२३ वैशाख २०८१ आइतबार
image/svg+xml
समाज

अव्यवस्थित बसोबासले उपत्यकामा डुबान

भारी वर्षाका कारण मंगलबार डुबानमा परेको काठमाडौं नयाँ बसपार्क आसपासको क्षेत्र। (थप तस्बिर पृष्ठ ३) तस्बिर ः प्रसन गुरुङ-नागरिक

अविरल वर्षाका कारण मंगलबार बिहानैदेखि काठमाडौं उपत्यकाका विभिन्न क्षेत्र डुबानमा परे। सोमबार रातिदेखि परेको अविरल वर्षाका कारण यहाँका विभिन्न क्षेत्र डुबानमा पर्नुका साथै जताततै जलमग्न भयो। बढ्दो सहरीकरणसँगै अव्यवस्थित बसोबासका कारण डुबान बढेको विज्ञको बुझाइ छ।  

‘भौतिक संरचना निर्माण गर्दा अपनाउनुपर्ने न्यूनतम मापदण्डमा खेलाँची गर्दा डुबानका घटना बढेको अनुमान छ,’ रष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका प्रवक्ता ध्रुवबहादुर खड्का भन्छन्, ‘विकास निर्माणका कार्यमा वैज्ञानिक पद्धति अपनाउनु जरुरी छ।’  

उनले भनेजस्तै खोलाकिनारमा रहेका बस्ती तथा भिरपहिरोमा रहेका घरहरू यति बेला बढी जोखिममा परेका छन्। विगतका वर्षजस्तै यस वर्ष पनि कपन क्षेत्र नराम्ररी डुबानमा परेको छ। हरेक वर्ष डुबानको पीडा खेप्दै आएका कपनवासी मंगलबार निकै निराश देखिन्थे। ‘बाढीमा डुब्नु हाम्रो नियती नै भइसक्यो,’ रमेश विष्टले भने, ‘पानीको यो त्रासबाट हामीले कहिले मुक्ति पाउने?’  

भारी वर्षाका कारण काठमाडौं उपत्यकाका ढुंगेधारा क्षेत्र, गौरीघाट, गुह्येश्वरी, कपन, सामाखुसी, अनामनगरलगायत क्षेत्र डुबानमा परेको जिल्ला प्रहरी परिसर काठमाडौंका प्रमुख तथा प्रहरी वरिष्ठ उपरीक्षक दानबहादुर कार्कीले बताए। ‘भारी वर्षाले काठमाडौं उपत्यकाका विभिन्न क्षेत्र डुबानमा परेका छन्,’ कार्कीले भने, ‘डुबान भएका क्षेत्रमा हाम्रो प्रहरी टोली बिहानैदेखि खटिएको छ।’ प्रहरीले सचेतनाका लागि वाग्मती र मनोहरा खोलाआसपासमा नियमित गस्ती र माइकिङ गरिरहेको उनले जनाए। वर्षाका कारण सडक, घर, विद्यालय क्षेत्र जलमग्न हुँदा जनजीवन प्रभावित भएको छ। काठमाडौं उपत्यकाको बुढानीलकण्ठ, सुन्दरीजल, नगरकोटआसपासमा भारी वर्षा भएकाले उपत्यका भएर बग्ने खोला तथा नदीमा पानीको बहाव बढेको प्रहरीले जनाएको छ। विष्णुमती, धोबीखोला, मनोहरालगायतमा जलसतह बढेकाले धेरै ठाउँमा क्षति पु¥याएको छ। यस क्षेत्रमा उच्च सतर्कता अपनाउन बाढी पूर्वानुमान महाशाखाले अनुरोध गरेको छ।

बाढीकै कारण काठमाडौंको सामाखुसी क्षेत्रका बस्ती, कपनको निलो पुल र मूलपानी क्षेत्र डुबानमा परेको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ। काठमाडौंको टोखा नगरपालिका–९ स्थित दीपज्योति आवासीय विद्यालय, प्रहरी बिट दिपज्योतीलगायत र त्यसवरपरका घर जलमग्न भएका छन्।  

अविरल वर्षाका कारण कागेश्वरी मनोहरा–६ स्थित लक्ष्मीनारायण मन्दिरनजिक गाईपालन गरेर बसेका चेतनाथ धमला र उद्धव लम्सालको जस्ताको टहरोमा क्षति पुगेको छ। बिहान ४ बजेतिर घरपछाडिको पहिरो भत्केर पानी पस्दा उनीहरू बस्ने घर जोखिममा परेको हो।

