२० असार २०८१ बिहीबार
image/svg+xml
समाज

मिथिलामा ‘लगपाँच’ पर्व मनाइँदै

मधेस प्रदेशको प्राचीन मिथिला क्षेत्रमा आज घरघरमा ‘लगपाँच’ पर्व मनाइँदैछ। चन्द्रमास गणनाको साउन शुक्ल पञ्चमीका दिन सर्प (नाग) प्रजातिका जीवको पूजाआराधना गरिने यस पर्व हिन्दू मैथिल परम्परामा चाडपर्व प्रारम्भ भएको सूचनाका रूपमा लिने गरिन्छ।

यस पर्वमा मूल घरका चारैतिर भित्तामा गाईको गोबरले नागको चित्र कोरेर दुबो, सिन्दूर र अक्षता चढाई नाग देवताको पूजाआराधना गरिन्छ। घरमूली गृहिणीले ‘लगपाँच’ का दिन सखारै पवित्र स्नान गरी भित्तामा नाग चित्र कोरेर पूजाआराधना गर्दै सर्पले रुचाउने भोजन दूध, लावा (भुटेको धान, जुनेलो) चढाउँछन्।

यो पर्व मध्य बर्खाभित्र पर्ने भएकाले यस समयमा सर्पादिको भय हुने हुँदा नागको पूजा गर्ने र नागलाई खुसी बनाउने परम्परा चलेको मैथिल पुरोहित बताउँछन्। घरको भित्तामा गाईको गोबरले नागचित्र कोरेर पूजा गरेमा वर्षभरि सर्पको भय नहुने जनविश्वास रहेको संस्कृतिका ज्ञाता बर्दिबासका महेशकुमार झाले बताए।

सामान्यतया सौरमास गणनामा यो पर्व साउनमा पर्ने गरे पनि यस वर्ष साउनभरि अधिकमास परेकाले तिथि पछि परेको उनले बताए। उनका अनुसार यस पर्वमा घरका चारै कुनाका भित्तामा नागचित्र कोरिनुका साथै मुख्य द्वारमा कागजमा कोरिएको वा बनाइएको चित्र टाँसिन्छ।

घरआँगनको मध्यभागमा गाईको गोबरले लिपेर बनाइएको वेदीमा गोबरकै कुण्डमा घरकी मुख्य गृहिणीले दूध, लावा चढाएर नागमहिमा वर्णन गर्दै घरका सबैको रक्षा गर्न नागदेवतासँग पुकार गर्ने परम्परा रहेको झाले बताए।

मिथिलामा ‘लगपाँच’ पर्व हिन्दू परम्पराका पर्व प्रारम्भ भएको सूचनाका रूपमा लिइन्छ। ‘लगपाँच’ लगत्तै राखी (रक्षाबन्धन), कुशे अमावश्या (कुशे औंशी), चौरचन, इन्द्रजात्रा, पितृपक्ष, दसैं, तिहार, छठ लगायत पर्व आउने हुँदा यसलाई पर्वहरूको पूर्वसूचना मान्ने गरिएको पाका मैथिल बताउँछन्।

हिन्दू परम्परामा सबै जीवप्रति ससान सद्भाव राखिनुका साथै प्रकृति पूजक भएकाले सर्पादिको बढी चहलपहल हुने बर्खा याममा नागपूजा गर्ने परम्परा बसेको कर्मकाण्डी पुरोहित ब्राह्मण झाले बताए। हिन्दू मैथिल परम्परामा विभिन्न जीव तथा वनस्पतिको महत्व र समय अनुसार पूजाआराधना गर्ने प्रचलन रहेको उनको भनाइ थियो।

प्रकाशित: ४ भाद्र २०८० ०८:०० सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App