१६ वैशाख २०८१ आइतबार
image/svg+xml
समाज

कागबेनी बाढीः बिस्थापितहरु आफन्तकहाँ, मजदुरलाई बढी समस्या

बाढीको चपेटामा परेको मुस्ताङको कागबेनी बजार। तस्बिरः नागरिक

गत आइतबार बाढीको चपेटामा परेका मुस्ताङको वारागुँ मुक्तिक्षेत्र गाउँपालिका–४ कागबेनीका बासिन्दा अझै घर फर्किन सकेका छैनन्। बाढीको चपेटामा परेपछि बिस्थापित भएका गाउँले आफन्तकहाँ बसेका छन्। कामका लागि गएका मजदुरहरु स्थानीयको शरणमा छन्।  

मुस्ताङको वारागुँ मुक्तिक्षेत्र गाउँपालिका–४को कागबेनी बजार गत आइतबार झोङखोलाको बाढीको चपेटामा परेको थियो। बाढीले घर, होटल, मन्दिर, आश्रम, विद्यालय तथा प्रहरी चौकी गरी ३१ वटा संरचना बगाएको थियो। गाउँपालिकाका प्रवक्ता प्रमेश गुरुङका अनुसार बिस्थापित गाउँलेहरु केही आफन्तकहाँ बसेका छन्। कतिपय बासिन्दा पुख्र्याैली घरमा फर्केका छन। बाहिरी जिल्लाबाट गएर कामका लागि बसेका मजदुरहरु बढी मर्कामा परेको उनले बताए। ती मजदुर पनि अहिले स्थानीयकै घरमा बसेका छन्।  

‘पुख्र्यौली घर छाडेर कागबेनीमा झरेका गाउँले अहिले बाढीको चपेटामा परेपछि पुरानै घरमा फर्केका पनि छन,’ गुरुङले भने, ‘पूख्र्याैली घर नहुनेहरु कतिपय आफन्तको घरमा बसेका छन। कामको खोजीका लागि पुगेका मजदुरलाई बढी समस्या छ।’

 कामको खोजीका लागि गएका बाहिरी जिल्लाका कामदारलाई सदरमुकाम जोमसोमस्थित सामुदायिक भवनमा सार्ने भनिएपनि अहिले कागबेनी क्षेत्रकै गाउँलेको घरमा बसिरहेको उनले बताए। हिमाली जिल्ला भएकोले त्यहाँको निर्माण संरचनामा काम गर्न बाहिरी जिल्लाबाट मजदुरहरु जाने गर्छन। ती मजदुर बढी समस्यामा परेको उनले बताए।  

बाढीको चपेटामा परेको कागेबनीमा अहिले विद्युत सेवा नियमित भईसकेको उनले बताए। खानेपानी भने अझै सबै घरमा पु¥याउन नसकिएको प्रवक्ता गुरुङले जानकारी दिए। ‘विजुली सुचारु छ। तर, खानेपानी समस्या भएको छ। सबैको घरमा अझै खानेपानी पुगिसकेको छैन,’ उनले भने।  

अपर मुस्ताङ पूर्णतया बिच्छेद  

मुस्ताङ सदरमुकाम जोमसोमलाई उपल्लो क्षेत्र लोमान्थाङ जोड्ने मोटरेवल पुल गत आइतबारको बाढीले बगाएपछि अहिले उपल्लो मुस्ताङसँगको यातायात सञ्जाल पूर्ण रुपमा बिच्छेद भएको छ। कागबेनी नजिकै रहेको पुल गत आइतबारको बाढीले बगाएको थियो। २५ मिटर लामो पक्कि पुल बगेपछि अहिले सवारी जान सकेका छैनन। पानीको वहाव बढेको बेला सवारी चल्न सक्ने अवस्था छैन। वहाव कम भएको बेला जसोतसो मोटरसाइकल तारेपनि अरु सवारी आउजाउ गर्न नसकेको प्रवक्ता गुरुङले बताए । खोलाको गेग्रान सम्याएर गाडी चलाउने प्रयास भईरहेको उनले बताए।

झोङखोला बाहेक लोमान्थाङ उक्लिँदा तर्नुपर्ने चराङखोलाको अर्काे पुल पनि बाढीमा बगेको छ। लो–घेकर दामोदरकुण्ड गाउँपालिका अध्यक्ष लोप्साङ छोम्पेल विष्टका अनुसार चराङ पुल लो–घेकर दामोदरकुण्ड गाउँपालिका–१ मा पर्छ। चराङ खोलामाथिको पुल पनि आइतबार नै बगेको उनले विष्टले बताए। उनका अनुसार यो अस्थायी पुल हो। गाउँपालिकाले बनाएको यो पुल करिब १० मिटर लामो भएपनि अहिले बगेपछि आउजाउ रोकिएको छ।  

कालिगण्डकी करिडोरले त्यही नजिकै ९० मिटर लामो पक्कि पुल बनाउन थालेपनि कामचलाउ गर्नका लागि गाउँपालिकाले अस्थायी पुल बनाएर सवारी चलाउँदै आएको थियो। ‘काठेपुल हो। त्यही भएर १० मिटर लामो मात्र थियो। त्यही पुल पनि बग्यो,’ विष्टले भने। कालिगण्डकी करिडोर आयोजनाले बनाउने भनिएको पक्कि पुल बेलैमा निर्माण सम्पन्न नभएपनि गाउँपालिकाले अस्थायी पुल बनाएर सवारी वारपार गर्न मिल्ने बनाएको थियो।  

‘कालिगण्डकी करिडोर आयोजनाले ९० मिटरको पक्कि पुल त बनाउँदै छ। तर, त्यो पुल २०७६ भित्रै तयार भइसक्नुपर्ने भएपनि अहिले पनि सकिएको छैन,’ उनले भने, ‘त्यही भएर गाउँपालिकाले कामचलाउ पुल बनाएको थियो, त्यही पुल पनि बग्यो।’ कालिगण्डकी करिडोरले निर्माण गर्ने भनिएको पुल कहिले सकिने भन्ने यकिन नै नभएको उनले बताए।  

‘पुल बन्न लागेको देखिन्छ। तर, तयार भएको छैन। चारवर्ष अघि नै तयार हुनुपर्ने पुल हो। बेलैमा नसकिएपनि म्याद थप्दै बनाउँदै लगिएको छ,’ अध्यक्ष विष्टले भने, ‘पक्कि पुलका काम गरेको मात्र देखिएको छ। तर, पुरा भएको छैन।’ उनले चराङ पुल बगेपछि कोरला नाकासम्म पुग्ने सडक पूर्ण रुपमा बिस्थापित भएको उनले बताए। उनका अनुसार चराङकाट लोमान्थाङ २० किलोमिटर टाढा पर्छ।  

प्रकाशित: ३२ श्रावण २०८० ११:१७ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App