१९ असार २०८१ बुधबार
image/svg+xml
समाज

गोली हानी हत्या गरेको आरोपमा २ जना पक्राउ

कोशी राजमार्ग अन्तर्गत धरान–इटहरी सडक खण्डको इटहरी–२० को जंगलमा विराटनगरका एक जना युवालाई गोली हानी हत्या गरेको आरोपमा २ जनालाई प्रहरीले पक्राउ गरेको छ।

विराटनगर महानगरपालिका–५ का २८ वर्षीय रोहित चौधरीलाई साउन ५ गते साँझमा सेउती खोलाको पुल नजिकको जंगलमा गोली हानी हत्या गरिएको थियो। चौधरीको हत्या आरोपमा २ जनालाई पक्राउ गरिएको छ भने एक जना फरार भएको कोशी प्रदेश प्रहरी प्रमुख डिआइजी रमेशनाथ बास्तोलाले जानकारी दिए।

चौधरीको हत्या आरोपमा लेटाङ नगरपालिका–१ घर भएका ३५ वर्षीया दीपक तिम्सिना र धरान–१४ का ३४ वर्षीय अनसन तामाङलाई प्रदेश प्रहरी कार्यालयले बुधबार पत्रकार सम्मेलन गर्दै उनीहरुलाई सार्वजनिक गरेको हो।

घटनामा संलग्न भएका अर्का एक जनाको पहिचान भए पनि फरार भएको हुँदा खोजी कार्य भइरहेको डिआइजी बास्तोलाले बताए।

पक्राउ परेका दुवै लागु औषध प्रयोगकर्ता रहेको प्रहरीको दाबी छ। पक्राउ परेका मध्ये दीपक घटनाको मुख्य योजनाकार हुन्। चौधरीसँगै रहेकी युवती पुल नजिककै जंगलमा उभिएपछि घटना भएको प्रहरीले जनाएको छ।

दीपकसहित ३ जनाको लुटेरा समूहले उनीहरुलाई त्यहाँ देखेपछि लुटपाट गर्न थाले। लुटेरा समूहले लुटपाट गर्न थालेपछि उनीहरुले होहल्ला गर्दै प्रतिकार गरेपछि रोहितलाई लुटेरा समूह मध्येका मुख्य नाइके दीपकले गोली प्रहार गरेको अनुसन्धानबाट खुलेको बताउँदै, डिआइजी बास्तोलाले भने, ‘खुकुरी गर्धनमा र पेस्तोल छातीमा देखाएर रोहितसँगै गएकी किशोरीको ३ आनाको सुनको सिक्री, मोबाइल र लेडिज झोला लुटे। रोहितले हल्ला गर्दै प्रतिकार गर्न खोजेपछि गोली चलाएको देखियो। उनीहरु जंगल छिरेको १० मिनेटभित्रै लुटपाट गरी गोली हानेर लुटेरा समूह पानमारा जाने जङ्गलतर्फ भागेका थिए।’

घटनाको अनुसन्धानबाट अन्य कुनै कारणबाट घटना घटाउनु परेको नदेखिएको र रोहितको हत्या गर्नुपर्ने मुख्य कारण लुटपाट नै रहेको खुलेको छ।

जबरजस्ती करणी मुद्दामा १० वर्ष कैद भुक्तान गरी २ महिनाअघि मात्रै दीपक छुटेका थिए भने अर्का अनसन लागु औषध मुद्दामा ६ महिना कैद भुक्तान गरी २ वर्षअघि छुटेका थिए।

डिआइजी बास्तोलाका अनुसार उनीहरु यसअघि गत असार ८, असार १३, असार ३१ गते भएका सिलसिलेबर चोरी र लुटपाटको घटनामा संलग्न रहेका छन्। पक्राउ परेका उनीहरूको साथबाट अटोमेटिक चाइनिज पेस्तोल, पेस्तोमा लाग्ने गोली, झोलाहरु, खुकुरी, मोबायल, औँठीलगायतको वस्तु बरामद भएको प्रहरीले जनाएको छ। यस घटनामा संलग्न भएको आरोपमा पक्राउ परेका २ जना र फरार भएका १ जनाका साथै यस समूहमा अन्य ३ जना गरी ६ जनाको लुटेरा समूह रहेको खुलेको छ। यिनीहरू प्रत्येक घटनामा ३/३ जनाको अलग अलग समूह बनाएर मोरङको लेटाङदेखि सुनसरीको कालाबन्जर तथा इटहरी–धरान सडक खण्डमा लुटपाट मच्चाउँदै आएको अनुसन्धानका क्रममा खुलेको डिआइजी बास्तोलाले बताए।

चौधरीको २८ औं जन्मदिनको दिन साथीसँग धनकुटाको मुलघाट घुमफिरे गरेर घर फर्कँदै गर्दा बाटोमा घटनामा भएको हो। लुटेरा समूहको गोली लागी घाइते भएका चौधरीको धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारका क्रममा मृत्यु भएको थियो।

प्रकाशित: १७ श्रावण २०८० १५:१४ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App