२२ असार २०८१ शनिबार
image/svg+xml
समाज

अपत्यारिलो बाढीसँगै बगेको कागबेनी

हिमालपारीको जिल्ला मुस्ताङ, माटोको सहर। लेतेबाटै शुरु हुन्छ अनुपम प्रकृतिको भूवनोटको जिल्ला। जोमसोम हुदैं कागबेनीबाट पुल तरेपछि लोमान्थाङको यात्रा तय हुन्छ। कागवेनीबाट उक्लिएपछि पवित्र धार्मिकस्थल मुक्तिनाथ पुगिन्छ। प्रकृतिको अनुपम ठाउँ मुस्ताङलाई अहिले प्रकृतिले नै रुवाएको छ।  

मुस्ताङ आफैंमा ‘स्याडो रेन जोन’ हो। तर पछिल्लो समय मुस्ताङको परिचय फेरिदैं गएको छ। जलवायु परिवर्तनको असरले मुस्ताङ अहिले ‘रेन जोन’ भएको छ। पानी पर्न थालेपछि माटोको सहर विस्तारै कंक्रिटमा बदलिन शुरु भईसकेको छ। घर चुहिन थालेपछि जस्ता पाताले छाना छाउन शुरु भएको एकदशक जति भएको छ। त्यसभन्दा अघि अधिकांश घर माटोले छाईएको थियो। 

प्राकृतिक भूवनोटको अनुपम उपहार मुस्ताङ यतिबेला बाढीको चपेटामा छ। आइतबार मात्र आएको लेदो सहितको भेलबाढीले बगाउँदा वारागुँ मुक्तिक्षेत्र गाउँपालिका–४को कागबेनी तहसनहस भएको छ। मुक्तिनाथ मन्दिरपट्टिबाट झरेको झोङखोलाको बाढीले बगाउँदा कागबेनीमा ठूलो भौतिक क्षती पुर्याएको छ। कागबेनी आफै पनि धार्मिक क्षेत्र हो, जहाँ पितृलाई तर्पण दिने गरिन्छ।

तीनदिनयता लगातार परेको पानीले खोलामा बाढी आएको थियो। बाढीले घर, होटल, मन्दिर, आश्रम, विद्यालय तथा प्रहरी चौकी गरी ३१ वटा संरचना बगाएको मुस्ताङका प्रमुख जिल्ला अधिकारी अनुप केसीले जानकारी दिए। उनका अनुसार पानी पर्नेक्रम अझै रोकिएको छैन्।  

उनका अनुसार भर्खरै सम्पन्न भएको पक्की पुल समेत खोलामा आएको बाढीले बगाएको छ। झोङखोला तर्दै उपल्लो मुस्ताङ जान बनाईएको पुल भत्किएपछि आवातजावतमा समस्या उत्पन्न भएको छ। पुल गतवर्षसम्म निर्माणाधिन अवस्थामा थियो। पुल निर्माण सम्पन्न भएको केही महिना मात्रै भएको छ।  

बाढीले भौतिक क्षती बनाएपनि मानवीय क्षति भने नभएको प्रमुख जिल्ला अधिकारी केसीले बताए। उनका अनुसार बाढीले झोङखोला र कालीगण्डकी नदी तटमा रहेको घर तथा होटल अझै जोखिमपूर्ण अवस्थामा रहेका छन। उनले निरन्तर पानी परेकै कारण दशवटा घरहरु अझै जोखिममा रहेको बताए। घरभित्र बाढीको हिलो पसेको छ। घरको एकतलासम्म हिलो पसेको अवस्था छ।  

गाउँपालिकाका प्रवक्ता प्रमेश गुरुङका अनुसार आइतबार बेलुकी ५ बजेतिर झोङखोला बढेको थियो। सामान्य बढेको खोलाले यो आकारको क्षति गर्ला भनेर कसैले अनुमान गरेका थिएनन। तर,एकाएक बेलुकी सातबजेतिर बस्ती नै सखाप पार्नेगरि बाढी आएको उनले बताए। ‘बेलुकी ५ बजेतिरै खोलाले बाढीको संकेत त दिएको थियो, तर, यो आकारमा बाढी आउला भनेर कसैले अनुमान गरेका थिएनन,’ गुरुङले भने, ‘तर, बेलकी सातबजेतिर सोहोर्दै आएको बाढीले एकाएक क्षति गर्यो।’

उनका अनुसार झोङखोलाको मुहान कागबेनीबाट करिब ८ किलोमिटर माथि झोङमा पर्छ। झोङ गाउँपालिकाको २ नम्बर वडामा पर्छ। झोङमा बस्ती भएपनि बस्ती खोला भन्दा निकै नै माथि छन। खोला किनारमा बस्ती नभएकोले पनि हत्तपत्ति थाहा नपाएको उनले बताए। ‘अघिल्ला वर्ष पनि यो खोलामा बेलाबेला बाढी आउँथ्यो। तर, योपटक भने अधिक नै आयो,’ उनले भने। उनका अनुसार कागबेनीमा रहेका घरहरु खोलाको निकै नै नजिक थिए। त्यसले गर्दा पनि बाढी पस्न सक्यो।’  

प्रवक्ता गुरुङका अनुसार खोलाबाट १० मिटरभित्रै घरहरु थिए। तिनै घरलाई क्षति गर्नेगरि अहिले बाढी आएको उनले बताए। ‘खोला किनारमा भएपनि व्यक्तिगत सम्पत्तिमा घर बनाएका थिए। तर, अहिले बाढीले क्षति ग¥यो,’उनले भने। स्थानीयका अनुसार खोलाको सिरान क्षेत्रमा आइतबार अलि नै बढी वर्षा भएको थियो। वर्षापछि बगेर आएको लेदो रोकिँदै र बग्दै गर्दा क्षति भएको उनले बताए। ‘लेदो एकैपटक बग्दैन, रोकिँदै बग्दै गर्दा भेलबाढी आएको हुनसक्छ,’ उनले भने, ‘अपत्यारिले लेदोले सखाप पा¥यो। झन्डै मानवीय क्षति हुन पाएन। धेरै नै रातिको समयमा बाढी आएको भए थप क्षति हुनसक्थ्यो।’

प्रकाशित: २९ श्रावण २०८० ०७:५८ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App