८ जेष्ठ २०८१ मंगलबार
image/svg+xml
समाज

कक्षा ८ पढेर विद्यालय छाड्ने बाध्यता हट्यो

भरतपुर महानगरपालिका–२९ स्थित राष्ट्रिय माध्यमिक विद्यालय चौकीडाँडामा पढ्ने अधिकांश विद्यार्थी ८ कक्षा पढेपछि विद्यालय छाड्न बाध्य हुन्थे। डुम्रेकी सुस्मिता चेपाङकी दिदी सृजना पनि ८ कक्षा पास गरेपछि विद्यालय छाड्न बाध्य भइन् । नजिकै स्कुल नहुँदा सृजनाले बीचमै विद्यालय छाड्न परेको हो।  

सुस्मितालाई पनि ८ कक्षाभन्दा बढी पढ्न नपाइने हो कि भन्ने चिन्ता थियो। तर, भरतपुर महानगरपालिकाले १० कक्षासम्म पढाइ सञ्चालन गरेपछि त्यो चिन्ता हटेको छ। उनी आफू पढ्दै आएको विद्यालयमा ९ कक्षा पढ्न पाउने मध्येकी एक भाग्यमानी किशोरी बनेकी छन्। ‘८ पास गरेपछि पढ्ने विद्यालय नजिकै थिएनन्।’ अहिले ९ कक्षा सञ्चालन भएको छ,’ १५ वर्षिया सुम्तिाले भनिन्, ‘यहाँ पढेपछि पढाइ नै सकिन्छ।’  

चौकीडाँडामा पढ्न आउन पनि उनलाई कठिन छ। साढे दुई घण्टा उकालो उक्लेपछि यहाँ आइपुग्छिन्। ‘बिहान साढे सात बजे हिँड्नुपर्छ,’ उनले भनिन, ‘किताबको भारीसँगै उकालो चढ्दा १० बजेसम्म आइगिन्छ।’ जाँदा भने ओरालोमा अल्लि सहज हुन्छ। उनका भाईले पनि कक्षा ५ मा पढ्छन्। डुम्रेमा कक्षा ३ सम्म पढेपछि पढ्न उनीहरू चौकीडाँडा आउनुपर्छ।  

यहाँबाट नजिकको विद्यालय जुगेडीमा रहेको कविलास राष्ट्रिय मध्यमिक विद्यालय हो। त्यहाँको दुरी करिब १७ किलोमिटर छ। घरबाट जान सम्भव छैन। कोठा खोजेर नै बस्नुपर्छ। जसका कारण विद्यार्थीले कक्षा ८ पास गरेपछि पढाइ छाड्ने गरेका थिए। अहिले भरतपुर महानगरपालिकाले कक्षा १० सम्म पढाइ सञ्चालन गर्न अनुमति दिएपछि ८ पास गरेर पढाइ छाड्नुपर्ने बाध्यता हटेको छ। महानगरपालिकाले यस वर्षदेखि कक्षा थप गरेको हो।  

अहिले ९ कक्षाको पढाइ सञ्चालनमा रहेको विद्यालयका प्रधानाध्यापक मुक्ति ढुङ्गानाले जानकारी दिए। कक्षा थप भएपछि ८ पास गरेर विद्यालय छाड्ने क्रम रोकिएको उनले बताए। ‘यहाँ पढेपछि कविलास कि नारायणगढ बजार नै जानुपर्छ। त्यहाँ जान यहाँका गरिब चेपाङ समुदायलाई सहज थिएन्। ८ पास गरेपछि एकाध बाहेक सबैले विद्यालयको पढाइ छाड्थे,’ उनले भने, ‘अब १० कक्षासम्म भएपनि यहाँ पढ्न पाउने भएका छन्।’  कक्षा थप भएपछि पढाइ छाडेर बसेका विद्यार्थी पनि भर्ना भएको उनले बताए। ‘यस वर्ष कक्षा ८ बाट १९ जनाले परीक्षा दिएका थिए। ९ कक्षामा २२ जना भर्ना भएका छन्,’उनले भने, ‘अब बीचमै पढाई छाड्ने क्रम रोकिन्छ।’  

अघिल्लो वर्षसम्म चौकीडाँडामा पढेपछि केही विद्यार्थी कविलासमा आएर पढ्ने गरेको कविलास माध्यमिक विद्यालयका शिक्षक विनोदबाबु रिजालले बताए। उनका अनुसार, चौकीडाँडाबाट पढ्न आउनेको सङ्ख्या न्यून हुन्थ्यो।  

भरतपुर महानगरपालिकाले कक्षा थपेपछि भवन समेत निर्माण गर्न लागेको महानगर प्रमुख रेनु दाहाल बताउँछिन्। ‘माध्यमिक तहको शिक्षा लिन बञ्चित भएको थाहा पाएपछि कक्षा १० सम्म पढाउने निर्णय गरेका छौँ,’ दाहालले भनिन्, ‘आगामी वर्षसम्म सक्ने गरी चार कोठे भवन बनाउँदै छौँ।  शिक्षक दरबन्दी थप गरेका छौँ।’ सो भनव निर्माण गर्न ४१ लाख रुपैयाँमा ठेक्का दिइएको छ। आगामी दिनमा कक्षा १२ सम्म पढाइ सञ्चालन गर्ने योजना रहेको उनले बताइन्। यहाँ १ सय १० जना विद्यार्थी भर्ना भएका छन्। शिक्षक र कर्मचारी गरेर १४ जना रहेका छन्।  

चौकीडाँडा भरतपुर महानगरपालिकाकै दुर्गममा पर्दछ। नारायणगढ–मुग्लिन सडकखण्डको भोर्लेबाट करिब १० किलोमिटर दुरीमा छ। यहाँका शिक्षकलाई मासिक २ हजार प्रोत्साहन भत्ता समेत दिने गरेको भरतपुर महानगरपालिका शिक्षा शाखा प्रमुख महेन्द्रप्रसाद पौडेल बताउँछन्। ‘दुगर्ममा पढाउन सकेसम्म जान नपरे हुँदो भन्ने शिक्षक धेरै हुनुहुन्छ,’उनले भने, ‘शिक्षकलाई प्रोत्साहन गर्न भत्ताको व्यवस्था गरेका छौँ।’  

यहाँ शिक्षकलाई बस्नका लागि आवासको व्यवस्था छैन। विद्यालयका शिक्षकका बस्न आवासको व्यवस्था गरिदिन शिक्षक जीवन अर्याल आग्रह गर्दछन्। ‘आमा समुहको भवनमा बसेका छौँ, पानी पर्दा भित्र नै आउँछ, बाटा थापेर बस्नुपर्छ,’ उनले भने, ‘खानेपानीका लागि दुई घण्टा हिड्नुपर्छ।’ चौकीडाँडामा लिफ्टमार्फत खानेपानी पुगेपनि विद्यालयमा नआएको उनले बताए।  

प्रकाशित: १६ भाद्र २०८० ०५:०१ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App