११ मंसिर २०८१ मंगलबार
image/svg+xml
समाज

हात्ती पीडितको बिचल्ली

गेरुवा गाउँपालिका पाताभारमा हात्तीले भत्काएको नरबहादुर बुढाको घर । तस्बिर : निर्मल घिमिरे

बर्दिया – गेरुवा गाउँपालिका हात्तीखल्लाकी ३२ वर्षीय विमला परियारलाई पुस १३ गते परसेनी बजारमा हात्तीले कुल्चेर मार्‍यो । गाउँम त्यसको त्रास अझै कायम छ ।  परसेनी बजारमा सिलाइकटाइ व्यवसाय सञ्चालन गर्दै आएकी उनको मृत्युपछि छोराछोरीको बिचल्ली भएको छ।

२०७३ भदौ अन्तिम साता साबिकको सूर्यपटुवा गाविसमा एकै दिन दुई जनालाई हात्तीले आक्रमण ग¥यो । विद्यालयबाट साइकलमा घर फर्कने क्रममा दिउँसो दुई बजे कक्षा ७ मा अध्यनरत १५ वर्षीय युवराज थारूको हात्तीको आक्रमणबाट मृत्यु भएको थियो।

यसैगरी, ७२ वर्षीय पुरई थारू पनि हात्ती आक्रमणमा परे । धानबाली हेर्न गएका बेला उनलाई हात्तीले आक्रमण गरेको थियो । उनको पनि घटनास्थलमै मृत्यु भयो।

२०६० असार २४ गते बिहान मनिकापुरका हस्ते कामी हात्तीको आक्रमणवाट अशक्त भएका छन् । उपचारका क्रममा लिएको ऋण अहिलेसम्म तिर्न सकेका छैनन् । हात्ती आक्रमणले गासबास गुमेको र आफ्नो हातखुट्टा भाँचिदिएपछि काम गर्न नसकेको गुनासो उनी गर्छन् । खुट्टामा जडित रडको सहारामा उनी हिँडडुल गर्छन्। 

हात्ती आक्रमणमा परेर पत्नी गुमाएका गोपाल थापालाई १२ वर्षअघिको पीडादायी घटनाले अझै झस्काउँछ । उनले त्यो घटना सम्झिनसमेत चाहँदैनन्। 

थापाजस्ता सयौं हात्तीपीडित अहिले पनि अकालमै मारिएका आफन्तको वियोगमा दिन गुजारिरहेका छन् । पत्नी  वियोगपछि  थापा परिवार घरै छाडेर अन्यत्रै बसाइँ सर्न बाध्य भएको छ।

विगत १७ वर्षको अवधिमा हात्ती आक्रमणबाट ३६ जनाको ज्यान गएको छ । गत वर्ष मात्र जंगली हात्तीको आक्रमणमा परी मध्यवर्तीका ६ जनाको ज्यान गएको थियो ।  

गेरुवा गाउँपालिका १ का नरबहादुर बुढा घरविहीन भएका छन् । बर्दिया राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्रमा पर्ने पाताभार उपभोक्ता समितिका उपभोक्ता रहेका बुढाको घर जंगली हात्तीले भत्काइदिएपछि उनी घरविहीन भएका हुन् । गत वर्ष भदौमा जंगली हात्तीले घर भत्काइएका बुढाजस्ता पीडितको संख्या २० नाघेको छ ।

संरक्षणकर्मी तथा मध्यवर्ती व्यवस्थापन समितिका अध्यक्ष ओमप्रकाश जैसी २०६६ साल असोज २६ गते राति हात्तीको आक्रमण परे । हात्ती आएको सुनेर बाहिर निस्केका उनलाई हात्तीले फालेको थियो । उनले पनि घटनास्थलमा प्राण त्यागे । ‘त्यसअघि हात्ती आउँथ्यो, जान्थ्यो,’ उनका छोरा हेमन्त आचार्यले भने, ‘त्यसपछि हात्ती आतंक सुरु भएको हो ।’ 
निकुञ्जका  प्रमुख संरक्षण अधिकृत रमेश थापाले हात्तीमाा मानिसमा जस्तै बुझ्ने क्षमता र संवेदशीलता हुने भएकाले उसलाई चलाए वा नजिस्काएसम्म कसैसँग जाइ नलाग्ने बताए । ‘जति बढी बिच्क्यायो, उति बढी आक्रामक बन्ने हात्तीको बानी हुन्छ,’ उनले भने, ’होहल्ला हुँदा हात्ती झन् आक्रामक बन्छ ।’ 

निकुञ्जबाट प्राप्त तथ्याकंमा १७ वर्ष अवधिमा हात्ती आक्रमणबाट ३६ जनाको ज्यान गएको छ । गत वर्ष मात्र जंगली हात्तीको आक्रमणमा परी मध्यवर्तीका छ जनाको ज्यान गएको थियो । पाँच सय घर, ६० बिघा जमिनको खेती र दुई सय ५० जनाको भण्डारण गरिएको अन्न जंगली हात्तीले नोक्सान गरेकोे तथ्यांक छ ।

