९ मंसिर २०८१ आइतबार
image/svg+xml
समाज

६ कक्षामा पढ्ने ६१ वर्षीया हजुरआमा

भनिन्छ, ‘पढाइलाई उमेरले छेक्दैन।’ यसको एउटा उदाहरण हुन, कोहलपुर–५ की ६१ वर्षीया प्रेमकुमारी गिरी। समयले उनलाई ६ दशक पार गरिसकेपछि विद्यार्थी बनाएको छ। विद्यार्थी बन्ने उमेरमा घरजम गर्ने कर्तव्यनिष्ठ छोरी बनायो। सानैदेखि पढ्ने इच्छा भए पनि घरायशी समस्या र पराइ घर जाने छोरीले पढ्नु हुन्न भन्ने असामाजिक कुसंस्कारले उनको पढाइ अधुरै रह्यो।

कक्षा पाँचसम्मको पढाइ पूरा गरेकी उनले त्यसभन्दा माथिका कक्षा कोठा प्रवेश गर्न पाइनन्। ‘सँगै साथीसंगीसँग विद्यालय जाने रहर थियो,’ सुर्खेतबाट बसाइँ सरेर कोहलपुर आएकी उनी भन्छिन्, ‘सुर्खेतमा पाँच कक्षासम्म पढेँ। त्यसभन्दा माथि पढ्न पाइनँ।’ उनी सानै हुँदा बुवा गगनदेव गिरीको मृत्यु भएपछि आमा जमुना एक छोरा र दुई छोरीसहित माइती घर कोहलपुर आएकी थिइन्। उनका दाजु देवराजले कक्षा १० सम्मको अध्ययन पूरा गरेका छन् भने बहिनी उर्मिलाले प्राथमिक तहसम्म मात्र अध्ययन गरेकी छिन्।

‘सानै हुँदा घरको कामकाजमा लाग्दा पढ्नै पाएनँ,’ उनी भन्छिन्, ‘विवाहपछि त झन पढ्ने वातावरणनै बनेन्।’ आफूले पढाइ पूरा गर्न नसके पनि आफ्ना ६ सन्तानलाई भने उनले उच्च शिक्षा पढाएकी छिन्। यसमै उनलाई गर्व छ।

सानै उमेरमा कखरा मात्र चिनेकी उनले पढाइ बीचमै छाड्नु प¥यो। उमेरले डाँडो काटेपछि हातमा कापीकिताब च्यापेर अहिले उनी विद्यालय जान थालेकी छिन्। अहिले भने केही फुर्सद भएपछि पढ्ने इच्छा पूरा गर्न थालेको उनी बताउँछिन्। ‘छोराछोरी पढाइसँगै घरजममा छन्,’ उनी भन्छिन्, ‘घरमा हामी श्रीमान्मात्र हुन्छौं।’ घरमा त्यतिकै बस्नुभन्दा विद्यालय जान थालेको उनको भनाइ छ। नातीनातिना उमेरका साथीसंगीहरुसँग कक्षा कोठाको पहिलो बेन्चमा उनी बस्छिन्। यहाँका विद्यार्थी, शिक्षकशिक्षिकाले पनि आदर सम्मानसँगै हौसला पढाइ दिएका छन्। घरबाट उनी गाडीमा विद्यालय पुग्छिन्। उनलाई विद्यालय पठाउन श्रीमान्ले सहयोग गर्छन्। ‘ढिलो हुँदा श्रीमान्ले विद्यालय नगए पनि भयो भन्नुहुन्छ,’ उनी भन्छिन्, ‘छिटो हुँदा उहाँ आफैँले विद्यालय जानलाई सघाउ पु¥याउनु हुन्छ।’

‘पहिला छोराछोरी हुर्काउँदा पढ्न पाइन्। अहिले छोराछोरी र नातीनातिना पनि ठूला भइसके,’ उनले भन्छिन्, ‘छोराछोरी आआफ्नो व्यापार व्यवसायमा छन्।’ उनको कान्छी छोरी उच्च शिक्षा अध्ययनका लागि अस्ट्रेलियामा छिन्। ज्ञानज्योति माध्यमिक विद्यालयको कक्षा ६ मा पढ्ने उनी सबैको प्रेरणाको स्रोत बनेकी छिन्। उनी विद्यालय जान थालेपछि गाउँ समाजले सकारात्मक प्रतिक्रिया दिएका छन्।  

प्रकाशित: ५ भाद्र २०८० १२:१३ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App