१८ वैशाख २०८१ मंगलबार
image/svg+xml
समाज

चारलेन सडकको कल्भर्ट निर्माण अधुरै, सडक अस्तब्यस्त

नेपालगन्ज उपमहानगरपालिकाको सुर्खेतरोडमा भत्काएको कल्भर्ट। तस्बिर: अर्जुन ओली/नागरिक

नेपालगन्ज उपमहानगरपालिका क्षेत्रको ढल निकास हुने मुख्य नालामा कल्भर्ट निर्माणको काम अधुरै रहेको छ। कल्भर्ट निर्माणको काम पुरा नहुँदा सुर्खेत रोडस्थित रत्न राजमार्ग (चारलेन सडक) मा दैनिक रुपमा ट्राफिक समस्या उत्पन्न गरेको छ, भने सडक नै अस्तब्यस्त बन्ने गरेको छ। साघुँरो सडकमा सवारी साधन आवत–जावत गर्नुपर्दा दुर्घटनाको जोखिम बढिरहेको यहाँका नागरिक बताउँछन्।

स्थानीय नागरिक मिनबहादुर मल्लले ढिलोमा एक महिनाभित्र निर्माण सम्पन्न गर्ने आश्वासन सहित सडक डिभिजन कार्यालयले पुरानो कल्भर्टलाई भत्काएकोमा अहिले दुई महिना बितिसक्दा पनि नयाँ कल्भर्ट बनाउने कुनै सुरसार नगरेको बताए।

‘यो गैर जिम्मेवारीपनको पराकाष्ठा हो, कुनै पनि राष्ट्रिय राजमार्गमा यति लामो समयसम्म खाल्डो खनेर छाड्न पाईदैन, कामको उद्धेश्य हेरेर ठुलै पुल बन्ने भए अन्यत्र डाईभर्सन दिनुपर्छ,’ मल्लले नागरिकसँग भने ‘सुरक्षाको दृष्टिकोणले वरिपरीबाट घेरा लगाउनुपर्छ, यहाँ कुनैपनि सुरक्षाका उपाय अपनाइएको छैन, राष्ट्रिय राजमार्गको काम बीचमै अलपत्र अवस्थामा छाडिएको छ।’ सडक डिभिजन कार्यालयले कामै नगरेर समय बर्बाद गर्नु गैर जिम्मेवारीपनको पराकाष्ठ भएको उनको आरोप छ।

सडकले अलपत्र पारेको कल्भर्ट समयमा सम्पन्न गर्न समन्वयकारी भूमिका खल्नुपर्ने भन्दै नागरिक स्तरबाट करिव दुईमहिना अघि नेपालगन्ज उपमहानगरपालिका कार्यालयलाई दवाव दिइएको थियो। सामाजिक सञ्जालमार्फत पनि बिरोध जनाइएको थियो। मल्लले थपे, ‘त्यतिबेला हामीले मेयर साबलाई भेटेर ध्यानाकर्षण गराउँदा ढिलोमा एक महिनाभित्रमा सम्पन्न हुन्छ, भनेर भन्नु भएको हो, अहिले दुई महिनाभन्दा बढी भईसक्यो, कल्भर्ट निर्माणको काम सुरु नै भएको छैन।’

उक्त चारलेन सडकमा निर्मित साविकको साँघुरो कल्भर्टबाट पानीको निकास सहज रुपमा हुन नसकेको भन्दै नयाँ निर्माण गर्न डिभिजन कार्यालयले बर्खायाम सुरु हुदै गर्दा कल्भर्टको आधा भाग भत्काएको थियो। स्थानीय न्युरोड, बागेश्वरी मन्दिर हुँदै शिक्षा समन्वय इकाई कार्यालय भएर बग्ने नालामा निर्मित उक्त कल्भर्ट बर्खाको समयमा भत्काउँदा विगत दुई महिनादेखी सडक नै हिलाम्य भइरहेको छ।

सडक डिभिजन कार्यालयले उक्त कल्भर्ट निर्माण गर्न ठेकेदार कम्पनी श्री कार्की साक्षी जेभीलाई ३२ लाख ५ हजार ४ सय ५२ रुपैयाँ ४४ पैसा ठेक्का दिएको छ। सम्झौता अनुसार ठेकेदार कम्पनीले उक्त कल्भर्ट आगामी मंसिर १५ गतेभित्र सम्पन्न गरिसक्नुपर्नेछ।  

सडक डिभिजन कार्यालय बाँकेका निमित्त प्रमुख सुरेश चौधरीले निर्माणको काम दु्रत गतिमा अगाडी बढ्न नसकेको स्वीकार गरे। ‘निर्माण सम्पन्न गर्नुपर्ने समय नजिक आईसक्यो, नागरिक स्तरबाट पनि गुनासो आईरहेको छ,’ उनले भने ‘नालामा पानी बगिरहेको छ, टेका लगाएर ढलान गर्न मिल्दैन भनेर ठेकेदार कम्पनी भन्छ।’

नेपालगन्ज उपमहानगरपालिकाका नगर प्रमुख प्रशान्त विष्टले नागरिक स्तरबाट गुनासो आइरहेको हुँदा आफुले सडक डिभिजन कार्यालयको ध्यानाकर्षण गराइरहेको बताए। ‘सडक डिभिजन कार्यालयको कार्यक्षेत्र भएपनि जनप्रतिनिधि भएको नाताले नागरिक स्तरबाट म कहाँ गुनासो आउँछ, मैले पनि सडकलाई नै भन्ने हो, सडकलाई बेला बेलामा भनिरहन्छु,’ उनले भने।

प्रकाशित: २७ भाद्र २०८० ०७:४२ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App