विश्व सम्पदा सूचीमा सूचीकृतका लागि प्रस्तावित तिलौराकोट अवलोकनका लागि आउने न्यून पर्यटक मात्र नजिकै रहेको कपिलवस्तु संग्रहालय जाने गरेका छन्। ४ वर्षअघि कपिलवस्तु संग्रहालय हाताभित्र नयाँ भवन निर्माण गरी सञ्चालनमा ल्याए पनि त्यहाँ तिलौराकोट घुम्न आउने पर्यटकमध्ये ७५ प्रतिशत जाँदैनन्।
गत वर्ष तिलौराकोट दरबारमा ४० हजारको हाराहारीमा पर्यटकले अवलोकन गरेको तिलौराकोेट सम्पर्क कार्यालयका प्रमुख माधव आचार्यले बताए। गत आर्थिक वर्ष २०७९/०८० मा संग्रहालयमा स्वदेशी, भारतीय र विदेशी गरी १० हजार ४७८ जनाले मात्र अवलोकन गरेको संग्रहालयकी प्रमुख शान्ति शेर्मा लिम्बुले बताइन्। सन् २०२२ मा ६ हजार ७२९ र सन् २०२१ मा ६ हजार ९२८ जनाले संग्रहालयको अवलोकन गरेका थिए। प्राचीन कपिलवस्तुस्थित बुद्धको क्रीडास्थलका रूपमा मानिएको तिलौराकोटमा बर्सेनि ४५ देखि ५० हजार पर्यटकले भ्रमण गर्ने गर्छन्, तर छेउमै रहेको कपिलवस्तु संग्रहालयमा भने न्यून संख्यामा मात्र पर्यटक जाने गरेका छन्। नेपाली ४ हजार ५७५, विद्यार्थी ४ हजार ४९४, सार्क देशका १ हजार, विदेशी ४ सय ९ जनाले अवलोकन गरेको कपिलवस्तु संग्रहालयको तथ्यांक छ।
प्रचारप्रसार र पूर्वाधार अभावले कपिलवस्तु संग्रहालय ओझेलमा पर्दै आएको स्थानीय बताउँछन्। ५ दशकअघि स्थापना भएको संग्रहालयबारे स्वदेश तथा विदेशबाट आउने पर्यटकलाई जानकारी नहुँदा संग्रहालय ओझेलमा पार्दै आएको हो। तिलौराकोटमा आएका पर्यटकमध्ये न्यून मात्र आउने गरेको संग्रहालयकी प्रमुख शान्ति शेर्मा लिम्बुले बताइन्। अधिकांश विदेशी पर्यटक भारत हुँदै रूपन्देहीको बेलैया नाकाबाट लुम्बिनी हँुदै सिधा तिलौराकोट आउने गरेकाले त्यसको प्रत्यक्ष असर संग्रहालयलाई परेको उनले बताए। ‘भारतीय गाडी र पथप्रदर्शकले लुम्बिनी र तिलौराकोट देखाएर पर्यटक फर्काउने गरेका छन्’, संग्रहालय ओझेलमा पर्नुको मुख्य कारण खुलाउँदै उनले भने, ‘ती पर्यटकलाई लुम्बिनीबाटै नेपाली नम्बर प्लेटका गाडी र नेपाली पथ प्रदर्शकले घुमाउन पाएका भए संग्रहालयमा धेरै पर्यटक आउने थिए।’ भारतीय पथ प्रदर्शकले तिलौराकोटबाटै पर्यटक फर्काएर लैजाने गरेका छन्। ‘भारतीय पथ प्रदर्शक संग्रहालयमा पर्यटक ल्याउँदैनन्, त्यसबारे कुनै जानकारी पनि दिँदैनन्’, उनले भनिन्। संग्रहालयमै बसपार्क निर्माण गरिए संग्रहालयमा पर्यटकको आगमन बढ्ने उनले बताइन्।
तिलौराकोट सम्पर्क कार्यालयका प्रमुख माधव आचार्यले लुम्बिनी तिलौराकोटलगायतका बुद्धस्थल भ्रमणमा आउने पर्यटक भारतको बेलहिया नाकाबाट आउने गरेको बताउँछन्। आउने पर्यटकलाई भारतको पिपराहवामा रहेको नक्कली कपिलवस्तुमा पथ प्रदर्शकले जोड दिने गरेको उनले बताए। तिलौराकोटमा केही बेर मात्र देखाएर उतैबाट फर्काएर लैजाने गरिएकाले समेत पर्यटकलाई संग्रहालयका बारेमा जानकारीसमेत नभएको उनी बताउँछन्। तिलौराकोटमा भएका उत्खनन र सञ्चारमाध्यमले त्यसबारे निकालेको समाचारले संग्रहालयमा विगतको तुलनामा पर्यटकको संख्या केही भए पनि बढेको प्रमुख लिम्बुले बताइन्। ७ बिघा क्षेत्रफल रहेको संग्रहालयमा ईशापूर्व आठौं, छैटौं शताब्दीका मौर्यकालीन, तेस्रो शताब्दीको सुङ्घकालीन कुसाङकालीन समयका माटाका भाँडा, चाँदीका सिक्का तिलौराकोट र रामग्राममा उत्खननमा प्राप्त सामग्रीसमेत संग्रहालयमा छन्। गत आर्थिक वर्ष टिकट बिक्रीबाट १ लाख ९० हजार ९५५ रूपैयाँ राजस्व संकलन भएको छ।
प्रकाशित: २५ श्रावण २०८० ०१:४३ बिहीबार