११ असार २०८१ मंगलबार
image/svg+xml
समाज

दुई सुत्केरीको हेलिकप्टरबाट उद्दार

गोरखा- उत्तरी गोरखाको धार्चे गाउँपालिका ६ काशिगाउँबाट मंगलवार दुई जना सुत्केरीको हेलिकप्टरबाट उद्धार गरिएको छ। २२ वर्षिय चेतमाया गुरुङ र ३५ वर्षिया माईली गुरुङलाई सुत्केरी ब्याथाले च्यापेपछि स्थानीय स्वास्थ्य संस्थामा उपचार हुने अवस्था नभएकाले हेलिकप्टरबाट काठमाडौं लगिएको हो । प्रसुती गृह थापाथलीमा उपचारपछि माईलीको छोरी जन्मिएको र दुबैको अवस्था समान्य रहेको छ ।  चेतमायाको शल्यक्रिया भईरहेको र अवस्था समान्य रहेको चिकित्सकलाई उदृत गर्दै जिल्ला जनस्वास्थ्य कार्यालयले जनाएको छ।

‘समान्य अवस्थामा बच्चा जन्माउन नसकेपछि हेलिकप्टर मगाइएको हो’ जिल्ला जनस्वास्थ्य कार्यालयका हेल्थ असिस्टेन्ट नानीबाबु दानीले भने। काशिगाउँ स्वास्थ्य चौकीमा सुत्केरी गराउन पुगेपछि त्यहाँ रहेका स्वास्थ्यकर्मीले जटिल अवस्था देखेर स्वास्थ्य कार्यालयका खबर गरेका थिए। क्षेत्रीय स्वास्थ्य कार्यालयमा समन्वय गरेर हेलिकप्टर मगाएपछि दुबै सुत्केरीको एकै पटक सिम्रिक ऐयरको हेलिकप्टरले उद्धार गरेको थियो। एउटा बिरामी स्वास्थ्य चौकीमा सुत्केरी हुन नसकेर छटपटाईरहेका बेला २२ वर्षिय चेतमाया गुरुङ रक्तश्राब हुँदै गरेको अवस्थामा स्वास्थ्य चौकी आएपछि दुबैलाई हेलिकप्टरले उद्धार गरेको हो।

‘बच्चा पाउने घर पुरै खुल्दा समेत बच्चा जन्मिन सकेन’ स्थानीय स्वास्थ्यकर्मीलाई उदृत गर्दै जनस्वास्थ्य कार्यालयका हेल्थ असिस्टेन्ट दानीले भने ‘स्वास्थ्य चौकीमा सुत्केरी गराउने उपकरण र दक्ष चिकित्सक नहुँदा हेलिकप्टरमा पठाउनुपर्‍यो ।’ उत्तरी गोरखामा सडक सञ्जाल नहुनु, दुर्गम भेगमा सुत्केरी गराउने बर्थिङ सेन्टर, आधुनिक औजार र चिकित्सक अभाव जस्ता कारणले त्यहाँका महिला सुत्केरी गराउन महँगो पैसा खर्चेर काठमाडौं जाने गर्छन। स्वास्थ्य कार्यालय सँग समन्वय भएको बेला यो वर्षदेखि भने कार्यालयले हेलिकप्टर भाडा उपलब्ध गराउने गरेको छ। हेलिकप्टर चार्टर गर्न नसक्नु, महँगो भाडा, स्वास्थ्य कार्यालयको सहयोगबारे थाहा नपाएका बिरामीले भने घरैमा जोखिम मोलेर सुत्केरी गराउने गर्छन। कतिपय महँगो भाडा तिरेर ऋण काडेर सुत्केरी गराउन ठूला अस्पताल जाने गर्छन। उत्तरी गोरखाको दश दुर्गम गाविसमा यो समस्या निकै जटिल छ ।

असार १७ यता सुत्केरी गराउन हेलिकप्टरबाट उद्धार गरिएको घटना यो पाँचौँ हो। उत्तरी गोरखा जान सात सय मिटर देखि झण्डै चार हजार पाँच सय मिटर उचाईमा हेलिकप्टर उड्नुपर्छ । एक लाख २० हजार देखि दुई लाख रुपैयाँ सम्म प्रति उडान खर्च लाग्छ।

 

प्रकाशित: १३ भाद्र २०७४ १४:०० मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App