त्यस्तै भक्तपुरमा सोमबार रातिदेखि परेको अविरल वर्षाकै कारण बाढीमा फसेका चार जनालाई लामो प्रयासपछि सकुशल उद्धार गरिएको छ। भक्तपुर नगरपालिका–४ स्थित हनुमन्ते खोलाछेउ रहेको राम मन्दिरमा पानी पसेपछि भएको डुबानमा फसेका भक्तपुर नगरपालिका–४ राम मन्दिर बस्ने ८२ वर्षीय भोजराज खरेल, ५५ वर्षीय दुर्गा गुरुङ ११ वर्षीया मेघना गुरुङ र ६० वर्षीया सीता राईलाई उद्धार गरिएको परिसरका सूचना अधिकृत वसन्त पाठकले बताए। जल तथा मौसम विज्ञान विभागका अनुसार हाल नेपालमा मनसुनी वायुका साथै बंगलादेशको उत्तरी भू–भागमा तथा आसपास रहेको न्यून चापीय प्रणालीको प्रभाव रहेको छ।  

मनसुनको न्यून चापीय रेखा सरदर स्थानभन्दा उत्तरतिर (नेपालनजिक) रहेकाले पानी पर्ने सम्भावना रहिरहेको विभागकी सूचना अधिकारी विभूती पोखरेलले जानकारी दिइन्। वर्षाका कारण नदीमा जलसतह बढ्ने, गेग्रान बहाव, बाढीपहिरो, भूक्षय तथा हावाहुरीजस्ता प्रकोपबाट हुनसक्ने असुविधा, जोखिम वा क्षतिबाट बच्न आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ। २४ घन्टाको अवधिमा भक्तपुरको नगरकोटमा ९८ दशमलव ५ मिलिमिटर, बुढानिलकण्ठमा ८४ दशमलव ४ तथा सुन्दरीजलमा ९२ दशमलव २ मिलिमिटर पानी मापन गरिएको महाशाखाले जनाएको छ।  

यसैबिच प्रधानमन्त्री पुष्पकमल दाहालले वर्षायाममा प्राकृतिक प्रकोपबाट हुनसक्ने सम्भावित क्षतिप्रति पूर्वसतर्कता अपनाउन र विपद् व्यवस्थापनको पूर्वतयारी प्रभावकारी बनाउन निर्देशन दिएका छन्। मंगलबार बिहान प्रधानमन्त्रीले प्रहरी महानिरीक्षक वसन्त कुँवरलाई वर्षाका कारण विभिन्न जिल्लामा आएको बाढीपहिरोबाट ठुलो धनजनको क्षति भएकोप्रति सचेत रहन आग्रह गर्दै उक्त निर्देशन दिएका हुन्। प्रधानमन्त्रीले उद्धार, राहत र पुनस्र्थापनाका लागि सम्पूर्ण रूपले सक्रिय हुन निर्देशन दिएका हुन्।

रष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका प्रवक्ता ध्रुवबहादुर खड्काले बाढी तथा पहिरोका कारण २४ घन्टाको अवधिमा मुलुकभरमा १ जनाको मृत्यु तथा ६ बेपत्ता भएको जानकारी दिए। मृत्यु र बेपत्ता घटना मकवानपुरमा भएको हो। त्यसैगरी मुलुकभर भएका १४ ठूला घटनामा २ घर पूर्ण क्षति हुनुको साथै लाखांैको धनमाल नोक्सान भएको उनले जनाए।

उद्धारपछि प्रहरीलाई स्यालुट

रातभरिको पानीसँगै मूलपानी नजिकको मनोहरा खोला पनि उर्लेर आयो। मूलपानी र बोडे जोड्ने मनोहरा पुलमा कोही अड्किएको खबरले क्षणभरमै मानिसको पनि भेल थपियो। बिहानभर पुलमा रमिता भयो।

पुलमुनि बसेका व्यक्तिले प्रहरीको सहयोग नमान्दा स्थिति तनावग्रस्त बन्यो। तल खोला गड्गडाएर बगेको छ, माथि उक्त व्यक्ति सानो च्यापोमा अड्किएर बसेजस्तो अवस्थामा छन्। जनपद र सशस्त्र प्रहरीको निकै प्रयासका बाबजुद पनि उक्त व्यक्तिले सहयोगको डोरी समाउन इनकार गरिरह्यो। अन्ततः सशस्त्रको उद्धार टोली डोरीको सहयताले लाइफ ज्याकेट लिएर उक्त व्यक्ति भएको ठाउँमा पुगे। उक्त व्यक्तिले बल्लतल्ल लाइफ ज्याकेट लगाए। ऊ नखसोस् भनेर डोरीले बाँधियो। प्रहरीको सहयोगबाट मुस्किलका साथ उद्धार गरियो। उद्धारलगत्तै भने उनी प्रहरीप्रति निकै अनुग्रहित बने। खोटाङ घर भएका उनले आफ्नो नाम किरण राई भएको बताए। सशस्त्र प्रहरी टोलीले आफ्नो जीवन जोगाएको भन्दै उनले पुलमाथिबाट प्रहरी टोलीलाई स्यालुट ठोके।

प्रकाशित: २४ श्रावण २०८० ०१:०८ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App