१५ वैशाख २०८१ शनिबार
image/svg+xml
समाज

गौमुलमा गएको पहिरोले १२ परिवार विस्थापित

पहिरोले छापिएको ढल्काँडा बस्ती। तस्बिर: नागरिक

गौमुल गाउँपालिका ३ मा पहिरोका कारण स्थानीय १२ परिवार विस्थापित बनेका छन्।

लगातारको वर्षापछि आएको पहिरोका कारण बेहरीका ५ र ढल्काँडाका ७ गरि १२ परिवार विस्थापित बनेका हुन्। बस्ती माथिबाट घर नै छापिनेगरि पहिरो लागेपछि पूर्ण रुपमा विस्थापित बनेको पालिका उपाध्यक्ष सीता थापाले जानकारी दिएकी छन्।

पालिकाले दिएको जानकारी अनुसार बेहरीका चिन रोकाया, सुरेश रोकाया, कृष्ण विक, पुष्प विक र जोगी विकको परिवार विस्थापित बनेका छन्। भने ढल्काँडाका राजेन्द्र धामी, भानबहादुर बोहरा, बसन्त बोहरा झाँक्री बोहरा, गंग बोहरा अफिलाल बोहरा, ब्रिजीत बोहराको परिवार विस्थापित बनेको छ।

पहिरो सिंगो बस्तीलाई नै विस्थापित गर्ने गरि खसेको छ। दिउँसोको समयमा पहिरो खसेकोले मानवीय क्षति नभए पनि भौतिक नोक्सानी बेहोर्नु परेको स्थानीयले बताएका छन्। १२ परिवारका ६० जना बढीलाई घर छोडेर बाहिर सारिएको छ। बेहरीका ५ परिवारलाई स्थानीय थुमथला आधारभुत विद्यालयमा राखिएको पालिका उपाध्यक्ष सीता थापाले बताइन्।

घरभित्र राखिएको अन्न पात, लत्ता कपडा र अन्य सम्पत्ती भने छिमेकीको सहयोगमा बचाउन विस्थापित परिवार सफल भएका छन्। वर्षा जारी रहेकाले पहिरो अहिले पनि नियमित बगिरहेको स्थानीयले जानकारी दिएका छन्। विस्थापित परिवारलाई सुरक्षित राखिएको र खान बस्नका लागि आवश्यक परे पालिकाका तर्फबाट पनि सहयोग गरिने जानकारी गाउँपालिकाले दिएको छ।

गौमुलका अन्य बस्ती पनि पहिरोको उच्च जोखिममा छन्। २०७७ सालमा पनि पालिकाको १ र २ का अधिकांश बस्ती पहिरोबाट प्रभावित बनेका थिए। सयै बिगाह जमिनमा क्षति पुगेको थियो, भने दर्जनौ पशु चौपाया मरेका थिए। त्यो बेला पनि पालिकाका तर्फबाट उद्दार संभव नभएपछि तत्कालिन सरकारका गृहमन्त्रीकै नेतृत्वमा टोली अवस्था अध्ययनका लागि बाजुरा आइपुगेको थियो।

बाजुरा बाढी पहिरोका लागि उच्च जोखिममा पर्ने जिल्ला हो। ७० प्रतिशत बढी जमिन पहिरोको जोखिममा रहेको छ। साविक २७ गाविस मध्ये १६ बढी गाविसको मानव बस्ती सार्नु पर्ने भूगर्भ विद्हरुले सुझाव दिएका थिए। त्यही सिफारिसका आधारमा २०७२ सालमा एकीकृत बस्ती विकासको परिक्षणका लागि ७४ करोड रकम पनि विनियोजन गरिएको थियो। हाल त्यसको कुनै कार्यान्वयन र निरन्तरता हुन सकेको छैन्।

बाजुराका २ हजार बढी परिवार अहिले उच्च जोेखिममा देखिन्छन्। उनीहरुले अहिलेपनि पाँल टाँगेर बस्नु पर्ने, रातभर जागराम हुनु पर्ने पीडा सहन बाध्य छन्। बर्षादका अधिकांश रात ननिदाएरै सूत्नु पर्ने अवस्था यहाँका स्थानीयसँग छ।

भिरालो र पाखो जमिन, चारैपतरबाट पहिरोको डर र बेला बेलाको भुकम्पले चिराचिरा परेका जमिन र घरहरु झनै जोखिम रहेको स्थानीय बताउँछन्। पहिरोको प्रकोपबाट उच्च जोखिममा दर्जनौ बस्तीहरु रहेपनि पालिका स्तरीय विपद जोखिम व्यवस्थापन समितिले दीर्घकालिन योजना भने बनाएको देखिदैन्।

जसका कारण स्थानीयले ढिलो चाँडो ठूलो क्षति बेहोर्नु पर्ने अवस्था छ। जिल्ला प्रशासन कार्यालयले भने पनि पालिका स्तरीय तयारी पनि हुनु पर्ने र जिल्ला तहमा प्रशासनको पूर्व तयारी पनि गरिएको बताएको छ।  

प्रकाशित: १२ श्रावण २०८० १२:५३ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App