१२ असार २०८१ बुधबार
image/svg+xml
समाज

नागरिकता भन्दा राहदानी बनाउने धेरै

म्याग्दीमा नेपाली नागरिकताको प्रमाणपत्र बनाउने भन्दा विदेश जाने अनुमति पत्र अर्थात् राहदानी बनाउने सेवाग्राहीहरु धेरै भएका छन्। 

गएको आर्थिक वर्ष २०७९/०८० मा नागरिकता लिनेभन्दा राहदानी लिनेको सङ्ख्या धेरै रहेको जिल्ला प्रशासन कार्यालय म्याग्दीले जनाएको छ।

गएको वर्ष राहदानीको लागि साधारणतर्फ ७ हजार ४ सय ४७ वटा सिफारिस गरिएकोमा द्रुत सेवातर्फ १० वटा मात्रै सिफारिस गरिएको सहायक प्रमुख जिल्ला अधिकारी धिरेन्द्रराज पन्तले बताए। उनले गतभन्दा अघिल्लो आर्थिक वर्षमा साधारणतर्फ ४ हजार ३ सय ९४ वटा राहदानी सिफारिस गरिएकोमा ८ सय ४४ वटा द्रुत सेवाको लागि सिफारिस गरिएको जानकारी दिए।

यसैगरी गत वर्ष ६ हजार ८ सय ६ वटा राहदानी वितरण गरिएकोमा अघिल्लो आर्थिक वर्षमा ३ हजार १ सय ३५ वटा राहदानी वितरण गरिएको थियो। गत वर्ष ६ सय ३० वटा राहदानी वितरण हुन बाँकी रहेको छ भने अघिल्लो आवमा १ हजार २ सय ५७ वटा राहदानी वितरण हुन बाँकी रहेका थिए। गत वर्ष १४ हजार १ सय ८७ वटा राष्ट्रिय परिचयपत्रको विवरण दर्ता गरिएको छ भने गतभन्दा अघिल्लो आवमा ८ हजार ५५ वटा राष्ट्रिय परिचयपत्रको लागि विवरण दर्ता गरिएको जिल्ला प्रशासन कार्यालयका सूचना अधिकारी समेत रहेका सहायक प्रजिअ पन्तले बताए।

त्यस्तै नागरिकता तर्फ भने ६ हजार २ सय २४ वटा वितरण गरिएकोमा ३ हजार ४ सय २६ वटा नागरिकताको प्रतिलिपि वितरण गरिएको थियो। गतभन्दा अघिल्लो आवमा ५ हजार ७ सय ४ वटा नयाँ नागरिकता वितरण गरिएकोमा ५ हजार ८ सय ९९ वटा नागरिकताको प्रतिलिपि वितरण गरिएको थियो। 

गत वर्ष ३ वटा वैवाहिक अङ्गिकृतसम्बन्धी नागरिकता वितरण गरिएकोमा अघिल्लो आर्थिक वर्षमा एउटा मात्रै वितरण गरिएको थियो। म्याग्दीमा राहदानी लिनेहरुको सङ्ख्या धेरै हुनुमा वैदेशिक रोजगार तथा अध्ययन, भिजिट भिसा र राहदानी हराउनु तथा ब्यहोरा परिवर्तन गरेर बनाउने गरेको बताइएको छ।

जिल्ला प्रशासन कार्यालय म्याग्दीमा राहदानी बनाउन जानेहरुमा विद्यालय तथा कलेज उमेर समूहका विद्यार्थीहरु पनि छन्। कक्षा १२ उत्तीर्ण गरे लगत्तै जापान तथा अस्ट्रेलिया अध्ययन गर्न जाने भन्दै राहदानीको फाराम भर्ने गरेको पाइन्छ। राहदानी लिनेहरु अधिकांश २० वर्ष उमेरदेखि ३५ वर्षसम्मका छन्। अर्कोतर्फ १६ वर्षको उमेर पूरा भएपछि नागरिकता बनाउन पाइने भएकाले पनि नागरिकता लिएका करिब ८० प्रतिशतले राहदानीको फाराम भर्ने गरेको म्याग्दीका प्रमुख जिल्ला अधिकारी तुलसीराम पौडेलले बताए।

‘म्याग्दी जिल्लामा काखको बच्चादेखि ८० वर्ष उमेर समूहका बुढाबुढीले समेत राहदानी बनाउने गरेका छन्, ‘राहदानी लिनेहरुमध्ये धेरै वैदेशिक रोजगारीमा जानेहरु छन्’ प्रजिअ पौडेलले भने। 

यसका साथै विदेशमा अध्ययन, भ्रमण, बिदा मनाउन, परिवार भेटघाट, दलाललाई राहदानी दिएर फिर्ता नपाउनु जस्ता कारणहरु पनि रहेको पाइन्छ। 

प्रकाशित: ४ भाद्र २०८० ०७:५५ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App