२७ वैशाख २०८१ बिहीबार
image/svg+xml
समाज

शरणार्थी प्रकरण: वित्तीय अपराधमा पनि अनुसन्धान

फाइल तस्बिर

नक्कली भुटानी शरणार्थी प्रकरणका आरोपितहरूमाथि सम्पत्ति शुद्धीकरण अनुसन्धान विभाग र अख्तियार दुरुपयोग अनुसन्धान आयोगले अनुसन्धान गरिरहेका छन्। सो प्रकरणमा वित्तीय अपराध पनि भएकाले आ–आफ्नो क्षेत्राधिकारभित्र रही छानबिन गरिरहेको दुवै निकायले जनाएका छन्। अख्तियार र सम्पत्ति शुद्धीकरण विभागलाई ‘वित्तीय अपराध’को अनुसन्धान र तहकिकात गरी अभियोजन गर्ने अधिकार हुन्छ। यसकारण जिल्ला सरकारी वकिल कार्यालय काठमाडौंले वित्तीय अपराधको थप अनुसन्धानका लागि दुवै निकायलाई लिखित पत्राचार गरेको थियो।

जिल्ला सरकारी वकिल कार्यालयले जिल्ला प्रहरी परिसर काठमाडौंको अनुसन्धान प्रतिवेदनका आधारमा संगठित अपराधसहित विभिन्न पाँचवटा कसुरमा जिल्ला अदालत काठमाडौंमा मुद्दा चलाएको थियो। प्रकरणमा ३० जनाविरुद्ध अभियोजन गरेको सरकारी वकिल कार्यालयले वित्तीय अपराधको क्षेत्रको पनि अनुसन्धान जरुरी रहेको भन्दै अख्तियार र सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागलाई पत्र लेखेको थियो। सोही पत्रका आधारमा अख्तियार र सम्पत्ति शुद्धीकरणले आफ्ना तर्फको अनुसन्धान सुरु गरेको जनाएका छन्। अनुसन्धान सुरु गरे पनि दुवै निकायको प्रक्रियामा भने केही सुस्तता देखिन्छ।

शरणार्थी प्रकरणअन्तर्गत जिल्ला अदालत काठमाडौंले असार १ गते थुनछेक आदेश गरेको थियो। सोही आदेशपछि सम्पत्ति शुद्धीकरण विभागले अनुसन्धान थालेको जनाइएको छ। अनुसन्धान थालेको झन्डै दुई महिना नाघिसक्दा पनि अनुसन्धानले गति भने लिएको देखिँदैन।

विभागले अनुसन्धानका क्रममा हालसम्म चारजना अभियुक्तको बयान लिएको जनाएको छ। विभागका सूचना अधिकारी कृष्णप्रसाद मैनालीका अनुसार शरणार्थी प्रकरणका नाइके भनिएका केशव दुलाल र सानु भण्डारीसहित चारजनाको बयान लिएको हो। थप दुईजनामा जिल्ला अदालतबाट धरौटीमा छुटेका लक्ष्मी महर्जन र टंकबहादुर गुरुङ छन्। विभागले दुवैजनासँग बयान लिएर धरौटीमा छाडेको छ। महर्जनसँग ५० हजार र गुरुङसँग १ लाख ५० हजार धरौटी लिइएको विभाग स्रोतको भनाइ छ। ‘हाम्रो विभागले हेर्ने अपराध भनेको दोस्रो तहको अपराध हो। अवैध सम्पत्ति आर्जन पहिलो अपराध हो। त्यसरी आर्जन भएको सम्पत्ति वैधताको अनुसन्धान हाम्रो विभागले गर्ने हो,’ विभागका सूचना अधिकारी मैनालीले भने, ‘त्यसैले यस्तो प्राविधिक कुराको अनुसन्धान गर्दा समय लाग्छ नै।’ हाल विभागको प्रहरी टोलीले आवश्यक अनुसन्धानकमा सक्रियताका साथ काम गरिरहेको उनले बताए।

