२२ वैशाख २०८१ शनिबार
image/svg+xml
समाज

दोलखाको पहिरोमा बेपत्ता हुनेको परिचय खुल्यो (अपडेट)

घाईतेलाई हेलिकप्टरबाट राजधानी लगिँदै

जिल्लाको गौरीशंकर गाउँपालिका ७ मार्बुमा बिहिबार साँझ गएको पहिरोमा परी ४ जना बेपत्ता भएका छन् । पहिरोमा परी गम्भीर घाईते भएका ३ लाई हेलिकप्टर मार्फत राजधानी लैजाने प्रयास भईरहेको छ।  

दोलखाको उत्तरी गौरीशंकर गाउँपालिका ७ मार्बु गाउँको टोपाटार बस्तीमा बिहिबार साँझ करिब ५ बजे छिमेकी वडा खारे तर्फको भिरबाट खसेको पहिरोले बस्ती पुरेको थियो। मार्बुका वडाअध्यक्ष सोनाम शेर्पाले टेलिफोनमा दिएको जानकारी अनुसार पहिरोबाट पहिरोले बस्तीका ५ घर पुरेको छ। पहिरोमा परेर स्थानीय ५४÷५५ बर्षका कृष्णबहादुर मगर, सोही उमेर हाराहारीका उनकी श्रीमती देव मगर, ५३÷५४ बर्षका हरिलाल श्रेष्ठ र ३ बर्षको बालक प्रिन्स थामी बेपत्ता छन् । सुरक्षाकर्मी र गाउँले मिलेर उनिहरुको खोजी गरिरहेको वडाअध्यक्ष शेर्पाले बताए ।  

पहिरोमा परेर स्थानीय यज्ञ तामी, उनकी श्रीमती धनकुमारी थामी र बुहारी सरिता थामी गम्भीर घाईते छन् । उनिहरुलाई हेलिकप्टर मार्फत राजधानी पठाउने प्रयास भईरहेको छ । हराईरहेका बालक प्रिन्स सरिताको छोरा हुन् । घटनास्थल दोलखाको सदरमुकाम चरिकोटबाट ५५ किलोमिटर उत्तरमा पर्छ ।  

घट्टे खोलाको किनारमा रहेको टोपाटार बस्ती भन्दा माथि छिमेकी वडा खारेको डिलबाट पहिरो झरेको र पहिरोले बस्तीका ५ घर पुरेको् वडाअध्यक्ष शेर्पाले जानकारी दिए । ‘हिजो साँझ, ४÷५ बजेकै घटना रहेछ’ उनले भने । लगातार ठुलो पानी परेको, निरन्तर हुस्सु कुहिरो लाग्नुका साथै टेलिफोन समेत सम्पर्क बिच्छेद भएका कारण वरपरका गाउँलेले समेत घटना बिहान मात्र थाहा पाएको शेर्पाले सुनाए। बस्तीमा मगर, श्रेष्ठ, थामी र खत्री परिवारका ८ घर रहेका थिए ।

प्रकाशित: १९ श्रावण २०८० ०३:२५ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App