२२ असार २०८१ शनिबार
image/svg+xml
समाज

अपराधले आक्रान्त मधेस

साउन ७ गते राति धनुषाको सीमावर्ती क्षेत्र मुखियापट्टि मुसहरनिया गाउँपालिका–२ स्थित दशगजा क्षेत्रमा गोली हानी एक भारतीय महिलाको हत्या भयो। महिलाको पहिचान दुई दिनपछि खुल्यो। ती महिला मधुवनी जिल्ला मुखियापट्टी ९ मधवापुर प्रखण्ड रहीमाटोलकी २८ वर्षीया राधादेवी साह थिइन्।

मोटरसाइकल चढेर आएका दुई अपरिचितलेराधादेवीलाई दुई राउन्ड गोली हानी भारततर्फ भागेको प्रत्यक्षदर्शीलाई उद्धृत गर्दै प्रहरीले जनाएको छ। घटनास्थल भारतपट्टि भएकाले यसबारे भारतीय प्रहरीले अनुसन्धान गरिरहेको छ। ती महिलाको हत्या पारिवारिक रिसिइबीका कारण भएको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ। घटनाको प्रकृति हेदा ती महिलालाई नेपालको सिमाभित्र हत्या गरेर गुमनाम बनाउने उद्देश्य देखिन्छ।  

साउन २५ गते सर्लाहीको हरिवन–४ स्थित लखन्देही पुलमुनि टाउको फेला परेका युवकको शरीर बाँकी भाग दुई दिनपछि झन्डै ७ किलोमिटर दुरीमा फेला पर्यो। पूर्व–पश्चिम राजमार्गबाट करिब २५ मिटर दक्षिण लालबन्दी नगरपालिका–१७ स्थित कालिन्जोर जंगलमा टाउकोबाहेकको शव फेला परेको थियो। मारिएका ती युवक भारतको सीतामढी जिल्ला मनियारीका २३ वर्षीय गोलु भनिने अभिषेख राज भएको खुलेको छ। गोलु साउन २० गते चारजना साथीसँग नेपाल घुम्न आएका थिए। उनका ती साथी फरार छन्। उनीहरूको भारतीय प्रहरीको सहयोगमा खोजतलास भइरहेको प्रहरी उपरीक्षक सुवेदीले जानकारी दिए।  

मारिएका युवकसहित उनका चारजना साथीमाथि भारतमा हत्या अभियोग दर्ता भएको प्रहरी उपरीक्षक सुवेदीले बताए। सुवेदीका अनुसार पाँचैजनाको नाम भारतीय प्रहरीको ‘वान्टेड’ सूचीमा छ। मारिएका गोलु केही दिनअघि भारतमा एक व्यक्तिलाई गोली हानेर फरार भएको जानकारी आएको सुवेदीले बताए। असार ३१ गते सप्तरीको कञ्चनरूप नगरपाकिला ८ बेरियर चोकमा एक वृद्धको शव फेला पर्यो। प्रहरीको प्रारम्भिक अनुसन्धानले उनको हत्या भएको देखियो। खोज्दै जाँदा मागीखाने ती वृद्धको हत्यामा सोही नगरपालिका १० बदगमाका २८ वर्षीय मनोज पासवानको संलग्नता खुल्यो।  

इलाका प्रहरी कार्यालय कञ्चनरूपका प्रहरी नायब उपरीक्षक दीपक रायका अनुसार मागीखाने ती वृद्ध प्रतीक्षालयमा बिँडी तानिरहेका थिए। सोही अवसरमा त्यहाँ पुगेका मनोजले उनीसँग बिँडी मागे। तर वृद्धले बिँडी नदिई गाली गर्न लागेपछि मनोज बाँसको लाठीले टाउकोमा चारपाँच पटक प्रहार गरी भागेको उनको बयानबाट खुलेको रायले बताए। मनोजमाथि कर्तव्य ज्यान मुद्दामा कारबाही अघि बढाइएको छ।

खुला सिमानाबाट आउजाउ र सामान ओसारपसारलाई व्यवस्थित तथा अवैध साना हतियार नियन्त्रण नगरिए मधेसको सुरक्षा व्यवस्था भयावह हुन सक्ने आकलन

बाराको जितपुर–सिमरा उपमहानगरपालिका–१६ टाँगियाबस्तीमा छोराले मुक्का प्रहार गरी बाबुको हत्या गरेका छन्। ९० वर्षीया माइतसिंह घलानको ६० वर्षीय छोरा दिलबहादुर घलानले घरायसी विवादमा मुक्का प्रहार गर्दा मृत्यु भएको प्रहरीले जनाएको छ।  

