२३ भाद्र २०८१ आइतबार
image/svg+xml
समाज

भगवान पुकार्दै गर्नुपर्छ कर्णालीको यात्रा

हिलाम्मे बनेको कर्णाली राजमार्ग,गाडी धकेलेर पार लगाउँदै यात्रु। तस्बिर: गोल्डेन बुढा जुम्ला ।

एक त कर्णालीको भूगोल नै कठिन छ। अर्कोतिर बनेका सडकको हालत उस्तै छ। वर्षामा पहिरो, हिउँदमा धुलो, साँघुरा सडक, अत्याधिक मोड, ठेकेदारले पीच गर्छन्, एक हप्ता दिन पनि टिक्दैन। ७ घण्टादेखि १० घण्टाकाे पहाडी बाटो कहिलेकाहीँ यो दूरी पार गर्न ३ देखि ४ दिनसम्म समय लाग्छ। सधैंभरि दुस्ख कष्टकर छ, कर्णालीको सडक यात्रा। कतिपय सडकमा गाडीले मान्छे होइन, मान्छेले गाडी बोक्ने अवस्था छ।  

जुम्लाको पातारासी गाउँपालिका-५ माथि लोर्पाकी पुनी बुढा कर्णाली राजमार्गको यात्रा बर्सेनि कष्टकर बन्ने गरेको बताउँछिन्। सुर्खेतबाट कालीकोट १ सय ३२  किलोमिटर सडकमा यात्रा गर्न तीन दिनसम्म लाग्ने उनको भनाइ छ। बुढा भन्छिन्, 'ठाउँ–ठाउँमा पहिरोको समस्या छ। साँघुरो सडकमा एक गाडीले अर्को गाडीलाई साइड दिन कठिन हुन्छ। हिलाम्मे सडकमा मालबाहक गाडीहरू फस्दा डोजर लगाएर निकाल्नुपर्छ। यो राजमार्गमा यात्रा गर्दा गन्तव्यमा पुग्नै मुस्किल हुन्छ।'

जुम्ला चन्दनाथ नगरपालिका-५ तलिवाडाकी सुस्मिता कठायतले कर्णाली राजमार्गको स्तरोन्नतिका लागि कसैको ध्यान नपुगेको बताइन्। 'हाम्रा नेताहरू यही कर्णाली राजमार्गमा हिँड्छन्। तर, सडकको बेहाल देख्दैनन्, उनले भनिन्, 'सरकारले ल्याउने हरेक वर्षको बजेटमा कर्णाली राजमार्गको स्तरोन्नति गरिनेछ भनिन्छ। तर, राजमार्गको अवस्था सधै उस्तै देखिन्छ, कहिल्यै स्तरोन्नति हुँदैन।'

यता प्रदेश प्रहरी कार्यालयका अनुसार कर्णाली राजमार्गको दहिखोलादेखि जुम्लासम्म ४३ ठाउँमा बर्सेनि पहिरो जान्छ। कालीकोट र दैलेखको सिमाना दहिखोलादेखि जुम्लासम्म दहिखोला, गगने खोला, काले खोला, एसमोड, जिते बजार, शेरीघाट, मेयर खोला, सुनार खोला, ताडी, गल्ली, सिम्लेगाड, मोल्फा, पिली, शेराबाडा, बाली, राचुली, भिक्म, रारालीलगायतका ४३ ठाउँहरूमा बर्सेनि पहिरो जाने समस्या छ।

सुर्खेतबाट साविकको कर्णाली जोड्ने राजमार्ग बनेको दुई दशक बढी भयो। कर्णाली राजमार्गले चिनिने सुर्खेत–जुम्ला सडक खण्डअन्तर्गत सुर्खेतको बांगेसिमलबाट जुम्ला जुगाड खोलासम्मको लम्बाइ २ सय ३२ किलोमिटर छ। कर्णाली राजमार्ग मात्र होइन, कर्णालीका दसवटै जिल्ला जोड्ने सबै राजमार्गको अवस्था नाजुक छ। हरेक राजमार्गमा यात्रा गर्दा यात्रुलाई गन्तव्यमा पुग्नै मुस्किल पर्ने गरेको छ।

कर्णालीमा बर्सेनि सवारी दुर्घटनाबाट सयौं नागरिकको ज्यान जाने गरेको छ। प्रदेश ट्राफिक प्रहरी कार्यालय सुर्खेतको तथ्यांक अनुसार २०७० सालदेखि कर्णालीमा १ हजार ८ सय २१ सडक दुर्घटना भएका छन्। यी दुर्घटनामा ज्यान गुमाउनेको संख्या ९ सय ९१ छ। यी दुर्घटनामा परी १ हजार ५ सय २७ कर्णालीवासी गम्भीर घाइते भएका छन्।

प्रकाशित: २५ श्रावण २०८० ०६:३२ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App