१५ वैशाख २०८१ शनिबार
image/svg+xml
समाज

अकर्मण्यताले ‘योग दिवस’ अपहरित

भृकुटीमण्डप तामझामसाथ सिँगारियो । प्रवेशद्वारदेखि भित्रैसम्म भारतीय योगगुरु रामदेव र आचार्य बालकृष्णका तस्बिरयुक्त ब्यानर टाँगिए ।

बिहान झिसमिसेमै मान्छेको हुल प्रदर्शनीमार्गतर्फ लाग्यो । प्रधानमन्त्री शेरबहादुर देउवासहित उच्चपदस्थ झन्डा हल्लाउँदै भृकुटीमण्डप पुगे । सर्वसाधारण कार्पेट ओछ्याइएको भुइँमा पलेटी मारेर बसे । प्रधानमन्त्रीसहितका उच्चपदस्थ मञ्चमा उभिए । अनि सुरु भयो– अनुलोम विलोम ।

‘हामीले पञ्चायतका प्रधानमन्त्री सूर्यबहादुर थापादेखि गणतन्त्रका प्रधानमन्त्रीलाई समेत अन्तर्राष्ट्रिय योग दिवसको पहलका लागि आग्रह गरेका थियौं तर उहाँहरुले पहल नगरिदिँदा भारतले त्यसको फाइदा लियो ।’
योगगुरु हरिप्रसाद पोखरेल

गत बुधबार देखिएको दृश्य हो यो । सन्दर्भ थियो–अन्तर्राष्ट्रिय योग दिवस । संयुक्त राष्ट्रसंघको ६९औं महासभाले जुन २१ लाई अन्तर्राष्ट्रिय योग दिवसका रुपमा पारित गरेपछि हरेक वर्ष यस दिन राजधानीको खुला स्थानमा यस्तै दृश्य दोहोरिन्छ । यो दृश्य निर्माणका लागि केही सातादेखि नै तयारीमा जुट्छ– नेपाल सरकार, शिक्षा मन्त्रालय । 

अन्तर्राष्ट्रिय योग दिवस मनाउन भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रसंघमा प्रस्ताव गर्दा पहिलो समर्थन दिएका थिए तत्कालीन प्रधानमन्त्री सुशील कोइरालाले । त्यसैले होला, हरेक वर्ष नेपाल सरकारलाई पनि योग दिवस उधुमै लाग्छ, राष्ट्रिय पर्वजसरी यसलाई मनाउँछ । 

भृकुटीमण्डपमा तामझामका साथ अन्तर्राष्ट्रिय योग दिवस मनाइँदै गर्दा हरिप्रसाद पोखरेल भने आफ्नै घरमा योगाभ्यास गर्दै थिए । प्राकृतिक चिकित्सक र योगाभ्यास गुरु पोखरेललाई भृकुटीमण्डपको तामझामले तानेन, बरु त्यसले भित्रभित्रै चिमोटिरह्यो । 

‘हामीले पहल गर्दा अन्तर्राष्ट्रिय ‘लबिङ’ नगर्ने सरकार अर्कै देशका मान्छेको फोटो राखेर योग दिवस मनाइरहेको छ,’ भृकुटीमण्डप नजानुको कारण खुलाउँदै पोखरेलले भने, ‘कम्तीमा पनि सरकारले नै कुनै कम्पनी चलाउनेलाई यसरी प्रवद्र्धन गर्नु हुँदैनथ्यो ।’ 

पोखरेलमात्र होइन, नेपालका धेरै योग अभियन्ता बुधबार भृकुटीमण्डप  पुगेनन् । पुगुन् पनि कसरी, उनीहरुले २०३६ सालदेखि चलाएको अन्तर्राष्ट्रिय योग दिवस अभियानलाई कसैले अपहरण गरेर त्यसको जस लिएको हेर्न ।

भारतीय प्रधानमन्त्री मोदीले चार वर्षअघि राष्ट्रसंघ महासभामा अन्तर्राष्ट्रिय योग दिवसको प्रस्ताव गर्नुपूर्व नै नेपाली अभियन्ताले यसबारे अभियान चलाएका थिए । उनीहरुले विभिन्न १४ मुलुकमा त्यसका लागि ‘च्याप्टर’ समेत बनाए ।  