साउन २७ गते पर्सामा कुटपिटबाट पर्सागढी नगरपालिका–४ बर्वाटोलमा २८ वर्षीय जुमदिन अन्सारीको मृत्यु भयो। स्थानीय अलि महमदको घरको आँगनमा महमद र अर्का स्थानीय अतुल्लाह अन्सारीबीच झैझगडापछि कुटपिट हुँदा २८ वर्षीय जुमदिनको टाउकोमा गम्भीर चोट लाग्यो। तत्कालै प्रहरीले उनलाई वीरगन्जस्थित नारायणी अस्पतालमा लग्यो। त्यहाँबाट उनलाई थप उपचारका लागि एलएस न्युरो अस्पताल बारामा लगियो। उपचारकै क्रममा बुधबार बिहान जुमदिनको मृत्यु भयो। भारतको केरलामा बस्ने अतुल्लाहकी बहिनीलाई जुमदिनका भाइले फोन सम्पर्क गरी भगाउने प्रयास गरेको भन्ने विषयमा दुवै पक्षबीच विवाद हुँदा घटना भएको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको पर्सा प्रहरी प्रवक्ता डिएसपी दिपक गिरीले बताए।  

अतुल्लाहसमेत तीन जनाले जुमदिनलाई काठको चिर्पटले टाउकोमा प्रहार गरेका थिए। घटनामा संलग्न रहेको आरोपमा अतुल्लाह र अर्का स्थानीय ४५ वर्षीय बच्चाबाबु अन्सारी भन्ने वकिल अन्सारीलाई पक्राउ गरी कर्तव्य ज्यान मुद्दाअन्तर्गत थप अनुसन्धान भइरहेको डिएसपी गिरीले बताए।

गत शुक्रबार सप्तरीको तिलाठी कोइलडी गाउँपालिका–७ मंसापुरमा हनुमाननगर कंकालिनी नगरपालिका–२० का २१ वर्षीय तीर्थनारायण मण्डलको शव फेला पर्यो। चक्कु प्रहार गरी उनको हत्या गरिएको प्रहरीले जनाएको छ। त्यस्तै बारा सिम्रौनगढ नगरपालिका–६ सिम्रौनगढ बजारकी २२ वर्षीया आसमिन खातुनको हत्या आरोपमा प्रहरीले २६ वर्षीय भारतीय नागरिक राजा भन्ने अमिनुल्लाह अन्सारीलाई नियन्त्रणमा लिएको छ। गत असार १० गते राति साना सहरी तथा खानेपानी संस्था मिर्चैयाका सुरक्षागार्ड ६० वर्षीय किशोरी राय कुर्मीको धारिलो हतियार प्रहार गरी हत्या भयो। चोरी गर्ने मनसायले त्यहाँ गएका लागुऔषध सेवनकर्ताले कुर्मीको हत्या गरेको प्रहरी अनुसन्धानबाट खुलेको छ।  

डेढ महिनापछि प्रहरीले कुर्मीको हत्यामा संलग्न रहेको आरोपमा मिर्चैया नगरपालिका–७ का २२ वर्षीय रविन सदा र मिर्चैया–५ का २० वर्षीय दीपक सदालाई पक्राउ गरेको छ। उनीहरू लागुऔषध सेवनकर्ता रहेको खुलेको छ। कार्यालयभित्र रहेको ल्यापटप चोरी गर्ने क्रममा सुरक्षागार्ड रायले प्रतिकार गर्दा सदाद्वयले चक्कु प्रहार गरी हत्या गरेको सिरहा प्रहरीले जनाएको छ। असार २९ गते रौतहटको देवाही गोनाही नगरपालिका ६ कर्कच कर्मैयाका ३५ वर्षीय जगरनाथ साहको राति घरमै हत्या भयो। यी घटनाले मधेस प्रदेशमा अपराधको डरलाग्दो चित्रण गर्छ। मधेस प्रदेश प्रहरी कार्यालयको तथ्यांकअनुसार आर्थिक वर्ष २०७९-०८० मा मधेस प्रदेशमा १०६ जनाको हत्या भएको छ। सबैभन्दा बढी हत्याका घटना रौतहट जिल्लामा भएका छन्। यस अवधिमा रौतहटमा १८ जनाको हत्या भएको छ। धनुषा र पर्सामा १५-१५ जनाको हत्या भएको छ। बारामा १३, सर्लाहीमा १३, महोत्तरीमा १२, सिरहामा ११ र सप्तरीमा ९ जनाको हत्या भएको तथ्यांक छ। आर्थिक वर्ष २०७८-०७९ मा मधेस प्रदेशमा ९६ जनाको हत्या भएको थियो। उक्त आवमा धनुषा र सिरहामा १८-१८, पर्सामा ११, बारामा ७, रौतहटमा ९, सर्लाहीमा ११, महोत्तरीमा ९ र सप्तरीमा १३ जना मारिएका थिए। मधेस प्रदेशमा आर्थिक वर्ष ०७७-७८ मा ९३ जनाको हत्या भएको थियो। त्यस अवधिमा पर्सा र रौतहटमा १४-१४, बारामा १०, सर्लाहीमा ११, महोत्तरीमा ११, धनुषामा १२, सप्तरीमा ९ र सिरहामा १२ जना मारिएका थिए। आर्थिक वर्ष ०७६-०७७ मा मधेस प्रदेशमा ९० जनाको हत्या भएको थियो। उक्त आवमा धनुषामा १८, पर्सामा १५, बारामा ५, रौतहटमा ७, सर्लाहीमा १०, महोत्तरीमा ११, सिरहामा १२ र सप्तरीमा १२ जना मारिएका थिए।

