२० असार २०८१ बिहीबार
image/svg+xml
समाज

हात्तीले घर भत्काउँदा विचल्ली

हात्तीको आक्रमणबाट क्षती पुगेको घर अगाडि छोराछोरीसहित इटहरी वडा नं. २ की लक्ष्मी राई। तस्बिर: नागरिक

जङ्गली हात्तीको समूहले इटहरी वडा नं. २ की लक्ष्मी राईको घर भत्काएपछि विचल्ली भएको छ। सामान्य बासको बेरा लगाएर टीनको छाना लगाएर बनाएको घर भत्काएपछि अहिले उनको परिवारको विजोग भएको हो।

‘हात्तीले घर भत्काएपछि अन्यत्र गएर बस्ने अवस्था नहुँदा पानी परोस् वा सीतले असर गरेपनि बस्नु परेको छ,’ लक्ष्मीले भनिन्। उनी हरेक दिन अर्काकोमा गएर ज्याला मजदुरी नगर्दा घरमा चुल्हो बल्दैन्। घरमा भएका तीन जना छोराछोरीलाई छाडेर उनी अर्काको मजदुरी गर्न जान्छिन्।

लक्ष्मीको घर भत्काएपछि अहिले वडा नं. २ का वडाध्यक्ष माधव कोइरालाले राजनीतिक दलहरुसँग समन्वय गरेर घर बनाउने अभियानमा जुटेका छन्। ‘लक्ष्मीको परिवारको विजोग छ, त्यही भएर सवै राजनीतिक दललाई आग्रह गरि रहेको छु,’ उनले भने, ‘उपलब्ध स्थानीय स्रोत साधन जुटाएर लक्ष्मीको घर एक–दुई दिनभित्रमै तयार हुनेछ।’

हात्तीको त्रासले गर्दा इटहरीको विशेषगरी वडा नं. २ का बासीन्दा रातभरी निदाउँदैनन्। ‘राति भएपछि प्रायः सबै जना जागै बस्ने गछौ,’ इटहरी वडा नं.२ की विष्णुकुमारी नेपालले भनिन्, ‘जङ्गलबाट वस्तीमा चाँहि हात्ती प्रवेश गरे भने मान्छेलाई सक्छ होला भनेर डर लागि रहन्छ।’

यसरी जङ्गली हात्ती मानव बस्तीमा प्रवेश गरि विध्वंस मच्चाएको एक महिना वित्ति सकेको छ। यो अवधिमा अहिलेसम्म मानवीय क्षती भने भएको छैन्। तर, स–साना घर–टहरा भत्काएर सर्वसाधारणलाई दुःख दिदै आएको छ।  

विशषेगरी, जङ्गल क्षेत्र आसपासका वस्तीमा तीनवटा कारणले हात्ती लोभिने गरेको पाइएको छ। पहिलो जङ्गल क्षेत्रको बास झयाङ्ग भएकाले बासको मुना (तामा) खान हात्ती आउँने गरेका छन्। दोस्रो कतिपय परिवारले घरेलु रक्सी बनाउने भएकाले गर्दा त्यसको बास्नाले गर्दा पनि बढी मात्रमा हात्ती बस्तीमा प्रवेश गर्न खोज्ने गरेका छन्। तेस्रो इटहरी वडा नं. २ क्षेत्रमा केरा खेती भएकाले गर्दा पनि हात्ती त्यसतर्फ लोभिने गरेका छन्।

भारतको पश्चिम वंगाल हुँदै झापाबाट चारकोसे जङगल हुँदै चारकोसे जंगलमा बसेर इटहरी वडा नं. २ मा हात्तीले आंतक मच्चाउने गरेको स्थानीय प्रेम मगरले बताए। इटहरीमा चारवटा छावासहित २८ वटासम्म हात्तीले आंतक मच्चाउने गरेको पाइएको छ।

एक महिनाअघिससम्म सुनसरीको बराहक्षेत्र क्षेत्रमा हात्तीले आंतक मच्चाउने गरेको थियो। तिनै हात्तीको समूह बराहक्षेत्रबाट अहिले इटहरी क्षेत्रमा सरेको मगरको दावी छ।  

नेपालमा कुल दुई सयदेखि ३३० वटासम्म जङ्गली हात्ती रहेका छन्। यीमध्ये चारकोसे जङ्गल क्षेत्र आसपास हिडडुल गर्ने हात्तीको सङ्ख्या सयदेखि १५० सम्म रहेको हात्ती विज्ञ अशोक रामले बताए।  

प्रकाशित: २५ भाद्र २०८० १३:४३ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App