१९ वैशाख २०८१ बुधबार
image/svg+xml
समाज

व्यापारीलाई मल बेच्ने सहकारीको विक्रेता प्रमाणपत्र खारेज

गत असारमा सरकारले किसानका लागि सहुलियत दरमा पठाएको मल निजी पसलमा भेटिएपछि जफत गरिँदै।

किसानलाई बाँड्नुपर्ने सरकारी अनुदानको रासायनिक मल व्यापारीलाई बेचेको पुष्टि भएपछि इलाम नगरपालिकाको एक सहकारीको विक्रेता प्रमाणपत्र खारेज गरिएको छ। वडा १,साखेजुङको सूर्य ज्योति कृषि सहकारी संस्थाको विक्रेता प्रमाणपत्र कृषि सामग्री कम्पनी लिमिटेडले खारेज गरिदिएको हो।

जिल्ला प्रशासन कार्यालयले गरेको अनुगमनमा इलाम नगरपालिका–७,सुनगाभा चोकको एक कृषि बीज भण्डारमा अनुदानको मल विक्रीका लागि राखेको पाइएको थियो। सूर्य ज्योति सहकारीबाटै यो निजी पसलसम्म  विक्रीका लागि मल ल्याएको पुष्टि भएपछि सहकारीको विक्रेता प्रमाणपत्र खारेज गरिएको हो।

भेषराज पराजुलीले सञ्चालन गरेको पसलमा गत असारमा गरिएको अनुगमनमा ३४ बोरा युरिया र १८ बोरा डिएपी मल भेटिएको थियो। तीन दिनभित्रमा कागजात बुझाउन दिइएको म्याद असार १७ मा सकिँदा पसलले मलको आधिकारिकताबारे कुनै प्रमाण दिन नसकेपछि सहकारीबाटै मल लिएको पुष्टि भएको थियो। त्यसपछि जिल्ला प्रशासन कार्यालयले पसलमा भेटिएको ५२ बोरा मल जफत गरी इलाम नगरपालिकालाई बुझाएको थियो भने पसल सञ्चालकलाई २ लाख रुपैयाँ जरिमाना गराइएको थियो। सहकारीले लिमिटेडबाट ३ सय ७० बोरा (प्रतिबोरा ५० किलो) युरिया र १ सय ५८ बोरा डिएपी लिएको थियो।

सहकारी नियमन गर्ने इलाम नगरपालिकाले सूर्य ज्योतिलाई कारबाही प्रक्रिया अघि बढाउन बाँकी नै रहेको जनाएको छ। ‘अब केही दिनभित्रै नगरले सहकारीले निजी व्यवसायीलाई अनुदानको मल दिएको भन्ने विषयमा थप अध्ययन गरी कारबाही प्रक्रिया अघि बढाइने छ,’उपमेयर विष्णु लिम्बू दाहालले भनिन्। 

प्रकाशित: ४ श्रावण २०८० १२:३० बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App