६ जेष्ठ २०८१ आइतबार
image/svg+xml
समाज

त्रियुगाको शिवाई पुल दुई वर्षदेखि अलपत्र

निर्माण सम्पन्न हुनै लाग्दा बाढीले भत्काएको दुई वर्षसम्म मर्मत नहुँदा उदयपुरको चौदण्डीगढी नगरपालिका ५ शिवाई सुन्दरपुरस्थित त्रियुगा नदीको पुल अलपत्र परेको छ।

सुन्दरपुर, शिवाई, बेलहालागयत चौदण्डीगढी ५ वडावासी नागरिकको नगरपालिका केन्द्र बेलटार बजार र अन्यत्र आउजाउ गर्न सहज बनाउने उद्देश्यले १२ वर्षअघि निर्माण सुरु भएको पुल बनिसक्न लाग्दा ०७८ असार २० गते राति बाढीले भत्काएको थियो।

सम्पन्न गरेर उद्घाटनको तयारी भइरहेका बेला भत्केको उक्त पुल २ वर्ष १ महिना बितिसक्दासम्म मर्मत गर्ने या पुनर्निर्माण गर्नेबारे यकिन नहुँदा अलपत्र परेको हो।

बाढीले लगातार २ पटक भत्काएको उक्त पुल २५ महिना बितिसक्दा पनि मर्मत नभएपछि यो बर्खामा पनि स्थानीयबासीलाई बाढीको कहर सहनै पर्ने भएको छ। असार २० गते राति बाढीले दक्षिणतर्फका ३ वटा फाउण्डेशन पिल्लर ढालेपछि २ स्पान भत्केर अलपत्र पारेको थियो। त्यसको १५ दिन नपुग्दै साउन २ गतेको बाढीले पुनः अर्को पिल्लर ढालेपछि तेस्रो स्पान पनि भत्काएर अलपत्र परेको हो।

बाढीले पुल भत्काएको यत्तिका वर्षसम्म मर्मत गर्नेतर्फ सरकारको ध्यान नगएकोमा स्थानीयवासी आक्रोशमिश्रित आश्चर्यमा परेका छन्। पुल निर्माणको रेगदेख गर्ने निकाय गाईघाट दिक्तेल सडक योजना कार्यालयले भत्केको पुलको प्राविधिक अनुगमन गरेपछि मर्मत गर्ने या पुनर्निर्माण गर्ने भन्ने टुंगो लाग्ने जनाएको थियो। भौतिक पूर्वाधार मन्त्रालय मातहतको प्राविधिक टोली स्थलगत अनुगमन गरेर त्यतिबेलै फर्केको थियो। तर, २ वर्षसम्म मर्मत वा पुनर्निर्माण गर्ने भन्ने कुराको यकिन नभएको गाईघाट दिक्तेल सडक योजना कार्यालय प्रमुख (डिई) गोपाल खकुरेलले बताए।

केही दिनभित्रै सम्पन्न गरेर उद्घाटन गर्ने तयारी भइरहेका बेला बाढीले एक्कासि पुल भत्काएपछि मन्त्रालयले प्राविधिक टोली खटाएर घटनास्थलको निरीक्षण गराएको उनले बताए। उनका अनुसार पुल भत्केको केही दिनमै स्थलगत अनुगमनका लागि डिभिजन सडक सुपरीवेक्षण तथा अनुगमन कार्यालय दमकका सिनियर डिभिजनल इन्जिनियर, पुल महाशाखाका सिडिई र पुल सेक्टर १ धरानका इन्जिनियरको टोली आएको थियो।

टोलीले स्थलगत अध्ययन गरेर फर्केको भोलिपल्टै अर्थात् साउन २ गते फेरि बाढीले अर्को स्पान पनि भत्काएपछि पुनः प्राविधिक टोली बोलाउनु परेको उनले बताए।

सो टोलीले पनि अध्ययन गरी फर्केको तर, मर्मत गर्नेबारे स्पष्ट जानकारी नआएको खकुरेलले बताए। डिई खकुरेलले अनुसार इन्जिनियर टोलीको अध्ययन प्रतिवेदन विभाग हुँदै मन्त्रालयमा पुगेको भन्ने जानकारी आएको तर, बजेट सुनिश्चित हुन नसकेर काम अघि नबढेको हुनसक्ने बताए। ५ वटा पिल्लर र ३ वटा स्पान बाढीले भत्काउँदा ४ वटा स्ल्याब भाँचिएर कामै नलाग्ने अवस्थामा पुगेको पुलको मर्मत कार्य छिटो गर्नुपर्ने भनेर लिखित र मौखिक पत्राचार गरे पनि ठोस निर्णय हुन सकेको छैन।

