१३ आश्विन २०८१ आइतबार
image/svg+xml
समाज

हामी त यसै ‘चन्द्र’मा

सम्भावना

‘न पानी छ, न बिजुली, न बाटो,’ बुधबार साँझ भारतले चन्द्रमामा चन्द्रयान अवतरण गराएको खबरसँगै सामाजिक सञ्जालमा हुम्ला सिमकोट गाउँपालिकाका नरेन्द्र रोकाया लेख्छन्, ‘चन्द्रमा पनि त यस्तै होला नि।’

राज्यको उपेक्षाका कारण भोक र प्यासमा रहेका कर्णालीका जनताले स्वदेशमै चन्द्रमा भोग्नुपरेको उनको बुझाइ छ।

झट्ट हेर्दा व्यङ्ग्यजस्तो लागे पनि उनको भनाइ कर्णालीसँग मात्र नभई सिंगो मुलुकको यथार्थतासँग मेल खान्छ। भारत चन्द्रमा र मंगल ग्रहमा पुगेका खबर आइरहँदा यहाँ भने अझै एम्बुलेन्स र सिटामोल नपुगेको खबर आइरहेको छ। भारत चन्द्रमा पुगिसक्यो तर यहाँका जनतालाई खानेपानीको चिन्ता उस्तै छ। जताजतै पानी छ तर पिउने पानीको खोजीमा बिहानभर भौंतारिनुपर्ने समाचार आउन छोडेका छैनन्।

‘न पानी छ, न बिजुली, न बाटो,’ बुधबार साँझ भारतले चन्द्रमामा चन्द्रयान अवतरण गराएको खबरसँगै सामाजिक सञ्जालमा हुम्ला सिमकोट गाउँपालिकाका नरेन्द्र रोकाया लेख्छन्, ‘चन्द्रमा पनि त यस्तै होला नि।’

देखासिकी गर्ने हाम्रो समाजमा छिमेकी मुलुक चन्द्रमामा पुगेपछि त्यसको चासो हुनु स्वाभाविक हो तर हाम्रो नेतृत्वको वर्तमान चाला देख्दा त्यो चासो रमाइलोमा मात्र सीमित हुने देखिन्छ। त्यसैले होला, नेपाली वैज्ञानिकले पनि नेपालको चन्द्रमा सपना निकै पर रहेको सुनाउँछन्। ‘कल्पना कसरी गर्नु ?’ खगोल अन्तरिक्ष विज्ञानका अध्येता डा. सनतकुमार शर्मा भन्छन्, ‘छिमेकी देश चीन र भारतले चन्द्रमामा रकेट अवतरण गराउन सफल भए पनि नेपालले यस्तो सफलता हासिल गर्न धेरै वर्ष कुर्नुपर्ने देखिन्छ।’

उनको भनाइमा केही हदसम्म सत्यता छ। सत्ता र स्वार्थको मोहमा धसिएको सरकारले कुनै भीमकाय यान उडाउने क्षमता पक्कै पनि राख्दैन। ऊ छिमेकीलाई बधाई दिन त हतार गर्छ तर त्यसबाट सिकेर कसरी अगाडि बढ्ने भन्ने उत्कण्ठा थोरै पनि पाल्दैन।

देखासिकी गर्ने हाम्रो समाजमा छिमेकी मुलुक चन्द्रमामा पुगेपछि त्यसको चासो हुनु स्वाभाविक हो तर हाम्रो नेतृत्वको वर्तमान चाला देख्दा त्यो चासो रमाइलोमा मात्र सीमित हुने देखिन्छ।

हाम्रा पूर्वजले सपना देख्नमा कुनै कन्जुस्याइँ गरेका थिएनन्। राइट ब्रदर्सले विमान आविष्कार गर्नुभन्दा अगाडि नै यहाँका आकाशमा पुष्पक विमान उडिसकेको कथा हामीले पढेका हौं। अझ पछिल्लो समयमा त हाम्रा महाकवि लक्ष्मीप्रसाद देवकोटाले सन् १९६९ मा अमेरिकी वैज्ञानिक निल आर्मस्ट्रङले अपोलो ११ मार्फत चन्द्र सतहमा पाइला टेक्नुभन्दा धेरै अघि ‘उद्देश्य के लिनु उडी छुनु चन्द्र एक’ भन्ने कविता लेखिसकेका थिए।

