२२ भाद्र २०८१ शनिबार
image/svg+xml
समाज

वैदेशिक रोजगारीमा पठाइदिन्छु भन्दै ठगी गर्ने दुई पक्राउ

वैदेशिक रोजगारीका विभिन्न मुलुक पठाउने भन्दै ठगी गर्ने गिरोहमा संलग्न भएको आरोपमा इटहरी प्रहरीले दुई जनालाई पक्राउ गरेको छ।

प्रहरीले इटहरी वडा नं. ५ की ३८ वर्षे सुशीला घले र मोरङ सुन्दरहरैँचा वडा नं. ५ का ५० वर्षे प्रेमकुमार चौधरीलाई पक्राउ गरेको हो।

पक्राउ परेका दुवैले दुबई, कतार र मलेसियामा आकर्षक तलबसहित सेवा–सुविधामा पठाउने भन्दै पैसा लिएर ठगी गरेको १२ जनाले उजुरी दिएको आधारमा पक्राउ गरिएको इटहरीका प्रहरी निरीक्षक भीमबहादुर खड्काले बताए।

‘अहिलेसम्म हामीलाई १२ जनाले सुशीला र प्रेमबाट ठगिएको उजुरी परेको छ, अरू पनि उजुरी आउने क्रम चलिरहेको छ,’ प्रहरी निरीक्षक खड्काले भने।

सुशीलाको घरबाट प्रहरीले नगद आठ लाख ३९ हजार २४५ रुपैयाँ र १२ थान पासपोर्ट फेला पारेर बरामद गरेको छ। प्रहरीले विभिन्न मानिसहरुसँग रकम लिएको २२ वटा कपाली तमसुक, सुशीलाको नामको खाली चेक १० वटा, विभिन्न व्यक्तिबाट रकम लिएको टिपोट भएको डायरीलगायतका सामग्री सुशीलाकै घरबाट बरामद गरिएको छ।

प्रहरीको प्रारम्भिक अनुसन्धानबाट सुशीला र प्रेम दुवै जना कुनै पनि म्यानपावरसँग आबद्ध छैनन्। यी दुवैले सामाजिक सञ्जालबाट विभिन्न व्यक्तिसँग सम्पर्क गरी आकर्षक तलबसहित सेवा–सुविधा पाइने झुटो आश्वासन दिएर पैसा लिने गरेको खुलेको छ।

‘कसैसँग पैसा लिएपछि कुनै सरकारी निकायबाट प्रमाणित नगरीकन कपाली तमसुक गरी दिने अनि सर्वसाधारणलाई कागज गरेकै छ, पैसा डुब्दैन भन्ने बनाएर भ्रम फैलाएर ठगी गर्ने गरेको खुलेको छ,’ प्रहरी निरीक्षक खड्काले नागरिक न्युजसँग भने।

प्रेम जग्गा कारोबारी समेत भएको खुलेको छ। जग्गा कारोबार गर्दा पनि थुप्रैलाई ठगी गरेको खुलेको छ।

‘प्रेमले जग्गा कारोबार गर्दा पनि बैना लिने अनि जग्गा पास नगरी दिने र  अर्काकै जग्गा देखाएर बैना गरी दिने अनि सम्पर्कमा नआउने गरेको पत्ता लागेको छ,’ प्रहरी निरीक्षक खड्काले भने। प्रेमको यसअघि पनि जिल्ला प्रहरी सुनसरीमा एउटा ठगी मुद्दा दर्ता भएको खुलेको छ।

सुशीलाले आफ्ना श्रीमान् दुबईमा रहेकाले गर्दा त्यहीबाट भिसा प्राप्त गर्न सजिलो हुने भनी ठगी गरेको खुलेको छ। सुशीला र प्रेमकुमारलाई ठगी सम्बन्धी कसुरमा मुद्दा चलाएर अनुसन्धान भइरहेको छ।

प्रकाशित: १४ भाद्र २०८० १४:४६ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App