१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
समाज

आरोप असुली, अभियोग सार्वजनिक अपराध

चक्रे भनिने मिलन गुरुङ र एसएसपी धानुक

काठमाडौं- महानगरीय प्रहरी परिसर काठमाडौंको प्रमुखको जिम्मेवारी सम्हाले लगत्तै एसएसपी रविन्द्र धानुकको निर्देशनमा शुक्रबार बेलुका काठमाडौं कहलिएका गुण्डा चक्रे मिलन पक्राउ परे।

स्थानीय तहको निर्वाचनको सुरक्षामा खलल पुर्‍याउन सक्ने आरोपमा तीन महिनाअगाडि मात्रै पक्राउ परेर सार्वजनिक अपराधको अभियोगमा धरौटी तिरेर मुक्त भएका उनी शुक्रबार पक्राउ पर्दा प्रहरीले फोनमार्फत धम्क्याएर रकम मागेको आरोप लगाएको थियो।

आइतबार उनलाई न्यायिक हिरासतमा राखेर अनुसन्धानअघि बढाउन म्याद माग्दा प्रहरीले सार्वजनिक अपराधको अभियोगमा जिल्ला प्रशासन कार्यालयमा बुझाएर सात दिनको म्याद लियो।

काठमाडौं परिसरका प्रमुख धानुकको दाबी अनुसार 'फोन गरेर धम्क्याउँदै रकम मागेको' गुनासो आएपछि उनलाई अनुसन्धानका लागि पक्राउ गरिएको हो।

कसलाई धम्क्याएर कति पैसा मागेको हो भने उनले खुलाएनन्। उनको गतिविधीबारे अनुसन्धान जारी रहेको र हिरासतमा राख्न प्रारम्भमा सार्वजनिक अपराधको अभियोग लगाइएको उनको दाबी छ।

'उनको पृष्ठभूमी कस्तो हो सबैलाई थाहै छ। अहिले पैसा मागेको उजुरी आएपछि पक्राउ गरेका हौं,' एसएसपी धानुकले भने, 'उनको गतिविधीबारे अनुसन्धान जारी छ।'

धानुकले अनुसन्धान जारी छ भने पनि उनीमाथी प्रहरीले लगाउने अभियोग सार्वजनिक अपराध नै हो। प्रहरीले गुन्डागर्दी नियन्त्रणमा कठोर नीतिलिँदै इन्काउन्टरको क्रम सुरु गरेपछि संगठित गुण्डागर्दीमा संलग्न अधिकांश निस्कृय रहे पनि भित्री रूपमा आफ्नो समूह परिचालनको क्रम छाडेका छैनन्।

चक्रेसँगै दीपक मनाङे, गणेश लामा, साजन महर्जन, राजु गोर्खाली लगायतकाहरू  धम्क्याएर रकम असुल्नभन्दा व्यवसायको आवरणमा बढी सक्रिय छन्।

उनीहरूको संगठित जालो तोड्न निरन्तर निगरानी, अनुगमन गरेर प्रमाण संकलनमा भन्दा 'काम पनि देखिने झन्झट पनि नहुने' भन्दै प्रहरी अधिकारीहरू 'रकम असुली' भन्दै पक्राउ गरेर सार्वजनिक अपराधको अभियोग लगाउनमै केन्द्रित छन्।

चर्चाका लागि अप्रेशन

२०६८ सम्म उपत्यकामा जुन प्रहरी प्रमुख आउँथे उनीहरूको पहिलो काम हुन्थ्यो ठमेल र दरवारमार्ग क्षेत्रको रेष्टुरेन्ट, डान्सबार र मसाजमा छापा मारेर पहिलो कामको सुरुवात गर्थे।

गैरकानुनी काम नभए पनि गलत काम हुने गरेको आशंकामा पक्राउ गरेर नेपाल प्रहरी क्लबमा लाइन लगाउँदा 'आर्थिक असुली' र चर्चाका लागि छापा मारेको भन्दै आलोचना बढेपछि प्रहरीले छापा मार्ने क्रम घटायो। अहिले यदाकदा मात्रै मसाज र डान्सबारमा छापा मार्ने गरिएको छ।

मसाज र रेष्टुरेन्टमा बिनाकारण छापामार्ने क्रम घटेपछि क्यासिनोमा छापामार्ने क्रम सुरु भएको थियो। रोयल्टी नतिरी अधिकांश क्यासिनो बन्द भए। समय क्रममा क्यासिनोहरूका व्यवस्थापक पनि परिर्वतन भए। अहिले क्यासिनोमा छापामार्ने क्रम ठप्प छ।

पछिल्लो समय रकम असुलीभन्दै पृष्ठभूमिका आधारमा पुराना गुण्डा पक्राउ गरेर कार्यकालको सुरुवात गर्ने क्रम शुरु भएको छ। यस अगाडिका काडमाडौंका प्रमुख छवीलाल जोशीले पनि स्थानीय तहको निर्वाचनको सुरक्षामा खतरा रहेको भन्दै चक्रेसँगै दिपक मनाङे, राजु गोर्खाली, साजन महर्जन लगायतका २० जनाभन्दा बढीलाई पक्राउ गरेका थिए।

चुनावी सुरक्षामा प्रभाव पार्ने भन्दै पक्राउ परेका सबैमाथि अभियोग सार्वजनिक अपराधको लाग्यो र केही दिन हिरासतमा बसेर सबै सहजै धरौटीमा छुटेका थिए।

धानुकअघिका काठमाडौं परिसरका प्रमुख विक्रम थापाले मनाङेलाई सहयोगीसहित पक्राउ गरेर संगठित अपराधको अभियोग लगाएका थिए। काठमाडौं जिल्ला अदालतले प्रारम्भमा पूर्पक्षका लागि थुनामा पठाए पनि पछि सफाई दिएको थियो।

प्रहरीस्रोतका अनुसार चक्रेबारे कुनै लिखित गुनासो आएको छैन। आपराधिक पृष्ठभूमि र कहलिएका गुण्डा भएकाले पक्राउ पर्दा आशंका नहुने र कमाण्ड सम्हाले लगत्तै काम सुरु गरेको सन्देश दिन चक्रेलाई पक्राउ गरिएको हो।

प्रकाशित: १२ भाद्र २०७४ ०३:२९ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App