निर्माण कम्पनीको चरम लापरबाहीले गर्दा ०६७ सालमा ९ करोड ७६ लाख लागतमा निर्माण सुरु भएको १३ स्पानको उक्त पुल १२ वर्षमा बल्ल बनिसक्नते अवस्थामा पुग्दा बाढीले भत्काएको हो। 

३ वर्षभत्र सक्ने सम्झौता भएको २ सय ८० मिटर लम्बाई र साढे ५ मिटर चौडाईको उक्त पुल समयमा काम नहुँदा पुनरमूल्यांकन (भिओ) गर्दै जाँदा १२ वर्षमा बजेट पनि ११ करोड २७ लाख पुगेको थियो। पुल निर्माण ढिला हुनुमा स्थानीयवासीले ठेकेदारको लापरबाही भएको आरोप लगाइरहेका छन् भने निर्माण कम्पनीले आवश्यकता अनुसार सरकारले बजेट नदिएको गुनासो गर्दै आएको छ। जसोतसो पुल बनिसक्न लाग्दा अन्तिम अवस्थामा बाढीले भत्काएपछि स्थानीय पुल तर्ने आशामा निराश हुन पुगेका छन्।

पुल बाढीले भत्काउनुमा निर्माण कम्पनीकै कमजोरी भएको गुनासो पनि स्थानीयको छ। काठमाडौंस्थित ‘बालाजु स्वाइल कन्सल्टेन्सी’ ले माटो परीक्षण र डिजाइन गरेको पुलमा गुणस्तरहीन सामग्रीको प्रयोग नभएकाले हुनसक्ने अनुमान स्थानीयले गरेका छन्। तर, यसबारे अनुगमन गर्ने प्राविधिक टोलीले नै भन्ने योजना कार्यालयका सूचना अधिकारी इन्जिनियर प्रभातकिरण राईले बताए। 

उनका अनुसार भत्केको पुलको स्थलगत अध्ययन गर्ने टोलीलाई जानकारी हुनसक्ने भन्दै आफुहरुलाई यसबारे केही थाहा नभएको राईको भनाई छ। राईका अनुसार पुल मर्मत र पुनर्निर्माण गर्न थप ९ करोड बजेट लाग्ने इस्टीमेट बनेको र बजेट सुनिश्चित भएपछि काम सुरु गर्ने भन्ने जानकारी आएको छ।

स्थानीयहरुले पुल तत्काल मर्मत गर्न माग गर्दै पटक पटक सरकारको ध्यानाकर्षण गराएका छन्। पुल मर्मत गर्न वा पुन निर्माण गर्न आफुहरुले पत्राचार र मौखिक रुपमा पटक पटक सरकारको ध्यानाकर्षण गराएको उदयपुर १ (क) का प्रदेशसभा सदस्य राजन किराँती (बासु) ले बताए। उनका अनुसार प्रतिनिधिसभा सदस्य डा. नारायण्ख खड्कासहित जनप्रतिनिधिहरु भौतिक पूर्वाधकार मन्त्रालय पुगेर पनि सो पुल तत्काल निर्माण गर्न ध्यानाकर्षण गराएको छ।

भत्केको पुल तत्काल मर्मत गर्न माग गर्दै मन्त्रालय पुगेको उदयपुरे जनप्रतिनिधि टोली।

केही दिनअघि पनि आफू, डा.खड्का, समानुपातिक सांसद सुशीला श्रेष्ठ राई, त्रियुगा नगरपालिकाका पूर्वप्रमुख बलदेव चौधरी र वडाध्यक्षसहितको टोलीले मन्त्री प्रकाश ज्वालालाई भेटेर ज्ञापनपत्र बुझाउँदै पुल निर्माण कार्य तत्काल थाल्न ज्ञापन पत्रमार्फत दबाब दिएको किराँतीले बताए। 

प्रकाशित: २१ श्रावण २०८० ११:५९ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App