२८ आश्विन २०८१ सोमबार
image/svg+xml
समाज

अनकन्टार बस्तीमा गएकाे त्याे भिषण पहिरो

२ को मृत्यु, २ बेपत्ता

दोलखाको गौरीशंकर गाउँपालिका ७ स्थित मार्बु गाउँको टोपाटार बस्तीमा गएको पहिरोमा परेकाहरुको खोज तथा उद्धार गर्दै तारादल गण चरिकोटको सैनिक टोली। तस्विर सौजन्य ः तारादल गण, चरिकोट

जिल्लाको गौरीशंकर गाउँपालिका ७ मार्बुमा बिहिबार बेलुकी गएको् पहिरोमा परी १५ महिनाका नाबालक सहित दुई जनाको मृत्यु भएको छ। घटनामा परेर हराईरहेका एक पुरुष र महिला शुक्रबार साँझ  सम्म भेटिएका छैनन्।  

उत्तरी गौरीशंकर गाउँपालिकाको वडा नं ७ स्थित मार्बु गाउँको टोपाटार बस्तीमा बिहिबार बेलुकीपख छिमेकी वडा ८ नं को खारे गाउँ तर्फ छेसाखारेको डिलबाट खसेको पहिरोले घट्टे खोलाको किनारमा रहेको टोपाटार बस्ती पुरेको थियो।  

प्रमुख जिल्ला अधिकारी कोमल प्रसाद धमलाका अनुसार पहिरोमा परेर १५ महिनाका एक नाबालक सहित दुई जनाको ज्यान गएको छ। अर्का दुई जना हराईरहेका छन्। १५ महिनाका बालक प्रिन्स थामी र र ५० बर्षिया महिला देवीमाया मगरको शवलाई सदरमुकाम चरिकोट र लामावगर बाट गएको नेपाली सेना, प्रहरी र गाउँलेको टोलीले शुक्रबार दिउसो पुरिएको अवस्थामा निकालेको थियो।  

घटनामा परेर ४९ बर्षका हरिलाल श्रेष्ठ र देवीमायाका श्रीमान ६० बर्षका कृष्ण मगर हराईरहेका छन्। उनीहरुको खोजी कार्य जारी राखिएको थियो। नेपाली सेनाको तारा दल गण चरिकोटका सहसेनानी ईश्वर काफ्ले नेतृत्वको टोलीले दिनभर हराईरहेकाहरुको खोजी गरेको थियो । मौसम खराब रहेका कारण टोली लामावगर व्यारेकमा फर्किएको स्थानीय अधिकारीहरुले जनाएका छन्।  

पहिरोमा परेर घाईते भएका प्रिन्सकी आमा सरिता, हजुर बुबा यज्ञबहादुर र हजुर आमा धनकुमारीलाई हेलिकप्टरबाट राजधानी लगिएको छ । उनिहरुको काठमाण्डौ मेडिकल कलेज सिनामंगलमा उपचार भईरहेको छ।  

मार्बुका वडाअध्यक्ष सोनाम शेर्पाक अनुसार सदरमुकाम चरिकोटबाट ५५ किलोमिटर उत्तरमा पर्ने टोपाटार बस्ती गौरीशंकर गाउँपालिका वडा नं ७ र ८ को सिमानाबाट बग्ने घट्टे खोलाको किनारमा पर्छ। बस्तीमा ८ घर छन्। खोलापारी वडा नं ८ खारे पर्छ। खारेको माथिल्लो डिलबाट भिषण पहिरो खसेको थियो।  

स्थानीयका अनुसार बिहिबार दिउँसो करिब ३ बजे देखी गाउँमा भिषण बर्षा भएको थियो। भिषण बर्षातले सडक, बाटो तथा पुल बगाउन थालेपछि स्कुल गएका बिद्यार्थी  र गाउँ बाहिर गएका स्थानीय सिंगटीबाट आउने गुरुम्फी र कोप्लाङ तर्फ बिच बाटैमा रोकिएका थिए। भिषण बर्षात, कुहिरो र हुस्सु लागेका कारण दिउँसै देखी फोन सम्पर्क बिच्छेद भएको थियो। सुरुमा बस्ती वरपर स–साना पहिरो खसेको थियो। मृत्यु भएका र बेपत्ता भएकाहरु सुरुमा खसेको स–साना पहिरोबाट बच्नका लागी भाग्न खोज्दा खोज्दै माथिको डिलबाट खसेको ठुलो पहिरोमा एकै पटक परेको अनुमान स्थानीयले गरेका छन्। बस्तीमा मगर, श्रेष्ठ, थामी र खत्री परिवारका ८ घर रहेका थिए। तीन घरको नमोनिसान मेटिने गरी पूर्ण रुपमा पुरिएको स्थानीय अधिकारीहरुले बताएका छन्। यो बस्तीका स्थानीयको माथिल्लो गाउँमा समेत घर रहेको छ। केही मानिस माथिल्लो बस्तीको घरमा गएका थिए। स्थानीयका अनुसार घट्टेखोला र खानीखोलामा जलबिद्युत आयोजना निर्माण शुरु भएर चहलपहल हुन थालेपछि यो बस्ती पछि बसालिएको हो।  

बेलुकी पख भएको घटना बारे वर परका छिमेकी बस्तीका गाउँलेले बिहान मात्र थाहा पाएका थिए। घाईते भएको थामी परिवार रातभरी पहिरोमै गाडिएको अवस्थामा गाउँलेले बिहान निकालेका थिए । करिब १५ घण्टा पछि उनिहरुलाई बिहान राजधानीबाट मगाईएको हेलिकप्टरमा काठमाण्डौ लगिएको थियो। बस्ती अनकन्टारमा रहेकाले पहिरो बारे गाउँले र स्थानीयले करिब १५ घण्टा पछि मात्र थाहा पाएका थिए।  

प्रकाशित: २० श्रावण २०८० ०२:२३ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App