३ असार २०८१ सोमबार
image/svg+xml
समाज

सर्वोत्कृष्ट कर्मचारी पुरस्कार घोषणा भएन

काठमाडौं- निजामती सेवा दिवसका अवसरमा उत्कृष्ट कर्मचारीलाई बर्सेनि दिइँदै आएको २ लाख राशीको पुरस्कारको घोषणा यो वर्ष गरिएन । वर्षैपिच्छे उत्कृष्ट कार्यसम्पादनका आधारमा एकजनालाई ‘सर्वोत्कृष्ट कर्मचारी’ पुरस्कार प्रदान गर्ने गरिन्थ्यो ।

मुख्यसचिवको अध्यक्षतामा गठन हुने निजामती पुरस्कार छनोट समितिले सबैभन्दा राम्रो काम गर्ने कर्मचारीलाई सर्वोत्कृष्ट घोषणा गर्छ । सामान्य प्रशासन मन्त्रालयले सर्वोत्कृष्ट कर्मचारीका लागि ३ जनाको नाम समितिमा सिफारिस गरेको थियो । मापदण्डअनुसार सबैभन्दा राम्रो काम गर्ने कर्मचारी नभेटिएकाले सर्वोत्कृष्टमा नपरेको हुनसक्ने प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका एक सहसचिवले बताए ।

‘उत्कृष्ट निजामती सेवा पुरस्कार’ भने १० जनालाई दिइयो । उत्कृष्ट पुरस्कार पाउनेमा सबै पुरुष छन् । सहसचिवहरू दीपक सुवेदी (निर्वाचन आयोग), डिल्लीराज घिमिरे (कानुन मन्त्रालय), केवलप्रसाद भण्डारी (अर्थ मन्त्रालय), निर्देशक इन्द्रप्रासद आचार्य (महालेखा परीक्षकको कार्यालय), उपसचिवहरू प्रेमलाल लामिछाने (प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय), जीवनराज सेढाँई (सामान्य प्रशासन मन्त्रालय), जगन्नाथ बराल (लोक सेवा आयोग), लक्ष्मीदत्त कलौनी (अख्तियार दुरुपयोग अनुसन्धान आयोग), प्रल्हादकुमार योगी (सर्वोच्च अदालत) र अनील खनाल (सोलुखुम्बु, सहायक प्रजिअ) ले यो पुरस्कार पाएका छन् ।

त्यसैगरी ३० जनालाई ‘निजामती सेवा पुरस्कार’ दिइएको छ । यो पुरस्कार पाउनेमा कार्यालय सहयोगीदेखि सहसचिवसम्म छन् । निजामती सेवा पुरस्कार’ प्राप्त गर्नेमा ५ जना महिला पनि छन् । भदौ १९ मा बसेको मन्त्रिपरिषद् बैठकले छनोट समितिले पठाएको नाम स्वीकृत गरेको थियो । सरकारले ‘उत्कृष्ट’ १० कर्मचारीलाई जनही एक लाख रुपैयाँ, ‘निजामती सेवा पुरस्कार’ पाउनेलाई जनही ५० हजार रुपैयाँ दिने गरेको छ ।

मुख्य सचिव राजेन्द्रकिशोर क्षेत्रीले सिफारिस गर्ने समयमा लोकसेवा आयोगका अध्यक्ष बाहिर भएकाले सर्वोत्कृष्ट कर्मचारी छनोट गर्न नसकिएको बताए । ‘सर्वोत्कृष्ट पु्रस्कारका लागि केही कर्मचारीको नाम पठाइएको थियो । समय पनि कम थियो । अध्यक्षज्यू बाहिर जानुभएकाले हामीले नाम हेर्न पाएनौं,’ उनले भने, ‘सर्वोत्कृष्ट छनोटमा लोक सेवा आयोगका अध्यक्ष उपस्थित हुनैपर्ने प्रावधान छ ।’

पुरस्कृतको नाम बुधबारभित्र मन्त्रिपरिषद्बाट स्वीकृत गराउनुपर्ने बाध्यता भएकाले पनि समय अभावका कारण सामान्य प्रशासन मन्त्रालयबाट सिफारिस भएका सर्वोत्कृष्टको नामावली नखोलिएको उनले दाबी गरे । ‘हामीले नामावली हेर्दै हेरेनौं । नाम नहेरेपछि यसपटक उत्कृष्ट थिए थिएनन् भन्ने सवालै भएन,’ मुख्यसचिव क्षेत्रीले भने ।

सामान्य प्रशासन मन्त्रालयले विभिन्न मन्त्रालय, विभाग, स्थानीय तहमा रहेका निजामती कर्मचारीबाट परिपत्र गरी नाम मागेको थियो । निजामती सेवा नियमावली मापदण्डअनुसार माथिल्लो तहदेखि कार्यालय सहायकसम्म गरी १ सय ६३ जनाको नाम मन्त्रालयमा आएको प्रवक्ता शिवराम न्यौपानेले बताए । ‘कार्यसम्पादन राम्रो गरेको आधारमा, सम्बन्धित मन्त्रालयले पठाएको नामावली छनोट सिफारिस समितिमा पठाइएको थियो’, उनले भने ।

मुख्यसचिवको अध्यक्षतामा पाँच सदस्यीय छनोट समिति हुने गरेको छ । कानुन सचिव, प्रधानमन्त्री कार्यालयका एक बहालवाला सचिव, एक पूर्वसचिव, सामान्य प्रशासन मन्त्रालयका सचिव सदस्यसचिव रहने व्यवस्था छ । गत वर्ष अर्थ मन्त्रालयका सचिव शान्तराज सुवेदीले सर्वोत्कृष्ट कर्मचारी पुरस्कार पाए ।

बाढीपीडितलाई निजामतिको सहयोग

तामझामका साथ निजामती सेवा दिवस मनाउने गरिए पनि यसपटक बाढीपीडितलाई सघाउन कार्यक्रम नगरिएको प्रधानमन्त्री कार्यालयका प्रवक्ता हरिप्रसाद पन्थीले बताए । ‘यसपटक बाढी प्रकोप परेकाले तामझाम गरेर मनाउनुभन्दा सहयोग गर्ने निर्णय भएको थियो’, उनले भने, ‘कर्मचारीको श्रेणी हेरी १ देखि ४ दिनसम्मको तलब बाढीपीडितलाई सहयोग गर्छौं ।’

प्रकाशित: २३ भाद्र २०७४ ०३:२३ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App