३ पुस २०८१ बुधबार
image/svg+xml
समाज

चितवनमा कृषि क्षेत्रको बजेट घट्यो

कृषि ज्ञान केन्द्रको मात्रै साढे ५ करोड कम

चितवनमा कृषि क्षेत्रको बजेट घटेर आएको छ। कृषि वस्तुको उत्पादन बढाएर आत्मनिर्भर बन्ने घोषणा गरेको सरकारले कृषि क्षेत्रको बजेट घटाउँदै लगेको हो। संघ, प्रदेश र स्थानीय तहका कार्यालयबाट सञ्चालित हुने कृषिको बजेट यस पटक घटेर आएको यहाँका कार्यालयले बताएका छन्।

कृषि ज्ञान केन्द्र चितवनमा मात्रै गत आर्थिक वर्षभन्दा चालु आर्थिक वर्ष २०८०/२०८१ मा पाँच करोड ७५ लाख ८७ हजार रुपैयाँ बजेट घटेर आएको छ।

बागमती प्रदेशले चितवन र हेटौँडा हेर्दै आएको कार्यालयलाई कृषि कार्यक्रम सञ्चालन गर्न चालु आर्थिक वर्ष १३ करोड ९१ लाख ७६ हजार रुपैयाँ प्राप्त भएको छ। अघिल्लो आर्थिक वर्ष २०७९/०८०मा कार्यालयको बजेट १९ करोड ५७ लाख ६३ हजार रुपैयाँ थियो।

चालु आर्थिक वर्ष ११ करोड ८७ लाख रुपैयाँ बराबरका कार्यक्रम सञ्चालन हुने कृषि ज्ञान केन्द्र चितवनका प्रमुख झलक नाथ कंडेलले जानकारी दिए। यो बजेटबाट यस वर्ष २२ वटा कार्यक्रम सञ्चालन हुनेछन्। कार्यालयले सिँचाइ, उन्नत बीउ, उन्नत प्रविधियुक्त संरचनामा तरकारी खेती, मकै, धान लगायतका क्षेत्रमा प्राथमिकता दिएको छ। साना सिँचाइमा तीन करोड रुपैयाँ बजेट विनियोजन गरिएको उनले जानकारी दिए।

उन्नत प्रविधियुक्त संरचनामा तरकारी खेतीका लागि दुई करोड ८० लाख, मकै बाली, व्यवसायीक तरकारी खेती, चैते धान, बीउ पुँजी कोष परिचालनका लागि समान एक/एक करोड रुपैयाँ बजेट विनियोजन भएको छ। त्यस्तै तेलहन बाली प्रवर्द्धन, प्राङ्गारिक मल वितरणका लागि एक करोड, खाद्यान्न प्रणाली रूपान्तरण र यान्त्रीकरणमा ६० लाख रुपैयाँ बजेट विनियोजन भएको कार्यालय प्रमुख कंडेलले जानकारी दिए।

चितवनका स्थानीय तहले पनि कृषिमा बजेट घटाउँदै लगेका छन्। गत वर्ष तीन करोड रुपैयाँभन्दा बढी बजेट विनियोजन गरेको माडी नगरपालिकाले यस वर्ष एक करोड बजेट विनियोजन गरेको कृषि शाखा प्रमुख किरण उपाध्याले जानकारी दिए। कृषि ज्ञान केन्द्र चितवनमा भएको सार्वजनिकीकरण कार्यक्रममा उनले यस्तो बताएका हुन्।

रत्ननगर नगरपालिकाले पनि बजेट घटाउँदै लगेको छ। रत्ननगरका कृषि शाखा प्रमुख प्रवीण लामाका अनुसार रत्ननगरमा चालु आर्थिक वर्षमा संघ, प्रदेश, स्थानीय तह र नगर गौरव आयोजना मार्फत तीन करोड २३ लाख रुपैयाँ कृषिमा बजेट विनियोजन भएको छ। संघबाट ६८ लाख, प्रदेशबाट एक करोड पाँच लाख, स्थानीय तहबाट ७९ लाख र नगर गौरव योजनाबाट एक करोड ५० लाख रुपैयाँ विनियोजन भएका छन्। संघ र प्रदेशबाट आएका कार्यक्रमहरु अधिकांश तोकेर आएको उनले बताए।

यस वर्ष भरतपुर महानगरपालिकाले कृषिमा ७ करोड रुपैयाँ बजेट विनियोजन गरेको छ। त्यस्तै कालिका नगरपालिकाले एक करोड ११ लाख, राप्ती नगरपालिकाले ९८ लाख, खैरहनी नगरपालिकाले दुई करोड ८२ लाख रुपैयाँ बजेट विनियोजन गरेको छ।

यस्तै चितवनमा रहेर बागमती प्रदेश हेर्दै आएका कृषिका कार्यालयहरुको बजेट पनि न्यून छ। उनीहरुको बजेट स्थानीय तहले कृषिमा ल्याएका कार्यक्रमभन्दा कम देखिएको छ। भण्डारामा रहेको मौरी पालन विकास कार्यक्रममा दुई करोड १५ लाख ६८ हजार र किम्बु नर्सरी विकास केन्द्रको बजेट एक करोड ८३ लाख रुपैयाँ छ।

सार्वजनिकीकरण कार्यक्रममा बोल्दै चितवनका प्रमुख जिल्ला अधिकारी भूपेन्द्र थापाले स्थानीय तहरुले कृषि प्रसारको काममा बढी ध्यान दिनुपर्ने सुझाव दिए।

‘अझै कृषिका कार्यक्रम वास्तविक किसानसँग पुगेका छैनन्, ’उनले भने, उनीहरुको जीविकोपार्जन हुने गरी कार्यक्रम लागू गर्नुपर्छ।’ उनले योजना तर्जुमा माथिबाट भन्दा स्थानीय तहबाट हुनुपर्ने बताए। जिल्ला समन्वय समितिका प्रमुख नारायणप्रसाद अधिकारीले आएको बजेटलाई पारदर्शी रुपमा कार्यान्वयन गर्न सुझाव दिएका छन्।

प्रकाशित: १३ भाद्र २०८० १३:४७ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App