२२ असार २०८१ शनिबार
image/svg+xml
समाज

कैलालीमा वनका पदाधिकारी र कर्मचारीको मिलेमतोमा वन फडानी

स्थानीय वासिन्दाको उजुरीपछि मन्त्रालयद्वारा छानबिन समिती गठन

चुरेसँगै जोडिएको कैलालीको गोदावरी नगरपालिका, १२ स्थित रातोपानी सामुदायिक वनमा तस्कहरुले धेरै मात्रामा सालका रुखहरु काटेका छन्। विगत चार पाँच साता यतादेखि वन फडानी भइरहेको स्थानीय बताउँछन्।

‘हामी स्थानीय उपभोक्ता बनमा जाँदा २२ वटा सालका रुख काटेको देखेका थियौं’ स्थानीय बम मिजारले भने, ‘व्यापक रुपमा बन फडानी भएको छ।’  सामुदायिक वन उपभोक्ता समितीका पदाधिकारी र वन कर्मचारीकै संलग्नतामा तस्करहरुले वनमा रुख काटेर वनमै रुख चिरान गर्ने गरेको स्थानीय बताउँछन्।

‘सामुदायिक वनका पदाधिकारी र वनका कर्मचारीको मिलेमतो बिना यती ठूलो संख्यामा वन फडानी हुन संभव हुदैन’ स्थानीय एक महिलाले भनिन्,‘छानबिन गरेर रुख काट्नमा संलग्नहरुलाई कारवाही गरियोस।’

रुख काट्ने, चिरान गर्ने मजदुरहरु सहित दलबल लगेर जंगलमा यती ठूलो संख्यामा रुख काटेर तस्करी गर्नेबेलासम्म बनका कर्मचारीले कुनै वास्ता नगरेको स्थानीय बताउँछन्। स्थानीयले बिरोध जनाएर उजुरी दिएपछि मात्र वन कार्यालयले वनमा अनुगमन गरेको स्थानीय उपभोक्ता बताउँछन्।

‘हामी स्थानीयले वन फडानी गरेको विरोधमा अवाज उठाएपछि मात्र वन कार्यालयका कर्मचारीले जंगल फडानी रोक्न सक्रियता देखाएका हुन,’ स्थानीय भीम बहादुर बिकले भने।

सव वन डिभिजन कार्यालय अत्तरियाका प्रमुख निराजन कडालले जंगलमा रुख कटान हुने  बेला अनुमगन गर्न नसक्नुमा कमजोरी भएपनि रुख कटानमा वनका कर्मचारीको संलग्नता भन्ने कुरा हुनै नसक्ने बताए। वन फडानी भएको जानकारी पाएपछि असार महिनामा जंगलमा अनुगमन गर्दा सालका १६ रुख काटेको अवस्थामा फेला परेको उनले बताए। सालका रुख काटेर तस्करी गरिएको सबै काठ भने वरामद गर्न नसकिएको उनको भनाइ छ। २ सय थान चिरान कडी र ५० वटा फ्रेम मात्र बरामद गरेको उनले बताए। दुई जना वन उपभोक्ता समितीका सदस्य पक्राउ गरिएको छ।

सामुदायिक वन उपभोक्ता समितीका अध्यक्ष सहित १२ जनाको पुरै कार्यसमितीको संलग्नतामा रुख काटिएको भएपनि जिल्ला अदालतले अनुमती नदिदाँ अरुलाई पक्राउ गर्न नसकेको उनी बताउँछन्। ‘अध्यक्ष सहितका पदाधिकारीलाई पक्राउ नगरेकाले पनि स्थानीयले वनका कर्मचारीको पनि मिलेमतो छ कि भनेर भनिरहेका हुन सक्छन, जिल्ला अदालतले अनुमती नदिदाँ पक्राउ गर्न नसकिएको हो,’ प्रमुख कडालले भने,‘सबै माथी मुद्धा चलाउने तयारी गरिरहेका छौं’।

यसैबीच स्थानीयले लिखित उजुरी दिएपछि प्रदेशको उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयले वनमा भएको वन फडानीबारे छानबिन गर्न मन्त्रालयका उपसचिव भरतप्रसाद भट्टको संयोजकत्वमा छानविन समिति गठन गरेको छ। स्थानीय उपभोक्ताको लिखित उजुरी परेकोले छानबिन गर्न मन्त्रालयले भट्टको संयोजकत्वमा छानबिन समिती गठन गरेको मन्त्रालयका सचिव बेदकुमार ढकालले बताए।

वनका कर्मचारीको समेत संलग्नतामा वन फडानी भएको र वन फडानीमा संलग्नहरुलाई बचाउने चलखेल भएकोले मन्त्रालयमा नै उपभोक्ताले लिखित उजुरी दिएको बुझिएको छ। वन फडानी भएकोमा वन निर्देशनालयले छानबिन गर्नुपर्ने भएपनि उक्त सामुदायिक वनमा भएको वन फडानी र तस्करी मिलेमतोमा भएको गम्भिर देखिएकोले मन्त्रालयल आफै छानबिन गर्न थालेको मन्त्रालयका एक कर्मचारीले बताए।

पाँच सय हेक्टर क्षेत्रफलमा फैलिएको रातोपानी सामुदायिक वन चुरेसँग जोडिएको महत्वपूर्ण भावर क्षेत्र हो।

प्रकाशित: ८ श्रावण २०८० ११:४० सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App