१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
समाज

बाली विज्ञानमा विद्यार्थीको आकर्षण

खोटाङ – खोटाङ सदरमुकाम दिक्तेलस्थित पञ्च माबिमा सुरु गरिएको बाली विज्ञान विषयमा विद्यार्थीको आकर्षण बढ्दै गएको छ। ५ वर्षअघि जिल्लामै पहिलोपल्ट बाली विज्ञान विषयको कक्षा सुरु गरेको पञ्च माबिमा हाल सो विषय अध्ययन गर्ने विद्यार्थीको चाप बढेको छ। सहजरुपमा जागीर पाउनका लागि ‘स्कोप’ भएको तथा सस्तो शुल्कमा आफ्नै जिल्लामा बाली विज्ञान विषय अध्ययन गर्ने वातावरण बनेपछि प्राविधिक शिक्षाप्रति युवा पुस्ताको आकर्षण बढेको हो । शिक्षा मन्त्रालय शिक्षा बिभागबाट आर्थिक वर्ष २०७३/०७४ मा बाली विज्ञान विषयतर्फ कक्षा १२ सम्मको अध्ययन अध्यपन गराउने सम्वन्धन पाएपछि पञ्च माबि प्राविधिक शिक्षा लिन चाहने छात्र/छात्राको आकर्षणको केन्द्र बनेको छ। जनशक्तीको मागका आधारमा पछिल्लो समय प्राविधिक शिक्षा अन्तरगत बाली विज्ञान विषयप्रति विद्यार्थीको आकर्षण बढ्दै गएको प्रधानाध्यपक भवकृष्ण ढकालले बताए।

२०२४ सालमा स्थापना भएको पञ्च माबिले आर्थिक वर्ष २०६९/०७० देखि माबि तहमा बाली बिज्ञान विषयको पठन–पाठन सुरु गरेको थियो। पञ्च माबि बाली विज्ञान विषयमा पठन–पाठन गर्ने पहिलो र एक मात्र विद्यालय हो । २०७३ असोज ६ गतेको मन्त्री स्तरिय निर्णय अनुसार बाली बिज्ञान बिषयमा उच्च माबि स्तरको कक्षा सञ्चालन गर्ने स्वीकृति पाएको पञ्च माबिमा हाल कक्षा ९ मा ४७ जना, कक्षा १० मा २८ जना, कक्षा ११ मा २७ जना र कक्षा १२ मा २४ छात्र÷छात्रा अध्ययनरत छन्। कक्षा ११ को सम्वन्धन लिएपछि पञ्च माबिमा बाली विज्ञानप्रतिको आकर्षण बढेर गएको प्रअ ढकाल बताउँछन् । ‘सुरुमा बाली विज्ञानप्रतिको आकर्षण कमै थियो,’ ढकालले भने, ‘तर कक्षा ११ को पढाइ सुरु गरेपछि भने यसप्रतिको आकर्षण बढेर गएको हो ।’ बाली विज्ञानमा बढि मात्रामा विद्यार्थीको चाप बढेपछि यसपल्ट छनौट गरेर ४७ जनालाई मात्र कक्षा ९ मा भर्ना गरिएको पञ्च माबिले जनाएको छ । बाली विज्ञानप्रतिको आकर्षणकै कारण थप व्यवस्थापनका लागि पञ्च माबिले गत फागुन तेश्रो साता श्रीमद भागवत धान्याञ्चल सप्ताह महायज्ञ आयोजना गरेको थियो।

सुरुमा सहयोगका नाममा मासिक प्रतिव्यक्ती ६ हजार शुल्क लिँदै आएको विद्यालयले शिक्षा मन्त्रालय शिक्षा बिभागबाट सम्वन्धन पाएपछि भने मासिक शुल्क घटाएर प्रतिव्यक्ती एक हजार बनाइएको व्यवस्थापन समितिका अध्यक्ष अशोक आचार्यले बताए। ‘अरु ठाउँ यही विषय पढ्न मासिक आठ–दश हजार खर्च गर्नुपर्छ,’ अध्यक्ष आचार्यले भने, ‘तर, यहाँ मासिक एक हजारमै प्राविधिक शिक्षा अध्ययन गर्ने व्यवस्था छ ।’ बाली विज्ञानसँग सम्वन्धित जनशक्तीको अभाव भएकाले पनि विद्यार्थीको आकर्षण वढेको आचार्यको भनाई छ।

प्रकाशित: २६ भाद्र २०७४ १०:१७ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App