अवैध हतियारको बिगबिगी

मधेस प्रदेशमा अवैध साना हतियारको बिगबिगी भने बढेको पाइएको छ। अवैध हतियारको प्रयोगबाट घटनामा समेत बढोत्तरी भएको छ। ससाना विवादमा पनि गोली प्रहार गर्ने घटना मधेसमा नौलो होइन। अवैध हतियारको बिगबिगीका कारण पनि मधेस प्रदेशमा हत्याहिंसाका घटना बढिरहेको जानकार बताउँछन्। हत्याका घटनामा स्वचालित पेस्तोल प्रयोग भएको अनुसन्धानबाट देखिएको छ। मधेस प्रदेशका आठै जिल्ला भारतसँग जोडिएका छन्। खुला सिमानाका कारण आपराधिक कर्म गर्नेलाई यताबाट उता र उताबाट यता आएर लुक्न सहज भएको प्रहरी अधिकारी बताउँछन्। साना हतियार पनि भारतबाट भिœयाएको पाइएको छ। मधेस प्रदेश प्रहरी कार्यालय जनकपुरका अनुसार प्रदेशका आठ जिल्लामा आर्थिक वर्ष ०७९-०८० मा १९ जनाको गोली प्रहार गरी हत्या भएको छ।  

साउन १३ गते सिरहाको सुखिपुर नगरपालिका–४ गोडिअर्वाबाट सिरहा औरही गाउँपालिक बननियाका २४ वर्षीय कमरुदिन राइन र १८ वर्षीय चन्दनकुमार सदाय पक्राउ परे। शंकास्पद रूपमा हिँडिरहेका राइन र सदायको बाइक खानलतासी गर्दा सेमी स्वचालित पेस्तोल एक थान र ५ राउन्ड गोली बरामद भयो।  

गत असार १९ गते महोत्तरीको रामगोपालपुरबाट प्रहरीले ३८ वर्षीय कौशल मण्डलललाई पेस्तोल र गोलीसहित पक्राउ गर्यो। उनले सामान्य विवादम सोही नगरपालिका–१ बसबिट्टी बजारका ४४ वर्षीय श्रवण यादवको गोली हानी हत्या गरेका थिए।

प्रहरीले सानाठूला हतियार बरामद गरिरहे पनि मधेसमा आपराधिक क्रियाकलाप रोकिएका छैनन्। मधेस प्रदेश प्रहरी कार्यालयका प्रवक्ता एसपी महेन्द्रकुमार श्रेष्ठकाअनुसार अवैध साना हतियार नियन्त्रणमा नेपाल–भारत खुला सीमा मुख्य चुनौती हो। नेपाली–भारतीय अपराधीहरूबीच रहेको सञ्जालका कारण साना हतियार नियन्त्रण सीमावर्ती जिल्लाहरूमा चुनौतीपूर्ण बनेको छ। लुकाउन सजिलो भएकाले साना अवैध हतियार नियन्त्रण उति सजिलो नभएको प्रहरी अधिकारी बताउँछन्। अर्को समस्या घरघरमा साना अवैध हतियार खानतलास गर्न कानुनी झन्झट पनि छ। सशस्त्र समूहको बिगबिगीका बेला मधेसका जिल्लामा काम गरिसकेका एक प्रहरी अधिकारी भन्छन्, ‘अहिले त्यति भयावह अवस्था छैन तर देशमा राजनीतिक र आर्थिक तरलताका कारण चुनौती पनि कम छैन।’ छिटफुट हतियार पक्राउ परे पनि आपराधिक सूचना संकलन संयन्त्र अपेक्षित सबल नहुँदा पूर्ण सफलता पाउन कठिनाइ भइरहेको प्रहरीको भनाइ छ।

अपराधबाट आजित

माओवादीको सशस्त्र युद्धका बेलादेखि मधेसमा अपराध बढ्न थालेको हो। माओवादीको सशस्त्र युद्ध छाडेर शान्ति प्रक्रियामा आएपछि एक हदसम्म देशमा शान्ति फैलियो। तर मधेसमा अरू नै सशस्त्र समूह जन्मिए। अपराधका घटनाले मधेस आक्रान्त बन्न पुग्यो। तर समयान्तरमा सशस्त्र समूहको गतिविधि मधेसमा निस्तेजप्रायः भएको छ तर अवैध हतियारको त्रास भने घटेको छैन। अपराधका घटनाबाट आक्रान्त मधेस राज्यसँग सुरक्षित र शान्त मधेसका लागि गुहार माग्दैछ।

प्रकाशित: १ भाद्र २०८० ००:५६ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App