१५ वैशाख २०८१ शनिबार
image/svg+xml
समाज

जुम्लाबाट २१ हजार बढी मेट्रिकटन स्याउ निर्यात

जुम्लाबाट २१ हजार मेट्रिकटन स्याउ निर्यात भएको छ। जुम्लाका ८ वटै स्थानीय तहमा उत्पादन भएको स्याउ हालसम्म २१ हजार १ सय १० मेट्रिकटन बाहिरी जिल्लामा गएको कृषि विकास कार्यालय जुम्लाका निमित्त कार्यालय प्रमुख गणेशबहादुर अधिकारीले बताए।  

उनका अनुसार पछिल्लो समय जुम्ली किसानको स्याउ खेतीप्रति बढ्दै गएको आकर्षणका कारण पनि उत्पादन वृद्धि भइरहेको छ। कार्यालय प्रमुख अधिकारीले भने, 'गत वर्षभन्दा यो वर्ष स्याउको उत्पादन ४० प्रतिशतले घटेको छ तर स्याउ खेती गर्ने किसानको सङ्ख्या भने बढेको छ। '

जिल्लामा कूल स्याउ उत्पादनको विवरण सङ्कलन भइरहेको छ। अबको केही सातापछि जिल्लाभरको स्याउ उत्पादनको पूरै विवरण सार्वजनिक गरिने कृषि विकास कार्यालय जुम्लाका सूचना अधिकारी शेरबहादुर भण्डारीले बताए। जिल्लामा अहिले जुम्ली, इटाली, गाला, गोल्डेन, फुजी र जोनाप्रिन्सलगायत स्थानीय जातका स्याउ खेती हुँदै आएको प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना कार्यान्वयन एकाइ जुम्लाका प्रमुख खेमराज शाहीले बताए।  

स्याउ लिनका लागि स्थानीय व्यापारी उद्यमी र समूहलाई ५० प्रतिशत अनुदानमा स्याउका कार्टुन कार्यालयले वितरण गरेको प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना कार्यान्वयन एकाइ जुम्लाले जनाएको छ ।किसानको बगैँचाबाट प्रतिकेजी ६० मा स्याउ खरिद गरेर करिब ८० क्विन्टल स्याउ दाङ लिएर बिक्री गरेको स्थानीय व्यापारी तुल तिरुवाले बताए । जिल्लाको सिंजा क्षेत्रमा स्याउ खरिद गर्ने व्यापारी किसानको बगैँचामा पुग्ने गरेका छन्। भदौको दोस्रो सातापछि मात्र स्याउ टिप्न किसानलाई परिपत्र गरेका थियौँ, सिंजा गाउँपालिका कृषि शाखाका प्राविधिक दलवीर वडले भने, 'अहिले जुम्लामा किसानलाई स्याउ टिप्न चटारो परेको छ । व्यापारीले स्याउको गुणस्तर हेरेर प्रतिकेजी ५० देखि ६५ रुपैयाँ सम्ममा किन्ने गरेका छन्।'

जिल्लाभर स्याउको मूल्यदर एकरूपता कायम नहुँदा किसानले उचित मूल्य पाउन नसकेको कृषि विज्ञहरू बताउँछन्। नेपाली नारीको पर्व हरितालिका तीज नजिएसँगै सुर्खेत, नेपालगञ्ज, दाङ, धनगढी र बुटवलसम्मका व्यापारीबाट स्याउको माग आउने गरेको  स्थानीय स्याउ व्यापारी रामबहादुर रावतले बताए। किसानले आफ्ना स्याउ बगैँचामा उचित गोडमेल तथा काटछाँट गरेको खण्डमा स्याउ उत्पादनमा वृद्धि हुने र स्याउमा लाग्ने विभिन्न रोगको समेत न्यूनीकरण तथा रोकथाममा सावधानी अपनाउन आवश्यक रहको कृषि विकास कार्यालय जुम्लाका कृषि प्राविधिक सुस्मा बुढा बताउँछिन्। कृषि विकास कार्यालय जुम्लाका अनुसार जिल्लामा करिब १६ हजार घरधुरी स्याउ खेतीमै निर्भर छन् । ४ हजार २ सय ५० हेक्टर जमिनमा स्याउ खेती हुने गरेको कार्यालयको तथ्याङ्कमा उल्लेख छ । जिल्लाका किसानदेखि उद्यमी तथा समूहलाई ५० प्रतिशत अनुदानमा स्याउका बिरुवा दिने गरेको कृषि विकास कार्यालय जुम्लाले जनाएको छ । गत साउन महिनाको पहिलो साताभित्र जुम्लाको काँचो स्याउ बजारमा बिक्री हुन थालेपछि यहाँका स्थानीय तहले बिक्रीका लागि सिफारिस अनिवार्य गरेका थिए । 

प्रकाशित: २७ भाद्र २०८० ०५:२९ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App