जुम्लाको पातारासी गाउँपालिका-५ माथिल्लो लोर्पा गाउँकी पुन्नकली बुढाले दुई दशकदेखि १० रोपनी जग्गामा आलुखेती गरिरहेकी छिन्। उनले झण्डै ३५ क्विन्टल आलु उत्पादन गरिन्। जसमध्ये १२ क्विन्टल आलु बेचिन्। उनले प्रतिकेजी २५ रुपैयाँका दरले आलु बिक्री गरेको सुनाइन्।
त्यो पनि जुम्लाको सदरमुकाममा खलंगामा पुगेर करिब ५ घण्टाको कच्ची बाटोमा पिठ्युँमा बोरा बोकेर बिक्री गरेकि थिइन्। 'तीन घण्टा आउन जान २ घण्टा अनिवार्य लाग्छ, अझै २३ क्विन्टल आलु घरमै थन्किएको छ', उनले गुनासो पोखिन्। उनले त्यो बाँकी आलु बजार पुर्याउन सकिनन्। 'बचेको आलु, नातागोतालाई नासो दिए, आधा गाईवस्तुलाई खुवाउने, घरमा तरकारी खाने र काली मार्सी धान संग साट्ने गरेर बल्ल बल्ल सिध्याए' उनले भनिन्।
यो वर्ष पुन्नकलीको २५ क्विन्टल आलु उत्पादन छ। अहिलेसम्म बिक्री भएको छैन्। सदरमुकाम ल्याउन ५ घण्टाको बाटो हिड्नु पर्छ, राम्रो भाउ हुदैन, दुःख मात्रै हुने उनको गुनासो थियो। यदि कच्चीबाटोमा गाडीमा आलु बिक्री गर्न ल्याउन सदरमुकाम सम्म २/२ सय रुपैयाँ लाग्छ, उनकी छिमेकी हरिदेवी बोहोराले ४५ क्विन्टल बेचेको बताउँछिन्। अझै बोहोराले उत्पादन गरेको ८ क्विन्टल आलु बजार पुर्याउन सकिनन्। ती दुई महिला प्रतिनिधि पात्र मात्रै हुन्। त्यो गाउँका अधिकांश किसानले उत्पादन गरेको आलु घरमै थन्किन्छ। आफूले उत्पादन गरेको करिब २५ क्विन्टल आलु घरमै कुहिएको सोही गाउँका भक्तिराम बुढा बताउँछन्।
पातारासी गाउँपालिका- ५ माथिल्लो लोर्पा गाउँका झन्डै २ सय १० घरधुरीले व्यावसायिक आलु उत्पादन गरिरहेका छन्। उक्त गाउँमा आलु खेती नगर्ने घरै नभएको उनको भनाइ छ। गत वर्षहरुमा ३५ देखि ४५ हजार रुपैयाँको आलु बेचेका उनले यो वर्ष एक रुपैयाँको आलु पनि बिक्री गर्न पाएका छैनन्। उनले भने, 'बिक्री गर्ने बजार छैन। आलु बिक्री नभए कसरी परिवार पाल्ने ? उत्पादन गरेको आलु कुहिएर खेर जान थालेको छ।'
यस्तै आलु खेतीबाटै ४ जनाको परिवार सजिलै पाल्दै आएकी पातारासी गाउँपालिका-७ रिनी गाउँकी चुटुकला खड्का (बोहोरा) ले ४० क्विन्टल आलु उत्पादन गरेकी छिन्। उनले फाट्टफुट्ट बिक्री गरिरहेको बताइन्। 'स्थानीय व्यापारीले गाउँघरमा आएर फाट्टफुट्ट मात्र आलु किनिरहेका छन्। ठूला व्यापारी नआउँदा ठूलो परिमाणको आलु घरमै थन्कियो।' उनले भनिन्
उनका अनुसार रिनी गाउँमा करिब १ सय ९५ घरधुरी छन्। सबैले ६० क्विन्टल देखि १ सय क्विन्टल आलु उत्पादन गर्छन्। खरिदकर्ताले २५ रुपैयाँभन्दा बढी मूल्य दिन नचाहेको उनी बताउँछिन्। उनको घरमा पनि करिब २३ क्विन्टल आलु थन्किएको छ । 'आलु बिक्री नहुँदा घरखर्च चलाउन मुस्किल भयो', उनले भनिन्, 'आलुबाट कमाई भएको रुपैयाँ लत्ताकपडा,बालबच्चा पढ्ने, चामल खाने, नुनतेल मिठोमसिनो खाने गर्छौ। यो वर्ष त आलु नै बिक्रि भएन।'
आर्थिक वर्ष २०७७र०७८ देखि पातारासी गाउँपालिकाले पनि रिनी गाउँलाई आलु पकेट क्षेत्रका रुपमा अघि बढाएको पातारासी कृषि शाखा प्रमुख रुपक बुढाले बताए। रिनी-७ नम्बर वडामा पर्छ। जुम्लाका ८ वटामा स्थानीय तह मध्ये त्यो गाउँपालिका आलु उत्पादनमा अगाडि छ। बुढाले भने, बागवानी अनुसन्धान केन्द्र राजीकोटले अनुसन्धान गरेर निकालेको डेजिरे जातको आलु किसानले उत्पादन गर्छन्। पहिलो वर्ष बजेट छुट्टयाइएर किसानको आलु कृषि समुहमा बेच्ने गरियो, तर अहिले बजेट नभएको भन्दै पकेट क्षेत्र घोषणामा मात्रै सिमित छ। जुम्लामा २ हजार ६ सय ५० हेक्टरमा आलु खेती भइरहेको छ। खरिदकर्ता नआउँदा-५ र ७ वडामा मा उत्पादन भएको झन्डै एक करोड रुपैयाँको आलु कुहिएको-७ का वडाध्यक्ष विरबहादुर बुढाले बताए । 'एउटा घरमा कम्तीमा एक क्विन्टलका दरले आलु कुहिएको छ'। उनले भने, 'आलु कुहिन थालेपछि किसानले पशुलाई कुँडो दिन थालेका छन्। उनका अनुसार गाउँमा झन्डै ४ देखि ५ करोड रुपैयाँको आलु उत्पादन हुन्छ ।
प्रकाशित: २० भाद्र २०८० ०३:३७ बुधबार