५ आश्विन २०८१ शनिबार
image/svg+xml
समाज

९२ दिनमा १४ हिमाल आरोहणः क्रिस्टिन र तेन्जेनको कीर्तिमान

नर्वेका क्रिस्टिन हारिला र नेपालका तेन्जेन शेर्पाले हिमाल आरोहणमा नयाँ विश्व कीर्तिमान कायम गरेका छन्। हारिला र शेर्पाले केटु हिमालको चुचुरोमा पाइला राखेसँगै ८ हजार मिटरमाथिका १४ वटा हिमाल सबैभन्दा कम समयमा अरोहण गरी नयाँ विश्व कीर्तिमान कायम गरेका हुन्।  

सेभेन समिट ट्रेकबाट आरोहण गरेका उनीहरूले १४ वटा हिमालको आरोहण ३ महिना २ दिन अर्थात् ९२ दिनमा पूरा गरेका हुन्। सन् २०२३ को अप्रिल २६ बाट आरोहण सुरु गरेको उनीहरूले २७ जुलाईसम्म लगातर आरोहण गरेको सेभेन समिट ट्रेकका महाप्रबन्धक थानेश्वर गुरागाईंले बताए।

हारिलाले यसअघि नै १४ वटा हिमाल अरोहण गरिसक्ने बताएका थिए। समिट ट्रेकका महाप्रबन्धक गुरागाईंले भने, ‘सिसा पाङ्मा र चोयुको अनुमति नपाएर मात्र हो, नत्र उनले योभन्दा पहिले नै १४ वटा हिमाल चढिसकेका हुन्थे।’  

‘सी मुभ्स माउन्टेन’ नाम दिइएको पर्वतारोहण अभियानअन्तर्गत हारिलाले लगभग पाँच महिनामा आरोहण गर्ने योजना बनाएको बताउँदै महाप्रबन्धक गुरागाईंले भने, ‘उहाँको योजना ५ महिनामा गर्ने थियो तर हामीले अझै कम समयमा गर्न सकिन्छ भनेर आँट दिई सोहीअनुरूपको तयारी गरिदियौं, आज तीन महिनामै आरोहण सकेर विश्व कीर्तिमान कायम भयो।’

नेपालका शेर्पाले नर्वेकी हारिलालाई हिमाल आरोहणका लागि सहयोग गरेका थिए। महाप्रबन्धक गुरागाईंका अनुसार हारिलालाई १४ वटै हिमालमा शेर्पाले गाइड गरेका हुन्। पेम्बा शेर्पा, पासाङ नोर्बुलगायतले पनि उनलाई हिमाल अरोहणमा गाइड गरेका थिए। ‘तेन्जेन शेर्पाले चाहिँ सुरुदेखि अन्तिम हिमालसम्म गाइड गरेका हुन्,’ गुरागाईंले भने, ‘तेन्जेन शेर्पा हाम्रो कम्पनीका एक बलियो र दक्ष गाइड हुन्।’

गुरागाईंका अनुसार बिहीबार बिहान करिब ११ः३० बजे। क्रिस्टिन हारिला र तेन्जेन शेर्पाले सगरमाथापछिको दोस्रो अग्लो हिमाल केटुमा पाइला राखेका थिए। हारिलाले तीव्र गतिमा हिमाल चढेर अन्य रेकर्ड पनि राखेको उनले बताए। दुवैजनाले चीनको ८ हजार २७ मिटर अग्लोे सिसापाङ्मा हिमालबाट ‘सी मुभ्स’ अभियान सुरु गरेका थिए। सिसापाङमा विश्वको १४औं अग्लो हिमाल हो। उनीहरू सिसापाङ्माको चुचुरोमा सन् २०२३ अप्रिल २६ मा पुगेका थिए। सिसापाङमापछि उनीहरूले नेपालको चोयु हिमाल आरोहण गरे।  

