२२ वैशाख २०८१ शनिबार
image/svg+xml
समाज

ट्राफिक अभियान उपलब्धिविहीन

फालोमा झुन्डिएका सहचालक। तस्बिर: गणेश/नागरिक

दुर्घटना न्यूनीकरण भन्दै जिल्ला ट्राफिक प्रहरीले नेपालगन्ज-कोहलपुर सडक खण्डमा सञ्चालन हुने सबै म्याजिक गाडीको फालो हटाउने अभियान चैत दोस्रो सातादेखि सुरु गर्‍यो। कडाइका साथ फालो फाल्ने अभियान चलाएको ट्राफिक प्रहरीले गाडीका फालो त हटायो तर, विडम्बना अभियान बीचमै रोकियो। पहिला जस्तो थियो अहिले उस्तै छ। निरन्तर गाडीपछाडिको फालोमा झुन्डिएर यात्रा भइरहेको देखिन्छ।

ट्राफिक प्रहरीले फालो हटाए पनि यातायात व्यवसायीले पुनः जोडेका छन्, जसले ट्राफिक प्रहरीले सञ्चालन गरेको फालो हटाउने अभियान असफल पारिदिएका छन्। फालो हटाउने अभियान कडाइका साथ कार्यान्वयन नगर्दा पनि यातायात व्यवसायीले पुनः फालो जडान गर्न थालेका हुन्। फालो हटाउने अभियानमा प्रहरी असफल हुँदा दुर्घटनाको जोखिम निम्तिएको छ।

म्याजिक गाडीमा अनुमतिभन्दा धेरै यात्रु राख्ने गर्दा सहचालकसमेत बस्ने ठाउँ हुँदैन। जसले गर्दा पुनः फालो जडान गरिएको स्वयं यातायात व्यवसायी बताउँछन्। ‘पहिला ट्राफिक प्रहरीले कडा गरेको थियो’, नाम नबताउने सर्तमा एकजना म्याजिक गाडी चालकले भने, ‘अभियान करिब हप्ता÷१० दिनजति चल्यो फेरि उस्तै भएको छ।’

सहचालकका लागि म्याजिकभित्र बस्ने ठाउँ नहुँदा पुनः फालो जडान गरिएको उनले बताए। ‘दुर्घटनाको जोखिम त हुन्छ’, उनी भन्छन्, ‘यस्तो महँगी छ। जसरीतसरी यात्रु त चढाउनै पर्‍यो नि।’

पछिल्लो समय ट्राफिक प्रहरीले देखे पनि नदेखे झैं गर्दा फालोमा सहचालक झुन्डिने गरेको उनको भनाइ छ।

दुर्घटना न्यूनीकरण भन्दै जिल्ला ट्राफिक प्रहरीले नेपालगन्ज-कोहलपुर सडक खण्डमा सञ्चालन हुने सबै म्याजिक गाडीको फालो हटाउने अभियान चैत दोस्रो सातादेखि सुरु गर्‍यो। कडाइका साथ फालो फाल्ने अभियान चलाएको ट्राफिक प्रहरीले गाडीका फालो त हटायो तर, विडम्बना अभियान बीचमै रोकियो।

यता जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रमुख तथा प्रहरी निरीक्षक तिलक सुनारले यो कुरा आंशिक रूपमा स्वीकार गरे। ‘फालो हटाउने अभियान त रोकिएको छैन’, उनी भन्छन्, ‘तर केही गाडीले पुनः फालो जडान गरेका छन्।’

सहचालकका लागि साहुले फालो जडान गरेको उनी स्वयं बताउँछन्। फालो नहटाउनेलाई पाँच सयदेखि एक हजार पाँच सय रूपैयाँ जरिवानासमेत तोकिएको उनको भनाइ छ। ‘पहिलो चरणमा सम्झाउँछौं। सम्झाउँदा नमाने पाँच सयदेखि एक हजार पाँच सय रूपैयाँसम्म जरिवाना असुल्छौं’, उनी भन्छन्।

