प्राचीनकालदेखि नै मानव सभ्यतामा महत्वपूर्ण भूमिका खेल्नेहरूमा खेतखलिहान, पोखरी तथा इनार पर्छन्। यिनलाई नियमित सफा गर्नुपर्छ भनेर हाम्रा पुर्खाले चाडपर्वअन्तर्गत नै राखेका छन्। नेवारी संस्कृतिमा इनार, पोखरी सफा गर्ने उत्सव नै छ-सिथी नखः।
झार भन्नेबित्तिकै काम नलाग्ने वनस्पति बुझिन्छ। त्यसैले खेतीपाती गर्दा झार गोडिन्छ। गोडिएन भने बोटविरुवाको पोषण तत्व तिनले आफैं उपभोग गरी बाली उत्पादनमा ठूलो असर पु¥याउँछन्।
जलकुम्भी र अन्य प्रदूषण बढाउने झारको खतरा कति छ भन्ने हालैको अध्ययनले प्रस्ट्याएको छ। त्यस्ता झारले संसारभर नै ४२३ खर्ब डलरभन्दा बढी क्षति पार्ने गरेको एउटा अध्ययनले देखाएको छ।
सन् १९७० देखि हरेक दशक भाइरस झारबारे अध्ययन गरिरहेको इन्टरगभर्मेन्टल साइन्स पोलिसी प्लेटफर्म अन बायोडाइभर्सिटी एन्ड इकोसिस्टम सर्भिसेजले संसारभरिका १४३ सदस्य राष्ट्रहरूको अध्ययन गरी यी झारहरूले ठूलो आर्थिक क्षति गरिरहेको निष्कर्ष निकालेको हो।
‘यी भाइरस झारलाई हामीले साह्रै कम आँकिरहेका छौं,’ बेलायत च्याप्टरकी अध्यक्ष हेलेन रोय भन्छिन्, ‘यी झारले हरेक वर्ष अनौठो रूपमा आफ्ना भाइरस झारलाई उत्पादन गरिरहेका छन्। यस्ता झारको संख्या कति छ भन्ने पहिले निश्चित थिएन।’
अहिलेसम्मको गणनामा यस्ता विषाक्त झारको संख्या ३ हजार ५०० रहेको बताइएको छ। गणना बढ्दै जाँदा यसको संख्या पनि बढ्दै जाने देखिएको रोय बताउँछिन्।
यस्ता झार नयाँ नयाँ ठाउँमा विस्तार हुन थालेको र विस्तारित त्यस्ता झारले बोटविरुवा, जनावरलाई हानि पुर्याउनुका साथै स्थानीय अर्थतन्त्रलाई समेत संकटमा पुर्याइदिएको छ।
यस्ता झार रोक्नेबारे जम्मा १७ प्रतिशत मुलुकले मात्र कानुन बनाएका छन्। संसारभर यस्तो कानुन निर्माण गरी प्रणालीगत रूपमा नै विध्वंशक झारलाई उन्मूलन गर्नुपर्ने आवश्यकता देखिन थालेको छ। पहिला यस्तो झार निकै कम ठाउँमा, केही विशेष ठाउँमा मात्र हुने गरेकामा भूमण्डलीकरण बढेसँगै झारको साम्राज्य पनि बढ्न थालेको हो। यस किसिमले झारको आतंक बढ्नु चिन्तानजक रहेको वैज्ञानिकहरूको राय छ।
त्यसैले तिनलाई रोक्ने कानुन, विधि र आवश्यक प्रबन्ध मिलाउन ढिला भइरहेको संस्थाले औंल्याएको छ।
-साइन्स म्यागेजिन
प्रकाशित: २५ भाद्र २०८० ०२:४९ सोमबार