३१ भाद्र २०८१ सोमबार
image/svg+xml
समाज

मेयर साम्पाङमाथि मजदुरलाई हटाएर आफन्तलाई जागिर खुवाएको आरोप

मजदुर पुर्नवहालीको माग गर्दै घण्टाघरमा तालाबन्दी

घण्टाघरको प्रवेशद्वारमा तालाबन्दी गर्ने क्रममा आन्दोलनकारीलाई रोक्ने प्रयास गर्दे नगर प्रहरी। तस्बिर: रोहित राई/ नागरिक।

धरानको पहिचान बनेको भानुचोकस्थित घण्टाघर निर्माण कालदेखि नै दैनिक ज्यालादारीमा कार्यरत दुई मजदुरलाई निष्कासन गरेको विरोधमा तालाबन्दी गरिएकाे छ।

विभिन्न ट्रेड युनियनहरु मिलेर गठन गरेको संयुक्त संघर्ष समितिले आइतबार घण्टाघरमा तालाबन्दी गरेको हो। विना कारण निष्काशनमा परेका दुई मजदुरहरुलाई पुर्नवहाली नगरेसम्म तालाबन्दी जारी रहने संघर्ष समितिका संयोजक शम्सेर बर्देवाले बताए।

तालाबन्दी गर्ने क्रममा नगर प्रहरीसँग केही बेर घम्साघम्सीसमेत परेको थियो। मुलगेटमा नै तालाबन्दी गरिएपछि घण्टाघर भित्र प्रवेश गर्ने र टुप्पोमा पुगेर धरान बजार हेर्न चाहनेहरुलाई वाधा पुगेको छ।

घण्टाघरमा कार्यरत नरबहादुर लिम्बु (राजा) र प्रकाश राईलाई धरान उपमहानगरपालिकाले कामबाट निकालेको थियो। दुवैलाई कामबाट हटाएर मेयर साम्पाङले आफ्नै ज्वाइँ र अर्का आफन्त पर्ने व्यक्तिलाई केही महिनादेखि जागिर खुवाएको खुलेपछि विरोध भइरहेको छ।

आफन्तलाई सुटुक्क जागिर लगाएको र उनीहरुलाई तलब खुवाउनकै लागि लामो समयदेखि कार्यरत मजदुरहरुलाई हटाएको मेयर साम्पाङमाथि आरोप छ।

मेयर साम्पाङले भने दुवैको उमेर धेरै भइसकेको हुनाले अवकाश दिइएको दाबी गर्दै आएका छन्। आफन्तलाई सुटुक्क जागिर खुवाएको आरोपबारे उनले जवाफ दिन चाहँदैनन्। उक्त आरोपबारे उनले भन्ने गरेका छन्, ‘मेरो त धरानको सबै आफन्त नै हुन्। उहाँहरुलाई चैँ उमेर हदबन्दीको कारण बिदा दिइएको हो।’

ट्रेड युनियनहरुले भने दैनिक ज्यालादारीमा कार्यरत मजदुरलाई उमेरको हदबन्दी नलाग्ने र निम्न अवस्थाका मजदुर भएकोले बिचल्ली अवस्था बनाउन नहुने माग गर्दै आएका छन्। उनीहरुले दुवै मजदुरलाई तत्काल पुर्नवहाली गर्न वा १८ बर्षदेखिको कामको मुल्यांकन गरेर १८ महिनाको तलब राहत दिएर बिदा दिनुपर्ने भन्दै भदौ १ गते नै ज्ञापन पत्र पनि बुझाएका थिए।

एक साताको अल्टिमेटम दिँदा पनि माग सुनुवाई नभएपछि ट्रेड युनियनहरुले संघर्ष समिति नै गठन गरेर आन्दोलनको घोषणा गरेका थिए। घण्टाघर गेटमा धर्ना कार्यक्रम गर्दै आएको संघर्ष समितिले आइतबार भने तालाबन्दी गरेको हो।

उनीहरुले सोमबार पनि धर्ना र एक घण्टा चक्काजाम गर्ने घोषणा गरेका छन्। आइतबार घण्टाघरमा तालाबन्दी भएपछि मेयर साम्पाङले आन्दोलनरत पक्षलाई वार्तामा बोलाए पनि सहमति हुन सकेन।

मेयर साम्पाङले उमेरकै कारण अवकाश दिइएको जिकिर गर्दै ताला खोल्न आग्रह गरेका थिए। तर आन्दोलनरत पक्षले मागबारे निर्णय भएपछि मात्र ताला खोल्ने अडान लिएको थियो। 

‘हाम्रो मागबारे उहाँबाट के गर्ने हो, प्रष्ट निर्णय आएपछि मात्र ताला खोल्छौं। नत्र हाम्रो आन्दोलन जारी रहन्छ,’ संघर्ष समिति संयोजक वर्देवाले भने।

प्रकाशित: १० भाद्र २०८० १३:०२ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App