१५ वैशाख २०८१ शनिबार
image/svg+xml
समाज

दिगो विकासका लागि युवा पदयात्रा

दिगो विकास लक्ष्य प्राप्तिलागि अन्तर्राष्ट्रिय युवा दिवसका अवसरमा आज राजधानीमा युवा पदयात्रा सम्पन्न भएको छ।फोर एच नेपालले आयोजना गरेको युवा पदयात्रा कार्यक्रममा युवा तथा खेलकुद मन्त्री डिगबहादुर लिम्बु सहित विभिन्न राजनीतिक दलका सांसदको सहभागिता रहेको थियो।

कार्यक्रममा युवा तथा खेलकुद मन्त्री डिगबहादुर लिम्बुले दिगो विकासका लागि युवाको महत्त्वपूर्ण भूमिका हुने बताए। उनले थपे, ‘युवाहरूको साथमा रहेर सँगसँगै अगाडि बढ्न चाहन्छौँ। अबको देशको नेतृत्व युवाहरूको हातमा रहेको छ।’ सरकारले देशभित्रै रोजगारीको सिर्जना गरेर युवालाई देश विकासमा लगाउने पनि उनले बताए।

युवाहरूका समस्या सम्बोधन गर्न आफू प्रतिबद्ध रहेको जनाउँदै मन्त्री लिम्बुले भने, ‘सबै मिलेर मात्रै देश विकास हुन्छ। मुलुकमा धेरै राजनीतिक परिवर्तन भएको बताए।

युवा नीति परिमार्जनका लागि गृहकार्य भइरहेको बताउँदै मन्त्री लिम्बुले भने, ‘युवा नीति परिमार्जन गर्ने विषयमा अगाडि बढिरहेका छौँ। युवालाई अगाडि बढाउने कार्यक्रमहरू पनि सुरु भइसकेका छन्। त्यसमा केही थप्न आवश्यक भए सुझाव दिन पनि आग्रह गर्न चाहन्छु।’

युवा पदयात्राको समापन कार्यक्रममा सात राजनीति दलका सांसदहरूले दिगो विकास लक्ष्य प्राप्तिका लागि ब्यानरमा हस्ताक्षर गरेका थिए। कार्यक्रममा ऐक्यबद्धता जनाउँदै उनीहरुले देशमा युवाका लागि अवसर सृजना नगराइँदा पलायन हुन बाध्य भएको बताए।

नेकपा एकिकृत समाजवादीका सांसद भानुभक्त जोशीले आफू सांसद भएकाले युवाका मुद्दाहरू संसदमा उठाउने र दिगो विकासका लागि आफू प्रतिबद्ध रहेको जनाए। 

नेकपा एमालेका सांसद सूर्यप्रसाद ढकालले अबको युग युवाको भएकाले युवामा थप लगानी गर्नु पर्ने कुरामा जोड दिए। नेकपा माओवादी केन्द्रकी सांसद उर्मिला माझीले वर्तमान सरकारले युवाका पक्षमा उल्लेख्य काम गरिरहेको भन्दै सरकारको प्रशंसा गरिन्।

जनता समाजवादी पार्टी, नेपालकी सांसद रेखा यादवले देश निर्माणमा युवाको महत्त्वपूर्ण भूमिका भएकाले उनीहरूलाई राज्यको मूलधारमा ल्याउनु पर्ने बताइन्।

कार्यक्रममा फोर एच एसिया तथा नेपालका अध्यक्ष लोकराज अवस्थीले दिगो विकास लक्ष्य पूरा गर्नका लागि युवाहरूले नेतृत्वदायी भूमिका निर्वाह गर्नुपर्नेमा जोड दिए। 

प्रकाशित: २६ श्रावण २०८० १२:१० शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App