 २०६८ सालअघि हात्तीबाट मारिएका र भौतिक क्षति व्यहोरेका परिवारले सरकारबाट अहिलेसम्म केही राहत पाएका छैनन् । ‘दिन्छौं मात्रै भन्छन्, तर अहिलेसम्म पाएको छैन,’ पीडित भन्छन् । रातभर जंगलमा बस्ने र साँझ पर्नासाथ गाउँ छिरेर आतंक मच्चाउने गरेको हात्ती नियन्त्रणका लागि निकुञ्जको टोली खटिए पनि प्रभावकारी नभएको निकुञ्ज प्रशासन स्वीकार्छ । नेपाली सेनाले फायर गरेर हात्ती भगाउने गरेको छ । तर, फायरसँग पनि हात्ती डराउन छोडेकाले स्थानीय त्रसित छन्।

हात्ती नियन्त्रणका लागि एउटा गाडीसहित नेपाली सेना र निकुञ्ज कर्मचारीको टोली खटाइएको निकुञ्जका प्रमुख अधिकृत रमेश थापाले बताए । क्षतिको मूल्यांकन गरी उचित राहत उपलब्ध गराइने र यसै वर्षभित्र गेरुवा गाउँपालिकासँग सहकार्य गरेर हात्ती नियन्त्रणका लागि पाताभार, गोला, मनाउ र पशुपतिनगरमा भरपर्दो विद्युतीय तारबार लगाउने कार्यक्रम रहेको उनले बताए। 

जिल्लाको पश्चिम क्षेत्र हात्ती आतंकको चपेटामा छ । यहाँका स्थानीय कुनै दिन पनि ढुक्कले निदाउन सक्दैनन् । वर्षौं बित्दासमेत समस्या जस्ताको तस्तै छ। 

सरकारले वन्यजन्तुबाट हुने क्षतिसम्बन्धी राहत निर्देशिका २०६६ पछि २०७४ मा जारी गरे पनि पीडितलाई मलम लगाउन सकेको छैन । २०६६ को निर्देशिकामा वन्यजन्तुको आक्रमणबाट मृत्यु भएमा डेढ लाख, सख्त घाइतेलाई ५० हजार र सामान्य घाइतेलाई पाँच हजार रुपैयाँ क्षतिपूर्ति दिने व्यवस्था थियो । २०६९ सालमा सरकारले मृत्यु भएकाको हकमा दोब्बर क्षतिपूर्तिको व्यवस्था गरी ३ लाख रुपैयाँ बनायो । २०७४ को संशोधित निर्देशिकामा मृत्यु भएका १० लाख, घाइने भएमा दुई लाख र घर भत्काएमा १० हजार रुपैयाँसम्म दिइने तोकिएको छ । मानव–वन्यजन्तु द्वन्द्व न्यूनीकरणमा ठूलो चुनौती देखिएको भन्दै अधिकृत थापाले यस विषयमा राज्य गम्भीर बन्नुपर्ने बताए ।

करोडौं खर्च, उपलब्धि न्यून 
वन्यजन्तु पीडितलाई सहयोग गर्न दातृ निकायको सहयोगमा विभिन्न संस्थाका कार्यक्रम सञ्चालनमा भए पनि अति प्रभावित गेरुवा नदी पश्चिमको पाताभार, गेरुवा, बिन्द्रा र असारेगौडीमा संस्थाको सहयोग शून्य प्रायः छ । राष्ट्रिय प्रकृति संरक्षण कोषमार्फत सञ्चालित औली नामको फ्रान्सेली आयोजनाले यस वर्षदेखि कुनै सहयोग नगर्ने गरी कोषबाट हात झिकिसकेको निकुञ्जका कर्मचारीले बताए । 

राष्ट्रिय प्रकृति संरक्षण कोष बर्दिया संरक्षण कार्यक्रममा सञ्चालन भएको हात्ती नियन्त्रण सम्बन्धि कार्यक्रमबाट समेत कुनै सहयोग नभएको स्थानीयको गुनासो छ । बर्दिया संरक्षण कार्यक्रमले जंगली हात्ती पीडितका २१ जना सन्तानलाई विद्यालय शिक्षाका लागि वार्षिक तीन हजार छ सयका दरले दिँदै आएको छात्रवृत्तिसमेत यस वर्षदेखि रोकेको छ । कोषले दिँंदै आएको छात्रवृत्ति बन्द हुँदा आफ्ना दुई छोरालाई विद्यालयबाट झिक्नुपर्ने अवस्था आएको पीडित एकल महिला निर्मला खड्काले बताइन् ।

 

प्रकाशित: ११ भाद्र २०७४ ०३:१६ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App