२४ वैशाख २०८१ सोमबार
image/svg+xml
समाज

पशुपतिनगर नाकामा सूचना केन्द्र र ट्याक्सी पार्क

भारतीय सीमाक्षेत्र इलामको सूर्याेदय नगरपालिका–२, पशुपतिनगरमा पर्यटन सूचना केन्द्र र ट्याक्सी पार्क उद्घाटन गरिँदै।

भारतीय सीमाक्षेत्र पशुपतिनगर बजारमा पर्यटन सूचना केन्द्र र ट्याक्सी पार्क निर्माण गरिएको छ। सूर्याेदय नगरपालिकाले निर्माण गरेका केन्द्र र पार्क आज उद्घाटन गरिएका छन्।

यहाँ घुम्न आउने विशेष गरी आन्तरिक र भारतीय पर्यटकको सुविधाका लागि सीमा क्षेत्रमा सूचना केन्द्र स्थापना गरिएको नगरले जनाएको छ। यही स्थानमा ट्याक्सी पार्क पनि निर्माण भएपछि पर्यटक र यात्रुलाई सजिलो भएको छ। 

केन्द्र र पार्क उद्घाटन गर्दै सूर्योदयका मेयर रणबहादुर राईले पशुपतिनगर नाका पूर्वी पहाडको ढोका पनि भएकाले यहाँ पर्यटकको आऊ–जाऊ बढ्ने आशा गरेको बताए। उनले यहाँ आएका आन्तरिक र बाह्य पर्यटकलाई नेपालका पर्यटकीय, धार्मिक, सांस्कृतिक क्षेत्र लगायतबारे सूचना दिन केन्द्र स्थापना गरिएको जनाए।

‘यहाँ सूचना केन्द्र स्थापना भएपछि विशेष गरी पर्यटकले आफू घुम्न जान चाहेको स्थानका बारेमा जानकारी  पाउनेछन्,’ उनले भने, ‘ट्याक्सी पार्कले पर्यटकसहित सबै यात्रुलाई सुविधा पुग्नेछ।’ १६ लाख १८ हजार रुपैयाँमा सूचना केन्द्र र १० लाख २२ हजार रुपैयाँ लगानीमा ट्याक्सी पार्क निर्माण गरिएको नगरका इन्जिनियर सृजन गदालले जानकारी दिए। उनका अनुसार सूचना केन्द्रको फर्निचरका लागि कोशी प्रदेश सरकारले समेत सहयोग गरेको छ। ३ रोपनी ८ आनामा फैलिएको पार्कमा ८० ट्याक्सी तथा जिप अटाउने छन्। शौचालयको सुविधासमेत रहेको उनले जनाए।

पशुपतिनगर नाका भएर बर्सेनि सयौँ नेपाली भारतका दार्जिलिङ, मिरिक, सिक्किमल, सिलिगुडीलगायत स्थानमा घुम्न जान्छन्। यहाँबाट त्यही संख्यामा बंगाली पर्यटक नेपाल आउने गरेका छन्। पशुपतिनगर नाकामा भन्सार कार्यालय रहे पनि भन्सार सुविधा भने छैन। भारतपट्टि उही प्रकृतिको कार्यालय नहुँदा पशुपतिनगरको अध्यागमन कार्यालय पनि वर्षाैंयता कामविहीन छ।  

प्रकाशित: ४ श्रावण २०८० १३:०६ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App