८ जेष्ठ २०८१ मंगलबार
image/svg+xml
समाज

रामबाबु-ज्ञानु पुरस्कार चार संस्थालाई दिइने

रामबाबु–ज्ञानु सामुदायिक सेवा पुरस्कार कोषबाट यस वर्ष सामाजिक क्षेत्रमा काम गरिरहेका चार संस्था पुरस्कृत हुने भएका छन्। कोषको शनिबार काठमाडौंमा सम्पन्न साधारणसभाले यस वर्ष सामाजिक सेवा पुरस्कारबाट विभिन्न सामाजिक क्षेत्रमा काम गरिरहेका चार संस्थालाई पुरस्कृत गर्ने निर्णय गरेको हो।

रामबाबु–ज्ञानु सामुदायिक सेवा पुरस्कार कोषका अध्यक्ष धु्रव नेपालले कोषको शनिबारको साधारणसभाले सामाजिक क्षेत्रमा सक्रिय चारवटा संस्थालाई पुरस्कृत गर्ने निर्णय भएको बताए। उनले पुरस्कृत तथा सम्मानित गरिने प्रतिभाको निष्पक्ष, स्वतन्त्र तथा उद्देश्यमूलक ढंगबाट छनोट गर्न पाँचजना संलग्न एक छनोट समिति गठन गरिएको बताए।

‘समितिले सूचना संकलन गरी स्थलगत भ्रमण गरी मापदण्डका आधारमा उत्कृष्ट प्रतिभाको सिफारिस गर्दछ’, उनले भने, ‘कोषले प्रत्येक वर्ष चार लाख राशि हुने गरी रामबाबु–ज्ञानु सामाजिक सेवा पुरस्कार एक संस्थालाई तथा रामबाबु–ज्ञानु समाजसेवी पुरस्कार दुई संस्था वा व्यक्तिलाई प्रदान गर्दै आएकोमा कोष एक दशक पुगेको अवसरमा अतिरिक्त एक रामबाबु–ज्ञानु समाज सेवी पुरस्कार प्रदान गर्ने निर्णय गरेको छ ।’

कोषका अध्यक्ष नेपालका अनुसार रामबाबु–ज्ञानु सामाजिक सेवा पुरस्कारबाट प्रशान्ति वृद्धाश्रम केन्द्र, वीरेन्द्रनगर नगरपालिका ३ सुर्खेतलाई दिइने भएको छ। यो पुरस्कारको राशि दुई लाख नगद र सम्मानपत्र रहेको छ। कोषका अनुसार सो संस्थाले वृद्धवृद्धालाई आश्रय एवं भोजन प्रदान गर्नुका साथै स्वास्थ्योपचार दिँदै आएको छ ।

कोषले रामबाबु–ज्ञानु समाजसेवी पुरस्कारबाट नवजीवन परोपकार समाज, तारकेश्वर नगरपालिका ७ काठमाडौंमा अवस्थित संस्थालाई दिने निर्णय गरेको हो। यो संस्थाले समाजका असहाय वर्गको उद्धार गरी संरक्षणका लागि आश्रय प्रदान गर्दै आएको छ। यो पुरस्कारको राशि एक लाख नगद र सम्मानपत्र रहेको छ ।

रामबाबु–ज्ञानु समाजसेवी पुरस्कारबाट दृष्टि फाउन्डेसन, नेपाल धनगढी उपमहानगरपालिका १ कैलालीलाई दिने निर्णय भएको छ। यो संस्थाले असहायहरूको उद्धार र संरक्षण गरी आश्रय, भोजन र स्वास्थ्योपचार सुविधा प्रदान गराउनुका साथै परिवारसँग पुनस्र्थापना गराउँदै आएको भन्दै सम्मान गर्न लागिएको हो। पुरस्कारको राशि एक लाख नगद र सम्मानपत्र रहेको छ ।

त्यसैगरी रामबाबु–ज्ञानु समाज सेवी पुरस्कार मातृ नेपाल अपांग संघद्वारा सञ्चालित बालगृह, ठुलागाउँ, तारकेश्वर नगरपालिका ३ लाई दिने निर्णय भएको छ। यो संस्थाले बालबालिकालाई आश्रय प्रदान गर्नुका साथै शिक्षादीक्षा प्रबन्ध गरी सक्षम र सबल नागरिक बनाउन योगदान गर्नुका साथै संस्थागत दिगोपनातर्फ पनि उपयुक्त कदम चालेको भन्दै एक लाख नगद र सम्मानपत्रसहित सम्मान गर्न लागिएको हो।

रामबाबु–ज्ञानु सामुदायिक सेवा पुरस्कार कोष स्वयंसेवाको भावनाले नेपालीका हितमा उदाहरणीय योगदान गरेका व्यक्ति वा सामाजिक संस्थालाई पुरस्कृत एवं सम्मानित गर्ने तथा सामाजिक सेवा विकासमा सहयोग पु¥याउने उद्देश्यले एक अक्षयकोष खडा गरी रामबाबु र ज्ञानु नेपाल दम्पतीले आफ्ना मातापिता शोभाकान्त नेपाल र सुशीला नेपालको पुण्य स्मरणमा २०७० सालमा स्थापना गरेका हुन्। कोषले २०७१ सालदेखि दुई लाख पुरस्कार र सम्मान–पत्र प्रदान गर्दै आएकोमा २०७४ देखि चार लाख पुरस्कार र सम्मान–पत्र प्रदान गर्दै आएको छ।  

प्रकाशित: २४ भाद्र २०८० ०४:४७ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App