‘हामीले २०३६ सालदेखि अभियान सुरु गरेका थियौं,’ योगलाई अन्तर्राष्ट्रियकरण गर्ने अभियानका नेतृत्वकर्तामध्येका एक पोखरेल भन्छन्, ‘अभियानले अन्तर्राष्ट्रिय गति लिइरहेको थियो तर हाम्रै सरकारले कूटनीतिक पहल नगरिदिँदा सफल हुन सकिएन ।’ 

योग र प्राकृतिक चिकित्साको उद्गम हिमालय क्षेत्रलाई मानिन्छ । संसारका अग्ला १० मध्ये आठवटा हिमाल रहेको नेपालमा प्राचीन कालदेखि नै योगाभ्यास हुने विश्वास गरिन्छ । यस आधारमा योगको उद्गम भूमिका रुपमा नेपालले यसलाई अन्तर्राष्ट्रियकरण गर्नुपर्ने भन्दै पोखरेलको समूहले सुरुदेखि नै पहल गरेको थियो ।
 
‘हामीले पञ्चायतका प्रधानमन्त्री सूर्यबहादुर थापादेखि गणतन्त्रका प्रधानमन्त्रीलाई समेत अन्तर्राष्ट्रिय योग दिवसको पहलका लागि आग्रह गरेका थियौं,’ पोखरेलले भने, ‘तर उहाँहरुले पहल नगरिदिँदा भारतले त्यसको फाइदा लियो ।’ 

नेपाली अभियन्ताले उत्तरायण सुरु हुने पहिलो दिन अर्थात् माघ १ गतेलाई अन्तर्राष्ट्रिय योग दिवसका रुपमा मनाउन सुरु गरे । ‘हामीले जिल्लाजिल्ला पुगेर योग कक्षा सञ्चालन ग¥यौ,’ पोखरेल भन्छन्, ‘हरेक वर्ष माघ १ गतेलाई अन्तर्राष्ट्रिय योग दिवस मनाउन थाल्यौं ।’ 

नेपाली अभियन्ताले अन्य मुलुकका लागि सजिलो होस् भनेर माघ १ गतेको दिन चयन गरेका थिए । माघ १ गते प्रायः जनवरी १४ तारिख पर्छ । यही कारण हो, उनीहरुले माघ १ गतेलाई रोज्नुको । ‘हरेक तीन वर्षमा एक वर्षमात्र माघ १ गते १४ तारिखमा नपर्ने भएकाले हामीले यसैलाई रोजेका थियौं,’ पोखरेल भन्छन् । 

उत्तरायण सुरु हुने दिनलाई अन्तर्राष्ट्रिय योग दिवस मनाउन नेपाली अभियन्ताले संयुक्त राष्ट्रसंघलाई पटकपटक पत्राचारसमेत गरेका थिए । तर, सरकारी पहलबिना पत्राचार गर्दैमा राष्ट्रसंघले कहाँ सुन्थ्यो र ? ‘हामी तातेका बेला सरकारले पनि राष्ट्रसंघमा पहल गरिदिएको भए भारतले लिएको फाइदा नेपालले लिनसक्थ्यो,’ पोखरेल भन्छन्, ‘हाम्रो नाम विश्वले चिन्थ्यो ।’

जुन २१ को संयोग 
कुनै बेला भारतको दक्षिणपन्थी हिन्दु संगठन राष्ट्रिय स्वयंसेवक संघ (आरएसएस) मा सक्रिय मोदीको भारतीय जनता पार्टीले २०१४ को आम निर्वाचनमा बहुमत ल्यायो । प्रधानमन्त्री बनेपछि मोदीले योगलाई भारतीय प्रभाव फैलाउने ‘सफ्टपावर’ का रुपमा प्रयोग गर्न थाले । नेपाली अभियन्ताले १४ जनवरीलाई अन्तर्राष्ट्रिय योग दिवसका रुपमा ‘लबिङ’ गरिरहेकै थिए । तर, सरकारी पहल भने शून्य थियो । 