यति मात्र होइन जिल्ला ट्राफिक प्रहरीले करिब आधा दर्जनभन्दा बढी अभियान चलाएको छ, तर ती अभियान उपलब्धिविहीन जस्तै देखिएका छन्।

राडार गणबाट चेकिङ पनि स्थगित

जिल्ला ट्राफिक प्रहरी कार्यालयले पहिलोपटक बाँकेमा राडार गणबाट सवारी चेकिङ गरिएको भन्दै प्रचारबाजी गर्‍यो। सवारी साधनको टाढैबाट गति परीक्षण गर्ने विधि बाँकेमा सुरु हुँदा यसले दुर्घटना न्यूनीकरणमा महत्वपूर्ण भूमिका निर्वाह गर्ने अपेक्षा गरिएको थियो। सोहीअनुसार ट्राफिक प्रहरी चर्चाको केन्द्रमा पुग्यो।

तर के गर्ने, फालो हटाउने अभियान तुहिएजस्तै यो अभियान पनि सफल हुन सकेन। राडार कपिलवस्तुबाट केही दिनका लागि भाडामा ल्याइएको थियो। जिल्ला ट्राफिक प्रहरी कार्यालय बाँकेको आफ्नै राडार गण नहुँदा उक्त अभियान चर्चाबीच नै सेलायो। अहिले बाँकेमा राडार गण छैन। ‘बाँकेमा हाम्रो आफ्नै राडार गण छैन’, जिल्ला ट्राफिक प्रहरी कार्यालय बाँकेका प्रमुख सुनारले भने, ‘हामीले प्रयोग गरेको उक्त राडार बर्दियामा छ।’ उक्त राडार बाँकेमा करिब १०/१५ दिनसम्म मात्र चलेको उनको भनाइ छ।

जिल्ला ट्राफिक प्रहरी कार्यालयले पहिलोपटक बाँकेमा राडार गणबाट सवारी चेकिङ गरिएको भन्दै प्रचारबाजी गर्‍यो।

जिल्ला ट्राफिक प्रहरीले चर्चा कमाउनकै लागि विभिन्न अभियान सञ्चालन गर्ने र त्यसलाई निरन्तरता नदिँदा दुर्घटनाको जोखिम यथावत् रहेको सर्वसाधारणको भनाइ छ। ‘ट्राफिक प्रहरीले राडार गण ल्यायो भन्दा खुसी लागेको थियो’, कोहलपुरका बिर्खबहादुर शाह भन्छन्, ‘ट्राफिक प्रहरीले त राडार चर्चा कमाउन देखाउनका लागि मात्र ल्याएको रहेछ।’

जिल्ला ट्राफिक प्रहरी कार्यालयले सञ्चालन गरेका अभियान दीर्घकालीन रूपमा नसोच्दा र चर्चाकै लागि मात्र सञ्चालन गर्दा उक्त अभियान सफल हुन नसकेको देखिन्छ।

कार्यान्वयन नहुँदा अवस्था उस्तै

जिल्ला ट्रापिक प्रहरीले सञ्चालन गरेको अर्काे अभियान हो-रिक्सा सचेतीकरण अभियान र चालक र सहचालकसँग ट्राफिक प्रहरी। यसमा ट्राफिक नियमका विषयमा ट्राफिक प्रहरीले जानकारी दिन्छ।

यसभित्र सडकको बीचमा गाडी र रिक्सा रोकेर यात्रु ओराल्ने र चढाउने गर्नु हुँदैन भन्ने विषयमा ट्राफिक प्रहरीले चालक र सहचालकलाई सिघाउँछ, तर तपाईं आफैं सडकमा आएर हेर्नु, चालक र सहचालकले नियम पालना गरेको देखिँदैन। अभियान चलाएर पनि प्रभावकारी रूपमा कार्यान्वयन नहुनुको यो एउटा गतिलो उदाहरण हो। नेपालगन्ज-सुर्खेत सडकमा बीच भागमै गाडी र रिक्सा रोकेर यात्रु ओराल्ने र चढाउने गरिएको देखिन्छ। यसले दुर्घटनाको जोखिम बढी देखिएको छ।

प्रकाशित: १८ श्रावण २०८० ०१:२५ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App