२० जेष्ठ २०८१ आइतबार
image/svg+xml
समाज

सय वर्षदेखिको खानेपानीको समस्या अन्त्य

बागलुङ बजारसँगै जोडिएको गाउँ भए पनि खानेपानीको चरम संकट भएको रातमाटा गाउँमा अहिले खुसियाली छाएको छ। बागलुङ नगरपालिका-३ रातमाटा गाउँमा खानेपानीको समस्या आजको नभएर सय वर्ष पहिलादेखिको भएको स्थानीयको भनाइ छ।

चार किलोमिटर टाढा छरिखोलागाउँबाट मूलको पानी लिएर एक सय ८१ घरमा खानेपानी वितरण भएपछि यहाँका स्थानीयको दिनचर्या नै फेरिएको छ।

तीन महिनामा बागलुङ नगरपालिका, नेपाल स्वास्थ्यका लागि पानी (नेवा) र स्थानीय रातमाटा खानेपानी तथा सरसफाइ उपभोक्ता समितिको साझेदारीमा एक करोड नौ लाख रुपैयाँ खर्चेर घरघरमा खानेपानीको धारा निर्माण गरिएको स्थानीय मुरारी शर्माले बताए।

विसं २०५८ बाटै छरिखोलाबाट पानी ल्याउन थाले पनि व्यवस्थित नुहँदा सामुदायिक धाराका कारण खानेपानीको समस्या भएको र अहिले घरघरमै चौबीसै घन्टा खानेपानीको सुविधा भएको उनको भनाइ छ।

‘काठेखोला पुगेर पानी लिएको पुर्खाले बताएको सुन्दै आएका थियौं, अहिले घरघरमै खानेपानीको धारा आएको छ, पहिलाको पानी व्यवस्थित नहुँदा समस्या थियो, हिउँदमा त पानी भर्न पालो कुर्नुपर्ने अवस्था थियो’, स्थानीय मुरारी शर्माले भने,‘बागलुङ नगरपालिकाको पहलकदमीलाई विशेष धन्यवाद दिन चाहान्छौं, बागलुङ बजारसँग जोडिएको गाउँ भए पनि बत्तीमुनिको अँध्यारो जस्तो भएको थियो रातमाटा, यहाँको खानेपानीको दुःख, संघर्ष र पीडा भनीसाध्य थिएन, अहिले विकासको महसुस गरेका छौं।’

पटक-पटक खानेपानी आयोजना परे पनि व्यवस्थित नहुँदा खानेपानीको दुःख नगएको भन्दै अहिले नेवाको आर्थिक तथा प्राविधिक सहयोग नगरपालिकाको र स्थानीय उपभोक्ताको साझेदारीमा एक सय ८१ धारा बनेकामा एक सय ७५ घर र छ सार्वजनिकस्थल तथा विद्यालय लगायतका स्थानमा धारा निर्माण गरिएको हो।

रातमाटामा खानेपानीको दुःख पहिलेदेखि सुन्दै आएको बताउँदै नगरप्रमुख वसन्तकुमार श्रेष्ठले तीन महिनामा एक करोड नौ लाख रुपैयाँको आयोजनाको काम सम्पन्न हुनु गौरवको विषय भएको बताए।

उनले आफ्नो कार्यकालभित्रै सर्भे गरेको योजना यति छिट्टै सम्पन्न भएर आफैंले उदघाटन गर्न पाएकामा नेवालाई धन्यवाद दिए।

‘नेवाको साझेदारीमा एक वर्षभित्रै संकटग्रस्त क्षेत्र लङ्गाउँमा लिफ्टमार्फत खानेपानी वितरण गरियो, त्यसको एक महिनापछि रातमाटामा एक सय ८१ घरमा खानेपानी पुर्‍याएको छ’, नगरप्रमुख श्रेष्ठले भने, ‘खानेपानीको दुःख रहेको रातमाटाका घरघरमा धारा बन्दा स्थानीयको दिनचर्या फेरिने भयो।’

नेवाको ६७ लाख ५९ हजार नौ सय ८५ रुपैयाँ, नगरपालिकाको  १६ लाख ९३ हजार सात सय ९४ रुपैयाँ, स्थानीय समुदायको नगद छ लाख ३४ हजार एक सय ८३ रुपैयाँ र स्थानीयको श्रमदान बराबरको १९ लाख ६९ लाख नौ सय १६ गरी एक करोड नौ लाख ७५ हजार सात सय ५७ रुपैयाँमा उक्त खानेपानी आयोजना निर्माण सुरु भएको तीन महिनामै सकिएको रातमाटा खानेपानी तथा सरसफाइ उपभोक्ता समितिका सचिव दिपक शर्माले बताए।

शर्माका अनुसार आयोजना सम्पन्न गर्न नेवासँग २०७९ पुस २६ गते सम्झौता भए पनि चैतदेखि निर्माणको काम थालिएकामा निर्माण सुरु भएको तीन महिनामै खानेपानी आयोजनाको काम सकिएको हो। खानेपानी तथा सरसफाइ उपभोक्ता समितिका अध्यक्ष हितनाथ शर्माले चार किलोमिटर मुख्य पाइप लाइनसहित घरमा घारा पुर्‍याउँदासम्म १८ किलोमिटर पाइपलाइन, तीन इन्टेक, पाँच वटा वितरण ट्यांकीमार्फत रातमाटा गाउँका घरघरमा धारा वितरण गरिएको बताए।

खानेपानीको चरम संकट भएको स्थानमा नेवाले स्थानीय सरकारको नगद साझेदारीमा ‘एक घर, एक धारा’ निर्माण गरिरहेको जनाउँदै नेवा बागलुङका कार्यालय प्रमुख रमेश दाहालले बागलुङको रातमाटासहितका ठाउँमा पाँच वर्षमा पाँच हजार धारा निर्माण गरिएको बताए।

विसं २०५८ मा ‘रातमाटाको नारा घरघरमा खानेपानीको धारा’ भन्ने गरिएको अभियान अहिले आएर मात्र पूरा भएको स्थानीय लक्ष्मी शर्माले बताए।

‘पहिलेको पानी व्यवस्थित थिएन, बिहानबेलुका मात्र पानी आउँथ्यो, हिउँदमा त खानेपानीको भर नै थिएन, अहिले खानेपानी जतिबेला खोल्दा समेत आउँछ’, शर्माले भने, ‘अहिले त महिलाको दैनिकी पानीका लागि व्यवस्थापन गर्नु पर्दैन, खानेपानीले रातमाटावासीमा खुसियाली छाएको छ।’

प्रकाशित: १ भाद्र २०८० ०८:०८ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App