चोयु विश्वको छैटौं अग्लो हिमाल हो। ८ हजार १ सय ८८ मिटर अग्लो चोयुको च्ुचुरोमा उनीहरूले सन् २०२३ मे ३ मा पाइला टेकेका थिए। चोयु आरोहणको १० दिनपछि मे १३ मा उनीहरूले मकालु हिमाल आरोहण गरे। मकालु विश्वको पाँचौ अग्लो हिमाल हो। यो हिमाल ८ हजार ४ सय ८५ मिटर अग्लो छ। मकालुपछि हारिला र शेर्पाले कञ्जनजंगा हिमाल आरोहण गरेका थिए। नेपालमा अवस्थित कञ्चनजंगा विश्वको तेस्रो अग्लो हिमाल हो। उनीहरूले २०२३ मे १८ मा ८ हजार ५ सय ८६ मिटर अग्लो कञ्चनजंगा हिमाल आरोहण गरेका थिए। कञ्चनजंगापछि उनीहरूले सगरमाथा आरोहण गरे। उनीहरूले विश्वको सर्वोच्च हिमाल सगरमाथा २०२३ मे २३ मा आरोहण गरेका थिए। सगरमाथाको उचाइ ८ हजार ८ सय ४८.८६ मिटर छ। उनीहरूले २३ मेमै ल्होत्से हिमाल अरोहण गरे। यो हिमाल ८ हजार ५ सय १६ मिटर अग्लो छ। ल्होत्से विश्वको चौथो अग्लो हिमाल हो।

सन् २०२३ मे २९ मा उनीहरूले ८ हजार १ सय ६७ मिटर अग्लो धौलागिरि हिमाल आरोहण गरेका थिए। उचाइका हिसाबले धौलागिरि विश्वको सातौ अग्लो हिमाल हो। त्यस्तै उनीहरूले जुन ५ मा ८ हजार ९१ मिटर अग्लो नेपालको अन्नपूर्ण प्रथम हिमाल अरोहण गरे। अन्नपूर्ण प्रथम विश्वको १० औं अग्लो हिमाल हो। त्यसको ५ दिनपछि उनीहरूले जुन १० मा मनास्लु हिमाल आरोहण गरे। यो विश्वको आठौैं अग्लो हिमाल हो। यसको उचाइ ८ हजार १ सय ६३ मिटर छ।

हारिला र शेर्पाले सन् २०२३ जुन २६ मा नांगा पर्वतको आरोहण गरे। ८ हजार १ सय २५ मिटर अग्लो नांगा पर्वत पाकिस्तानमा छ। जुन उचाइका हिसाबले विश्वको नवौं स्थानमा छ। नांगा पर्वतपछि उनीहरूले २०२३ जुलाई १५ मा पाकिस्तानस्थित गासेरब्रम दोस्रो हिमाल आरोहण गरे। यसको उचाइ ८ हजार ३४ मिटर छ। उचााइका हिसाबले यो हिमाल विश्वको ११औं स्थानमा छ। त्यसको ३ दिन पछि जुन १८ मा उनीहरूले गासेरब्रुम प्रथम हिमाल आरोहण गरे। पाकिस्तानमै अवस्थित गासेरब्रुम प्रथम ८ हजार ८० मिटर अग्लो छ। त्यस्तै उनीहरूले २०२३ जुलाई २३ मा पाकिस्तानस्थित ब्रोडा पिक आरोहण गरेका थिए। यसको उचाइ ८ हजार १ सय २५ मिटर छ। ब्रोडा पिकपछि उनीहरूले जुलाई २७ मा केटु हिमाल आरोहण गरेका हुन्।  

हारिला र शेर्पाले नेपाली पर्वतारोही निर्मल पुर्जाको कीर्तिमान तोडेका छन्। चार वर्षअघि पुर्जाले ७ महिनामा ८ हजार मिटरभन्दा अग्ला १४ वटा हिमाल चढेर कीर्तिमान राखेका थिए।  

नेपाल सरकारले सन् २०२३ देखि २०३३ लाई पर्यटन दशक घोषणा गरेको छ। सोहीअनुरूप यस वर्ष दस लाख पर्यटक नेपाल भित्र्याउने सरकारको योजना छ।  कोभिडपछि अर्थतन्त्र कमजोर भएको अवस्थामा पनि हिमाल अरोहण गर्न मानिसहरू लालायित भएको जनाउँदै सेभेन समिट ट्रेकका महाप्रबन्धक गुरागाईंले भने, ‘विदेशीहरूको हिमाल आरोहण मोहलाई सरकाले क्याच गर्र्नुपर्छ। मुलुकको आर्थिक अवस्था सुधार्न यसले सहयोग गर्छ।’  

प्रकाशित: १२ श्रावण २०८० ०१:०३ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App