२ असार २०८१ आइतबार
image/svg+xml
समाज

पुरानो बाजामा रमाउँदै नयाँ पुस्ता

भक्तपुरको पुरानो धाँ बाजा सिक्दै गरेका विद्यार्थीको एक समूह।

मनोरञ्जनका नयाँ नयाँ साधनहरु आए पनि भक्तपुरका एक थरीका नयाँ पुस्ता यहाँका पुरानै बाजामा मस्त देखिएका छन्। 

धाँ बाजा (एक प्रकारको पुरानो बाजा) सिक्दै गरेकी कम्प्युटर प्रशिक्षक प्रविना बनमालाले परम्परागत बाजामा एकदम रुचि भएर धाँ बाजा सिक्दै गरेको बताइन्। उनले ३ वर्ष अघि धिमे बाजा पनि सिकिसकेको स्मरण गरिन्। 

‘अहिले बाँसुरी, धिमे बाजामा महिलाको सहभागिता बढ्दै गएको देख्छु तर धाँ बाजामा अहिले पनि हाम्रो बुढापाका मात्रा भएका देख्छु र त्यसैले यसमा पनि महिलाको सहभागिता देखाउन बाजा सिक्दै गरेकी हुँ’, उनले भनिन्, ‘मलाई नेवारी संस्कृतिमा भएको सबै बाजा सिक्ने चाहनाका साथ बाजा सिक्दै गरेकी हुँ। समय मिलेसम्म सबै बाजा सिक्ने उनको योजना छ।’

२०६८ सालदेखि निरन्तर पुरानो बाजाहरुको निःशुल्क कक्षा चलाउँदै आएको जिल्लाको लिवालीस्थित निओ फियुजन (संस्थाको नाम) का सञ्चालक बालकृष्ण बनमालाले पहिलेदेखि नै परम्परागत धिमे बाजा र धाँ बाजाको तालिम निःशुल्क संचालन गर्दै आइरहेको जानकारी गराए। 

‘संचालक बनमालाले पुराना बाजा बजाउने कला नयाँ पुस्तालाई हस्तान्तरण गर्ने हेतुले धिमे र धाँ बाजा सिकाउँदै आएका छाैँ। अहिले बाँसुरी, पछीमा (बाजाको नाम) मा थप गरेका छौं,’ बनमाला भन्छन्।

बाजामा कम्तीमा १०–१५ जनाको सहभागिता हुने उनको भनाई छ। उनले बाजा निःशुल्क नै तालिम दिँदै आएका छन्।

धाँ बाजा प्रशिक्षक सविन लैबाले ५ वर्षदेखि धाँ बाजा सिकाउँदै आएको बताए। टोल-टोलमा र संघसस्थाहरुमा धाँ बाजा सिकाउँदै आएको उनी सुनाउँछन्। साथै उनले आफूले धाँ सिक्ने बेलामा कोही पनि महिला सहभागिता नभएको सम्झना गरे। तर अहिले यसमा पनि केही वर्षदेखि महिलाको सहभागिता बढ्दै आएकोमा उनी खुसी साट्छन्। विशेष गरी यहाँ बाजागाजा बेलुकीको समयमा सिकाइने प्रचलन रहेको उनी बताउँछन्।

अर्का धिमे बाजाको प्रशिक्षक उगेन बोयजुले लगभग १० वर्षदेखि टोल टोलमा तथा सघंसंस्थामा धिमे बाजा सिकाउँदै आएको बताउँछन्। ११ वर्षमा सिकेर १२ वर्षको उमेरदेखि नै धिमे बाजा सिकाउन थालेको उनले बताए। धिमे बाजामा महिला पुरुषको सहभागिता बराबर जस्तै भएको अनुभव उनी सुनाउँछन्।

संस्कृतिविद् ओम धौभडेलका अनुसार नयाँ पुस्ता बाजागाजामा रमाएका छन्। बेलुकीको फुर्सदको समयको सदुपयोग गर्ने हेतुले बाजा सिक्ने प्रचलन चलिआएको उनको भनाई छ।

उहिले गुथी, दाफाभजनमा केटाहरुलाई मात्र बाजागाजा सिकाइथ्यो तर अहिले सहकारी संस्था र विभिन्न बाजा समूहले केटाकेटी दुबैलाई बाजागाजा सिकाइराखेको छन्, उनी भन्छन्।

केही वर्ष पहिला दाफा भजनबाट केटाहरुलाई मात्र सिकाउँदा बाजागाजा सिक्न आउनेको कमी र बाजागाजा नै लोभ हुने अवस्था सृजना भएको उनी सम्झिन्छन्। तर अहिले महिला पुरुष दुवैको सहभागिता भएपछि बाजागाजा सिक्न हरेक घरका केटाकेटीहरूले सहभागिता जनाउने गरेको उनले बताए।

अधिकांश बाजागाजा प्रशिक्षणको अवधि ३ देखि ६ महिनासम्म हुने गरेको बताइन्छ। बाजागाजा सिकाएपछि यहाँ समापनमा भोजभतेरको आयोजना गरिन्छ। त्यो बेला सामूहिक पैसा राखेर भोजभतेर गरिन्छ।

प्रकाशित: १४ श्रावण २०८० १२:४७ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App