२० असार २०८१ बिहीबार
image/svg+xml
समाज

यस्ता छन् अदालतमा सबैभन्दा बढी दर्ता हुने १० मुद्दा

देशभरका अदालतमा सबैभन्दा बढी दर्ता हुने मुद्दाको पहिलो नम्बरमा सम्बन्ध विच्छेद छ। दोस्रोमा अंशबन्डा रहेको छ। प्रायजसो दाजुभाइबीच पैतृक सम्पत्ति बाँडफाँटमा चित्त नबुझ्दा अदालत जाने गरेका छन्। 

देशभरिका मुद्दा हेर्दा ११.७ प्रतिशत मुद्दा अंशबन्डासम्बन्धी रहेको छ। तेस्रो नम्बरमा लेनदेनको मुद्दा छ। सुरुमा विश्वासका आधारमा रकम लेनदेन गर्ने र पछि भनेको समयमा नदिने र विवाद हुने गरेपछि अदालतमा मुद्दा पर्ने गरेको छ। कुल मुद्दाको संख्यामा १०.३ प्रतिशत मुद्दा लेनदेनमा पर्ने गरेको देखिन्छ।

त्यसैगरी चौथो मुद्दा जग्गासम्बन्धी रहेको छ। कुल संख्याको ५.६ प्रतिशत मुद्दा जग्गासम्बन्धी छन्। पाँचौँमा लिखत बदरसम्बन्धी मुद्दा छन्। कुल मुद्दाको ५.४ प्रतिशत मुद्दा लिखत बदरसम्बन्धी पर्ने गरेका छन्। त्यस्तै छैटौँ नम्बरमा जालसाजीसम्बन्धी मुद्दा पर्ने गरेका कुल ५.२ प्रतिशत मुद्दा जालसाजीका छन्। सातौँ नम्बरमा बैंकिङ कसुरसम्बन्धी मुद्दा पर्ने गरेका छन्।  

आठौँ नम्बरमा जबर्जस्तीकरणीका मुद्दा पर्ने गरेका छन्। कुल मुद्दाको ३ प्रतिशत बलात्कारसम्बन्धी हुने गरेका छन्। देशभरका अदालतमा गत वर्ष ९ हजार १६९ वटा मुद्दा जबर्जस्तीकरणीसम्बन्धी परेका थिए। त्यसमध्ये आधा मात्रै मुद्दा छिनिएका छन्। ४ हजार ८७३ मुद्दा अझै छिन्न बाँकी छन्।

नवौँ नम्बरमा दर्ता हुने मुद्दामा कर्तव्य ज्यानसम्बन्धी पर्ने गरेको छ। एक व्यक्तिले नियतवश योजना बनाएरै अर्को व्यक्तिको ज्यान लिएमा कर्तव्य ज्यानसम्बन्धी मुद्दा दर्ता हुने व्यवस्था छ। त्यसैअनुसार देशभर कुल मुद्दाका २ प्रतिशत मुद्दा कर्तव्य ज्यानसम्बन्धी दर्ता हुने गरेका छन्।

दसौँ नम्बरमा सवारी ज्यान वा अंगभंग वा घाइते भएको कसुरमा मुद्दा पर्ने गरेका छन्। देशभर विभिन्न समयमा सवारी साधन दुर्घटना हुँदा कतिको ज्यान जाने, कतिपय अंगभंग, घाइते हुने गरेका छन्। त्यससम्बन्धी मुद्दा १.७ प्रतिशत छन्।

प्रकाशित: १० भाद्र २०८० १०:०३ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App