महान् उद्देश्य बोक्ने महाकविलाई माया गर्ने हामी उद्देश्य प्राप्तिमा भने एक पाइला पनि चाल्न सकेनौं। भनाइ नै छ-‘हजार पाइला चाल्ने कल्पना गर्नुभन्दा एक पाइला साच्चिकै चाले गन्तव्य छोटिन्छ तर त्यसो हुन सकेको छैन। अभाव र संकटको यो घडीमा अहिले त हामीले कल्पना गर्न पनि छाडिसकेका छौं। देवकोटाको साहित्यमा रुचि राख्ने हामी विकास र चेतनाको हिसाबले अझै पनि त्यही युगमा रमाउँदै छौं।’

कुनै बेला हाम्रोभन्दा कमजोर अर्थतन्त्र रहेको चीन र भारतका बीचमा बसेका हामीले उनीहरूले गरेको प्रगतिको एक छेउसम्म पनि नपुग्नु निकै दुःखद कुरा हो। हामी सानैदेखि पढ्दै आएको घमण्डी खरायो र कछुवाको कथामा रमाउँदै छौं। आफ्नो क्षमता सम्झेर अल्छी गर्ने खरायोलाई घमण्डी त भन्छौं तर हामी त्यही खरायोको नियतिमा छौं भन्ने कुरा बिर्सन्छाैं।

अझ पछिल्लो समय हामी त्यस्ता दर्शक अथवा पाठक भएका छौं, जसले विकासको नमुना पनि देखेका छौं, दुर्गमताको पहाड पनि भोगेका छौं। बिहीबार नागरिक दैनिकमा प्रकाशति ‘भारत चन्द्रमा’ र ‘नेपालमा कहिले आउला रेल’ भन्ने दुई मुख्य समाचारका शीर्षकले पनि हामी र हाम्रा छिमेकीको स्तर झल्काउँछ।

यति हुँदा हुँदै पनि हामी निराश हुनुपर्ने छैन। राज्य इमानदार बन्ने हो भने चन्द्रमातिरको यात्रा फेरि पनि लम्कन्छ। हिन्दीमा एउटा भनाइ छ-‘जब जागा तब सवेरा’ अर्थात् जति बेला जागिन्छ त्यति बेलाबाटै सुरु गर्न सकिन्छ।’

नेपाली वैज्ञानिक पनि त्यस्तै मान्छन्। जे जसो भए पनि भारतको सफलताले हामीलाई अन्तरिक्ष विज्ञानको क्षेत्रमा योजना बनाएर अगाडि बढ्न प्रेरणा दिएको उनीहरूको बुझाइ छ। ‘अन्तरिक्ष अनुसन्धानमा हामी भारत र चीनभन्दा २५–३० वर्ष पछाडि छौं,’ वैज्ञानिक डा. सनतकुमार शर्मा भन्छन्, ‘तर पर्याप्त साधनस्रोत र क्षमता–विकास गर्न सके हामी अगाडि बढ्न सक्छौं।’

यसका लागि राज्यले खरायो निन्द्राबाट जाग्नु जरुरी छ। जुन दिन सरकारले दूरदराजका जनताको समस्यामा ध्यान दिन थाल्छ, त्यसै दिनबाट नेपालको पनि चन्द्र यात्रा सुरु हुन्छ। इमान्दारीको इन्धनले सञ्चालित विकासको विमान जनताको दैलोसम्म पुगे साँचो अर्थमा चन्द्रमा पुगिन्छ। चन्द्रमामा पुग्न समय लाग्ला तर सरकारले इमानदारी देखाए जनताको अनुहारलाई चन्द्र बनाउन समय लाग्दैन।

नेपाली वैज्ञानिक पनि त्यस्तै मान्छन्। जे जसो भए पनि भारतको सफलताले हामीलाई अन्तरिक्ष विज्ञानको क्षेत्रमा योजना बनाएर अगाडि बढ्न प्रेरणा दिएको उनीहरूको बुझाइ छ।

राज्यले इमानदारी देखाउन ढिला गरे विकासको कल्पनामा रम्नुबाहेक हामीले केही गर्न सक्दैनौं। त्यो अवस्थामा हाम्रो जाँगर फेरि पनि अरबका भूमिमा उडान भर्न विवश हुनेछ। गाउँमा हाम्रा नानीहरू बच्चु कैलासको उहिलेको गीत गुनगुनाउने छन्-

कल्पनाको गगन, मुस्कुराउने चन्द्र बन न

कहिले होला त्यो दिन, जब होला मिठो मिलन

प्रकाशित: ९ भाद्र २०८० ०३:४८ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App