७ जेष्ठ २०८१ सोमबार
image/svg+xml
समाज

चौदण्डीगढीमा खानेपानी हाहाकार

खानेपानी तत्काल उपलब्ध गराउन नगरप्रमुखसँग माग गर्दै उपभोक्ताहरु। तस्बिरः महेश्वर

उदयपुरको चौदण्डीगढी नगरपालिका केन्द्र बेल्टार बजारमै साता दिनयता खानेपानीको हाहाकार भएको छ।  

तत्कालीन बेलटार गाविस स्तरीय खानेपानी उपभोक्ता समिति मार्फत २ दशकदेखि कार्यरत ३ जना प्राविधिकलाई नगरपालिकाले साउन १ गतेदेखि निस्कासन गरेपछि मर्मत  संभारको अभावमा उपभोक्ता खानेपानीबाट वञ्चित हुन पुगेका हुन्।

वर्षाको समय र पुरानो योजना भएकाले बिग्रिरहने मुहान र पाईपलाईनको नियमित मर्मत संभार गर्ने कर्मचारी पँजनीमा परेपछि रेखदेख गर्ने मान्छेको अभावमा सातादिनदेखि खानेपानीको चरम अभाव भएको उपभोक्ताको गुनासो छ। सो योजनाबाट लाभान्वित बेलटार बजार रहेको वडा नं. ६ र ७ सँगै चौदण्डीगढी १, २ र ८ गरी सिंगो नगरको झण्डै ७० प्रतिशत जनता खानेपानीको अभावले आक्रोसित भएका छन्।

गाविसले सञ्चालन गर्दै आएको खानेपानी योजना स्थानीय तह पुर्नसंरचनापछि हाल नगरपालिकाको जिम्मामा छ। तर, नगरले १४ वर्षदेखि कार्यरत कर्मचारीलाई राजनीतिक पूवाग्रहका आधारमा निस्कासन गर्दा हजारौँ उपभोक्ता खानेपानीबाट वञ्चित हुनु परेको गुनासो छ। खानेपानी जस्तो संवेदनशिल विषयमा राजनीतिक आग्रह पूर्वाग्रह राखेर कदम चाल्नुम नगर जनप्रतिनिधिको गम्भीर कमजोरी भएको दुखेसो पनि नगरबासीको छ।

बजारमै सातादिनदेखि खानेपानीको चरम अभाव भएपछि उपभोक्ताले नगरप्रमुख कालुमान तामाङको कार्यकक्ष घेराउ गरेका छन्। खानेपानी अभाव हुन थालेपछि यसबारे उपभोक्ताले कर्मचारीलाई जानकारी गराएका थिए। तर, कर्मचारीहरुले आफूहरु असार अन्तिमदेखि निस्कासनमा परिसकेको जानकार गराएपछि मात्र पानी आउन छाड्नुको कारण थाहा पाएको गाविस खानेपानी समिति बेलटारकी अध्यक्ष मकुकला राईले बताईन्। उनका अनुसार वर्षौँदेखि कार्यरत अनुभवी कर्मचारीहरु दिलबहादुर मगर, जयबहादुर राई र खड्गबहादुर राई नगरपालिकाबाट निस्कासनमा परेपछि खानेपानी आउन छाडेको हो।

४/५ दिनसम्म खानेपानी समस्या हुन थालेपछि समितिको बैठक बसी नगरप्रमुखको न्यानाकर्षण गराएको उनले बताइन्। ५ वटै वडाध्यक्षको उपस्थितिमा समितिको बैठक राखेर आइतबार नगरप्रमुखलाई ज्ञापनपत्र बुझाउँदै तत्काल खानेपानी सुचारु गर्न माग गरेको अध्यक्ष राईले बताइन्। खानेपानीका प्राविधिक कर्मचारी निकाल्दा उपभोक्तालाई पर्न गएको प्रभावबारे सचेत गराउँदै समितिले तत्काल निस्कासित प्राविधिकलाई पुनरवहाली गरी खानेपानी सुचार गर्न पनि आग्रह गरेको अध्यक्ष राईले बताएकी छिन्।

उपाध्यक्ष वंशबहादुर खड्काका अनुसार खानेपानी अभाव तत्काल पुरा गर्न सांकेतिक र शान्तिपूर्ण आन्दोलनका रुपमा प्रत्येक घर १ जना र घरलौरी रित्तो घैलासहित वडा कार्यालय पुगेर विरोध जनाउने निर्णयसमेत बैठकले गरेको छ। वर्षौँदेखि काम गर्दै आएका प्राविधिकलाई निस्कासन गर्दा कैयौँ नगरबासी काकाकुल बन्नुपर्ने अवस्था ल्याउने कदम जनप्रतिनिधिले फिर्ता लिनुपर्ने माग बैठकले गरेको छ।

समितिका सचिव काजीवबहाुदर राईले बजारबासीलाई खानेपानीको अभाव हुन नदिन २ दशक अघिदेखि सञ्चालित खानेपानी योजनामा १५ वर्षदेखि ३ जना प्राविधिक राखेर काम लगाउँदै आइएको थियो। ज्यालादारीमा कार्यरत उनीहरुमध्ये १ जनालाई मासिक १४ हजार र २ जनालाई १३ हजारका दरले पारिश्रमिक दिइदै आएको सचिव राईले बताए। तर, नगरपालिकाले यतिका वर्ष काम गरेका मान्छेलाई निकालेर एकातिर खानेपानीको अभाव गराएको र अर्कातिर अनुभवी कर्मचारीलाई किानलेर गलत संस्कारको विकास गरेको उनको भनाइ छ।

यसअघिका नगरप्रमुख खगेन्द्र राईले उपभोक्तालाई २४ सै घण्टा सुद्ध खानेपानीको खाँचो नहुनेगरी छिटो छरितो मर्मतसंभार गर्न प्राविधिकलाई साईकल उपलब्ध गराएको सचिव राईले बताए। तर, अहिलेकाले जागीरबाटै निकालेर उल्टो कदम चालेको उनको भनाइ छ। ‘पहिलेका मेयरले छिटो छरितो मर्मत गर्न भनेर प्राविधिकलाई साईकल दिएका थिए’ सचिव राईले भने ‘अहिलेका मेयरले त जागीरबाटै पो निकालिदिएर खानेपानी नै नपाउने काम भएको छ।’  

नगरप्रमुख तामाङले नगरपालिकालाई आर्थिक बोज कम गर्न अनावश्यक कर्मचारी छाँटकाँट गरिएको बताएका छन्। नगरमा अनावश्यक कर्मचारी राख्दा झण्डै वर्षमा ३ करोड हाराहारी आर्थिक बोझ रहेको भन्दै उनले अनावश्यक कर्मचारी संख्या कटौति गरेर ५ वर्षमा १२÷१५ करोड रकम बचाउने तथा असक्षम, अल्छी र नियम अनुसार काम नगर्ने जनशक्ति हटाउने निर्णय गरेको मेयर तामाङको भनाइ छ। जस अनुसार चालु आर्थिक वर्ष सुरुमै करारका १७ जना कर्मचारीको नियुक्ति नवीकरण नगर्ने निर्णय भएको उनको भनाइ छ। खानेपानीको हकमा तत्काल आवश्यक व्यवस्था गरी मर्मत संभार गरेर उपभोक्तालाई पानी उपलब्ध गराउने प्रतिबद्धता पनि उनले जनाएका छन्।  

प्रकाशित: ८ श्रावण २०८० ०८:२८ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App