१७ असार २०८१ सोमबार
image/svg+xml
समाज

धरानमा भालु र सेउती खोलाको दूषित पानी वितरण नगर्न माग

धरानका मेयर हर्क साम्पाङले श्रमदान गरेर ल्याएको भालु खोला र सेउती खोलाको मुहान क्षेत्रमा छाला प्रशोधन उद्योग, वंगुर र कुखुरा फर्म भएको खुलेपछि वडा नं १५ का बासिन्दाहरुले तत्काल उक्त स्रोतको पानी वितरण बन्द गर्न माग गरेका छन्।

वडा १५ का जनप्रतिनिधि, टोल विकास संस्था र राजनीतिक दलका प्रतिनिधिहरुले मंगलबार मेयर साम्पाङलाई संयुक्तरुपमा भेटेर यस्तो माग गरेका हुन्।

उनीहरुले स्वास्थ्यमा गम्भीर असर पर्नसक्ने भएकोले ती दुवै स्रोतको पानी वितरण नगर्न र साविक झैं खानेपानी बोर्डको वडा १४ स्थित पिण्डेश्वर सब-सिस्टमबाट मात्र शुद्ध पिउने पानी वितरण गर्न पनि आग्रह गरेका छन्।

मेयर साम्पाङले भालु खोला र सेउती खोलाको पानी संकलन गरेर श्रमदानमार्फत धन्यवाद ट्यांकी निर्माण गरि वडा १५ लाई वितरण गरिरहेका छन्। यो स्रोत उपयोग गर्नुअघि वडा १५ लाई विजयपुर सब-सिस्टमबाट पानी वितरण भइरहेको थियो।

वडाबासीहरुले स्थलगत निरीक्षण गर्दा भालु खोला र सेउतीको मुहान खुल्ला र असुरक्षित देखिएको, त्यस क्षेत्रमा नुहाउन, पौडी खेल्न जाने गरेकोले पनि पानी प्रदुषित हुने देखिएको कारण उक्त स्रोतको पानी वितरण नगर्न आग्रह गरिएको वडा अध्यक्ष नरेश इवारमले बताए।

‘सुद्ध र पिउन योग्न पानी वितरण हुने उचित व्यवस्थापन नगरेसम्म उक्त स्रोत बन्द गर्न आग्रह गरिएको छ,’ उनले भने।

मेयर साम्पाङले मुहान क्षेत्रको उद्योगहरुलाई अन्यत्र स्थानान्तरण गर्न निर्देशन दिइसकेको बताए। खानेपानी बोर्डका निर्देशक राजु पोखरेलले बिहान र बेलुकी रिजर्भ ट्यांकीहरुमा फिटकिरी र क्लोरिन हालेर खानेपानी सुद्धिकरण भइरहेको बताए।

‘अहिले बिहान र बेलुकी क्लोरिन हालेर सुद्धिकरण भइरहेको छ। चाडै चौबिसै घण्टा हाल्ने व्यवस्था गछौं,’ उनले भने।

राजनीतिक दलहरुद्धारा मेयर साम्पाङको ध्यानाकर्षण

खानेपानीमा दिशामा हुने जिवाणु फिकल कोलिर्फम भेटिएको रिपोर्ट सार्वजनिक भएपछि धरानका राजनीतिक दलहरुले खानेपानी व्यवस्थापन बोर्डका अध्यक्षसमेत रहेका मेयर हर्क साम्पाङको ध्यानाकर्षण गराएका छन्।

राजनीतिक दलका नेतृत्वहरुले मंगलबार संयुक्तरुपमा मेयर हर्क साम्पाङ र उपमेयर अइन्द्रबिक्रम बेघालाई भेटेर ध्यानाकर्षण गराएका हुन्।

केही दिनअघि राष्ट्रिय स्वतन्त्र पार्टीले धरानको विभिन्न ७ वटा स्थानबाट वितरण हुने पिउने पानी संकलन गरेर परीक्षण गर्दा ६ ठाउँको पानीमा कोलिफर्म भएको रिपोर्ट सार्वजनिक गरेको थियो। ती सबै खोला स्रोत भएको पानीको रिपोर्ट थियो भने बोरिङ गरेको भुमिगत स्रोतको पानीमा  कोलिफर्म मात्र शुन्य रहेको रिपोर्ट आएको थियो।

राजनीतिक दलहरुले तीन दिनभित्र खानेपानी बोर्डले पिउने पानीको परीक्षण गरेर रिपोर्ट सार्वजनिक गर्न माग गरेका छन्। साथै, हरेक महिना पनि पानीको परीक्षण गरेर रिपोर्ट सार्वजनिक गर्नुपर्ने दलहरुको माग छ।

‘तत्काल ट्रिटमेन्ट गरि पिउन योग्य पानी वितरण गर्न धरान उपमहानगरपालिकातर्फबाट पनि पहल गर्नुपर्ने माग गरेका छौं,’ जनता समाजवादी पार्टीका अध्यक्ष ताजुब लिम्बुले भने, ‘खोनपानीको मुहान संरक्षण तोकिएको मापदण्ड अनुसार गरेर मुहान क्षेत्रमा मानवीय गतिविधि बन्द गर्नुपर्ने र खानेपानी बोर्डको सञ्चालन प्रभावकारीरुपमा नगर प्रमुखको हैसियतमा गर्नुपर्ने पनि माग छ।’

पानीमा कोलिफर्म देखिएको रिपोर्टले खानेपानी बोर्ड तथा नगरको नेतृत्व जनताको स्वास्थ्यमाथि गम्भीर खेलवाड गरिरहेको साथै मुकदर्शक बनेको भन्दै राजनीतिक दलहरुले पनि आलोचना गरेका छन्।

पछिल्लो समय धरानमा डेंगुको महामारीसँगै जिउ चिलाउने, झाडापखाला, आँखा पाक्ने रोग पनि देखिएको छ। पिउने पानी नै प्रदुषित भएकोले भविष्यमा महामारी हुने जोखिम भएको कारण आफुहरु चुप लागेर बस्न नसकेकोले स्थानीय सरकारको ध्यानाकर्षण गराएको जसपा अध्यक्ष लिम्बुले बताए।

मेयर साम्पाङले अन्य व्यक्ति वा संस्थाले अपारदर्शीरुपमा गरेको ‘टेष्ट’ लाई मान्यता नदिने भन्दै खानेपानी बोर्डलाई परीक्षण गर्न निर्देशन दिइसकेको बताए।

साथै उनले खानेपानीलाई ट्रिटमेन्ट गरेर वितरण गर्न निर्देशन दिएको र सोही अनुसार क्लोरिनेशन गर्ने काम पनि भइरहेको बताए।

उनले भने, ‘पिउने पानी टेष्ट गर्न निर्देशन दिइसकेको छुँ। अरुले कहाँको पानी, कसरी गर्यो भन्ने विश्वासनीय भएन। बोर्डले आफै टेष्ट गरेर रिपोर्ट सार्वजनिक गर्छ। खानेपानीलाई सुद्धिकरण गर्न क्लोरिनेशन गर्ने काम पनि भइरहेकै छ।’

प्रकाशित: २३ श्रावण २०८० १३:१५ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App