २०८० ०३:२२ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App