२० असार २०८१ बिहीबार
image/svg+xml
समाज

बराहक्षेत्रमा जङ्गली हात्ती धपाउन रातभर जागै बस्छन् स्थानीय

जङ्गली हात्तीले क्षती गरेको बराहक्षेत्र वडा नं. २ को एक घर। तस्बिर: नागरिक

जङ्गली हात्तीको समूहले सुनसरी बराहक्षेत्र वडा नं. २ पुर्नबास डाडा टोलका सुरेश परियारको सामान्य फुसको घर भत्काई दिएको छ। हात्तीले घर भत्काएपछि सुरेशको परिवारलाई बर्खाको समयमा निकै सकस भएको छ।

सुरेशको घर पैसा नहुँदा फेरि बनाउन सकेका छैनन्। घरमा भएको चामल पनि हात्तीले नष्ट गरि दिएको छ। चामल त साहुसँग ऋण गरेर किनेर ल्याई दैनिक गुजारा टादैछन्। तर, घर नहुँदा त्रिपाल हालेर बस्नु परेको छ।

‘हात्तीको त्रासले गर्दा रातभरी निन्द्रा लाग्दैन,’ उनले भने, ‘राति भएपछि जागै बसेन भने त जे पनि हुन सक्छ।’ उनका अनुसार हात्ती धपाउन गाउँले रातभर जागै बसेर निगरानी गर्ने गर्छन्।

बराहक्षेत्र वडा नं. २ को पुर्नबाससँगै रेलवे लाइन, जब्दी, तोरी बारी, फोक्लेन टाप्पु, चौरी बारी, देवी थान क्षेत्रमा हात्तीले सर्वसाधारणका घरमा क्षती पुर्‍याउँदै आएको वडा नं. २ का वडाध्यक्ष होमप्रसाद गौतमले बताए।

यसरी जङ्गली हात्ती मानव वस्तीमा प्रवेश गरि विध्वंस मच्चाएको दुई साता बिति सकेको छ। चतरा शव वन डिभिजन कार्यालयका अधिकृत रेन्जर शिशुराज झाका अनुसार हात्तीले विध्वंस मच्चाउनुका साथै धानबाली पनि सखाप पारेको छ। ‘अहिलेसम्म धन्न मानवीय क्षती चाँहि भएको छैन। सर्वसाधारणका घर भत्काउने र धान वाली सखाप पार्ने क्रम त हदै बढेको छ।’

विशषेगरी, जङ्गल क्षेत्र आसपास कतिपय परिवारले घरेलु रक्सी बनाउने भएकाले गर्दा त्यसको वासनाले गर्दा पनि बढी मात्रमा हात्ती वस्तीमा प्रवेश गर्ने गरेको अनुभव रेन्जर झाले बताए। ‘जङ्गल छेउछाउका बासीन्दा धेरैले घरेलु रक्सी बनाएर विक्री गर्ने गरेकाले गर्दा त्यसको बासनाले गर्दा बढी नै वस्तीमा प्रवेश गर्ने गरेको पाइयो,’ उनले भने।

यतिबेला बराहक्षेत्रका चारवटा वडामा जङ्गली हात्तीले विध्वंस मच्चाउँदै आएको छ। यसबाट वडा नं. २, ३, ५ र ७ वडाका बासीन्दा सास्ती बेर्होदै आएका छन्। यी चारवटै वडा चारकोसे जङ्गल छेउछाउ पर्छन्।

भारतको पश्चिम वंगाल हुँदै झापाबाट चारकोसे जङगल हुँदै सुनसरीको बराहक्षेत्र प्रवेश गरेका हात्ती छावासहित २८ वटा रहेका छन्। यीमध्ये कोशी टप्पु क्षेत्रमा रहेका रैथाने चारवटा र पर्साबाट आएका दुईवटा बाहेक अरु भारतकै पश्चिम वंगालबाट आएको हात्ती विज्ञको दावी छ। ‘अहिले बराहक्षेत्रमा देखिएका हात्ती चार–पाँच महिना लगाएर आइ पुगेको हुनुपर्छ,’ हात्ती विज्ञ पर्सा राष्ट्रिय निकुञ्जमा कार्यरत अशोक रामले भने, ‘ठूलो ऐरिया छ, यही हात्ती तत्कालै यो स्थान छाडेर अन्यत्र जाने अवस्था छैन्।’

बराहक्षेत्रमा अहिले हात्ती रोकिएर बस्नुमा सप्तकोशीमा पानीको बहाव बढी हुनु नै मुख्य कारण रहेको रामले बताए। ‘यदि सप्तकोशीमा पानी कम हुन्थ्यो भने हात्ती कोशी टप्पु क्षेत्रमा केन्द्रित हुन सक्थे वा कोशी पार गरेर पश्चिम लाग्न सक्थे,’ उनले भने।

हात्तीले विध्वंस मच्चाउने क्रम बढीरहेका बेला बराहक्षेत्र नगरपालिकाले हात्तीबाट प्रभावित बासीन्दालाई जङ्गलमा घाँस–दाउँरा जान रोक लगाएको छ। नगरपालिकाले हात्तीबाट प्रभावितलाई राहतको प्याकेज उपलब्ध गराउने र  हात्तीलाई वस्तीमा पस्न नदिन सुरक्षा निकायसँग सहकार्य र सचेतनाका कार्यक्रम गर्ने निर्णय गरेको नगरका प्रेस सल्लाहकार सङ्गम विष्टले बताए।

नगरपालिकाको निर्णयसँग स्थानीय बासीन्दासँग सहकार्य गरेर रात्री गस्ती पनि गर्न थालिएको छ। बराहक्षेत्र सव डिभिजन वन कार्यालयका वन अधिकृत झाका अनुसार रात्रीको समयमा स्थानीयसँग मिलेर गस्ती गरेर हात्ती खेदाउने गरिएको छ। यसका लागि नगरपालिका र वन कार्यालयले स्थानीयलाई सहयोग गरेको छ।

नेपालमा कुल दुई सयदेखि ३३० वटासम्म जङ्गली हात्ती रहेका छन्। यीमध्ये चारकोसे जङ्गल क्षेत्र आसपास हिडडुल गर्ने हात्तीको सङ्ख्या सयदेखि १५० सम्म रहेको हात्ती विज्ञ रामले बताए। उनका अनुसार अहिले पश्चिम वंगालबाट झापा हुँदै बराहक्षेत्रमा आएका हात्तीबाहेक झापामा अरु पनि छन्। झापामा १२ देखि १५ वटा हात्ती रहेको उनको दावी छ।  

प्रकाशित: २८ श्रावण २०८० १०:४९ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App