सुर्खेत- ६ नम्बर प्रदेश प्रहरी कार्यालयका प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक (एआइजी) रणबहादुर चन्दले प्रदेशलाई अपराधमुक्त बनाउने बताएका छन् । ६ नम्बर प्रदेशमा ट्राफिक व्यवस्थापन, अपराधको अवस्था तथा लागू औषध दुव्र्यसनसम्बन्धी जानकारीमूलक अन्तरिक्रियामा एआइजी चन्दले यस क्षेत्रमा आपराधिक क्रियाकलापहरु बढेको भन्दै नागरिकहरुको हातेमालोबाट नै अपराधमुक्त समाज निर्माण गरिने बताए ।
एआइजी चन्दले प्रदेशमा सबैभन्दा डरलाग्दो रूपमा आत्महत्याका घटनाहरु हुने गरेको तथ्यांक सार्वजनिक गर्दै भने, ‘आत्महत्याको मुख्य कारण घरेलुहिंसा भएकाले अबका दिनमा यस्ताखाले घटनाहरुलाई न्यूनीकरण गर्नका लागि हरेक नागरिकले आ–आफनो ठाउँवाट जिम्मेवार भएर लाग्नुपर्छ ।’
एआइजी चन्दले हरेक अपराधको पछाडि लागूऔषध भएकाले यसको नियन्त्रणमा सबै पक्ष गम्भीर भएर सचेतनामूलक कार्यक्रम सञ्चालन गर्न आवश्यक रहेको औँल्याए । ‘अपराधका घटनाहरुलाई न्यूनीकरण गर्नका लागि प्रहरीलाई मैले निर्देशनसमेत दिइसकेको छु । अवका दिनमा अपराध कार्यमा संलग्न व्यक्तिलाई कानुनी दाएरामा ल्याउनुपर्छ,’ एआइजी चन्दले भने ।
कार्यक्रममा क्षेत्रीय प्रशासन कार्यालय सुर्खेतका क्षेत्रीय प्रशासक महेन्द्रप्रसाद गुरागाई, सहक्षेत्रीय प्रशासक डा. मानबहादु विक, जिल्ला समन्वय समिति सुर्खेतका अध्यक्ष छविलाल सिग्देल, प्रमुख जिल्ला अधिकारी सिताराम कार्की, स्थानीय तहका प्रमुख तथा प्रतिनिधी, नागरिक समाज, अधिकारकर्मीलगायतको उपस्थिति थियो ।
प्रकाशित: २६ भाद्र २०७४ ०९:४० सोमबार