राष्ट्रसंघ महासभामा सहभागी हुन पुगेका मोदीले जुन २१ लाई अन्तर्राष्ट्रिय योग दिवसका रुपमा मनाउन प्रस्ताव गरे । मोदीको प्रस्तावलाई तत्कालीन नेपाली प्रधानमन्त्री सुशील कोइरालाले पहिलो समर्थकका रुपमा समर्थन जनाए । योग दिवसको प्रस्तावलाई ९० दिनमा १ सय ७७ मुलुकले समर्थन गरे । यो अन्तर्राष्ट्रिय दिवस बन्यो । 

मोदीले जुन २१ लाई योग दिवसका रुपमा वर्षको लामो दिन भएकाले प्रस्ताव गरेका थिएनन् । कुनै बेला आरएसएस कार्यकर्ता मोदीले ठीक त्यसै दिनलाई योग दिवसका रुपमा राष्ट्रसंघमा प्रस्ताव गरे, जुन दिन यसका संस्थापक केशव बलिराम हेडगेवरको मृत्यु भएको थियो । आरएसएसका संस्थापकको स्मृतिदिवसमा मनाइने योग दिवस अहिले संसारभर अन्तर्राष्ट्रिय दिवसका रुपमा स्थापित हुँदैछ । 

अन्तर्राष्ट्रिय हुन नसकेपछि राष्ट्रिय 
संयुक्त राष्ट्रसंघ महासभाले अन्तर्राष्ट्रिय योग दिवस पारित गरेपछि नेपाली नेताको आँखा खुल्यो । भारत र संसारभर यसको चर्चा हुन थालेपछि नेपाली नेताले योग अभियन्तालाई आफैं फोन गरेर बोलाए । उनीहरुले गरेको पहलबारे जानकारीसमेत लिए । 

तत्कालीन शान्तिमन्त्री नरहरि आचार्यले अभियन्तालाई बोलाएर अभियानलाई पहिचान दिन पहल गर्ने आश्वासन दिए । आचार्यकै पहलमा २०७२ साउन २८ गतेको मन्त्रिपरिषद् बैठकले माघ १ गतेलाई राष्ट्रिय योग दिवसका रुपमा मनाउने निर्णय ग¥यो । ‘नेपाल सरकारले माघ १ गते (माघी पर्व) लाई राष्ट्रिय योग दिवस घोषणा गरेको छ,’ आचार्यले त्यसैदिन फेसबुक स्टाटस लेखे, ‘यसबाट २०३६ सालदेखि निरन्तर मनाइँदै आएको योग दिवसले राष्ट्रिय मान्यता पाप्त गरेको छ । यसका अभियन्ता योगाचार्य डा. हरिप्रसाद पोखरेललगायत सबैलाई हार्दिक बधाई ।’

त्यसपछि  नेपाली अभियन्ताले हरेक वर्ष माघ १ गते योग दिवस मनाउँदै आएका छन् । ‘कतिपय अन्तर्राष्ट्रिय दिवस हुदाँहुदै किन राष्ट्रिय योग दिवस चाहियो, हटाउनु  पर्छ भनेर लागिरहेका छन्,’ अभियन्ता पोखरेल भन्छन्, ‘हामीले भने मनाउँदै आएका छौं ।’ 

गएका दुई वर्षमा शिक्षा मन्त्रालयले पनि यस दिनलाई राष्ट्रिय योग दिवसका रुपमा मनाउन मूल समारोह समिति नै बनाएर कार्यक्रम गरेको थियो ।

सरकारले आफ्नो अभियानलाई समयमै नसुनिदिँदा अर्कैले योग दिवसको अवधारणा अपहरण गरेपछि अभियन्ता पोखरेललाई सुरुमा साह्रै चिन्ता लागेको थियो । ढिलै भए पनि राष्ट्रिय योग दिवसका रुपमा आफ्नो अभियानले पहिचान पाएपछि भने उनलाई थोरै भए पनि शान्ति मिलेको छ । ‘हिमाली क्षेत्रबाटै उत्पत्ति भएको योग विश्वभर पुग्दा खुसी लागेको छ,’ उनी भन्छन्, ‘ढिलै भए पनि हाम्रो आवाज सुनेर राष्ट्रिय योग दिवसलाई मान्यता दिएर सरकारले अलिकति भए पनि गुन लगाएको छ ।’

प्रकाशित: १० असार २०७४ ०१:२९ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App