अभियुक्तसँगको बयान सँगसँगै कागजात खोजबिन गर्ने, त्यसको अध्ययन अनुसन्धान गर्ने र आरोपितको सम्पत्ति, बैंक ब्यालेन्सलगायत विवरण पनि जाँचबुझ गर्ने काम भइरहेको सूचना अधिकारी मैनालीले बताए। पहिलो चरणमा विभागले शरणार्थी प्रकरणमा पक्राउ गरेका १९ जनामाथि अनुसन्धान थालेको छ। उनीहरूको क्रमैसँग बयान लिने र सम्पत्ति विवरणको अनुसन्धान गरिने विभागले जनाएको छ। उता अख्तियारले पनि आफ्नो अनुसन्धान थालेको प्रवक्ता÷सूचना अधिकारी भोला दाहालले बताए। उनले भने, ‘अख्तियारले आफ्नो अनुसन्धान प्रक्रियाअनुसार अनुसन्धान थालिसकेको छ। निष्कर्षमा पुगेपछि सबै सार्वजनिक गर्छौं।’ अनुसन्धानमा कति समय लाग्छ भनेर अहिल्यै यकिन भन्न नसकिने उनले बताए।

नेपाली नागरिकलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने प्रलोभन पारेर संगठित गिरोहले जनही १० लाखदेखि ५० लाख रूपैयाँसम्म असुलेको खुलेको थियो। पीडितहरूको जाहेरीका आधारमा सुरुमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले ठगीसम्बन्धी कसुरमा अनुसन्धान थालेको थियो। जसमा भिआइपीहरूको संलग्नता पनि खुल्दै जाँदा अनुसन्धानका लागि थप समय चाहिने भएकाले अपराध अनुसन्धान कार्यालयले जिल्ला प्रहरी परिसरलाई जिम्मा लगाएको थियो। त्यसपछि जिल्ला प्रहरी परिसरले संगठित अपराधमा ६० दिनको समय माग गरेको थियो। अनुसन्धानमा एकपछि अर्को गर्दै पक्राउ परेका अभियुक्तहरूले आफ्नो गिरोहमा विभिन्न ‘भिआइपी’को नामसमेत पोलेका थिए।  

प्रहरीले आफ्नो अनुसन्धान प्रतिवेदनमा पूर्वउपप्रधानमन्त्री टोपबहादुर रायमाझी, पूर्वगृहमन्त्री बालकृष्ण खाण, तत्कालीन गृहसचिव टेकनारायण पाण्डे, पूर्वगृहमन्त्री रामबहादुर थापाका सुरक्षा सल्लाहकार इन्द्रजित राई, संविधानसभा सदस्य आङ्टावा शेर्पा, पूर्वगृहमन्त्री थापाका छोरा प्रतीक थापा, भुटानी शरणार्थी नेता टेकनाथ रिजालसहित ३० जनाको संलग्नता खुलेको भन्दै मुद्दा चलाउन सिफारिस गरेको थियो। अभियुक्तमध्ये १८ जना अभियोजनअगावै पक्राउ परेका थिए भने केशव तुलाधर पछि पक्राउ परेका थिए।

प्रहरीले संलग्नता देखिएको भन्दै सिफारिस गरेका ३० जना अभियुक्तविरुद्ध जिल्ला अदालत काठमाडौंमा संगठित अपराधको कसुर, ठगीको कसुर, राज्यविरुद्धको कसुर, सरकारी कागजात किर्तेको कसुर र एकीकृत कसुरमा मुद्दा चलाएको छ। जसअन्तर्गत थुनछेक बहस भइसकेको छ, जसमा जिल्ला अदालतले असार १ गते थुनछेक आदेश जारी गर्दै १६ जनालाई पुर्पक्षका लागि जेल पठाउँदा दुईजनालाई धरौटीमा छाडेको थियो। पछि पक्राउ परेर अदालतमा पेस गरिएका तुलाधरलाई पनि धरौटीमा छाडेको छ। उता पुर्पक्षका लागि जेल पठाइएका १६ जनामध्ये शरणार्थी नेता रिजालबाहेक १५ जना आदेशविरुद्ध उच्च अदालत पाटनमा पुगिसकेका छन्।

प्रकाशित: २५ श्रावण २०८० ०१:१४ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App