३ पुस २०८१ बुधबार
image/svg+xml
समाज

कोशी प्रदेशमा एक वर्षमा सवारी दुर्घटना परी ४१२ को मृत्यु

कोशी प्रदेशमा एक वर्षको अवधिमा भएका दुर्घटनामा परि ४१२ जनाको मृत्यु भएको छ। 

२०७९ साउनदेखि २०८० असार मसान्तसम्म भएका दुर्घटनामा मृत्यु हुनेको तुलनामा १३ गुणभन्दा बढी घाइते भएका छन्। घाइतेमध्ये ८१० जना गम्भीर र चार हजार ७९७ जना सामान्य छन्।

२०६८ साउनदेखि २०७९ असार मसान्तसम्म कोशी प्रदेशमा पाँच सय ३१ जनाको मृत्यु भएको थियो। यस तथ्याङ्कलाई आधार मान्दा पछिल्लो एक वर्षमा मानवीय क्षति एक सय १९ जना अर्थात् २२.४१ प्रतिशतले कमी आएको छ। 

यस्तै, अघिल्लो वर्षको तुलनामा पछिल्लो एक वर्षयता गम्भीर घाइते हुनेको सङ्ख्यामा ३२.६६ प्रतिशत र सामान्य घाइते हुनेको सङ्ख्यामा ११.९० प्रतिशतले कमी आएको छ।

कोशी प्रदेशस्तरीय नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय इटहरीले बुधबार पत्रकार डाकेर पछिल्लो एक वर्षयता भएका दुर्घटनाको तथ्याङ्क सार्वजनिक गर्दा सबैभन्दा बढी छ स्थानमा दुर्घटना भएका छन्।

जसमा पूर्व–पश्चिम राजमार्ग अन्तर्गत झापाको दमकदेखि पाडाजुगे सडक खण्डमा १५४ वटा दुर्घटना हुँदा २८ जनाको मृत्यु भएको छ। यस्तै, कोशी राजमार्ग अन्तर्गत मोरङको बुढीगंगाको नेमुवादेखि दूध फारामसम्म ६० वटा दुर्घटना हुँदा आठ जनाको मृत्यु भएको तथ्याङ्कमा सार्वजनिक गरिएको छ। पूर्व–पश्चिम राजमार्ग अन्तर्गत मोरङकै बेलाबारीको लक्ष्मी मार्गदेखि कानेपोखरीसम्म ७८ वटा दुर्घटना हुँदा १४ जनाको मृत्यु भएको छ।

सो अवधिमा भएका दुर्घटनामध्ये पूर्व–पश्चिम राजमार्ग अन्तर्गत नै सुनसरीको भोक्राहा नरसिंहको सुनसरी खोलादेखि भण्टाबारीसम्मको सडक खण्डमा ११३ वटा दुर्घटना हुँदा १७ जनाको मृत्यु भएको उल्लेख गरिएको छ। 

यस्तै, कोशी राजमार्ग अन्तर्गत सुनसरीकै इटहरी वडा नं.२ आपगाछी क्षेत्रमा ८० वटा दुर्घटना हुँदा आठ जनाको मृत्यु भएको छ। दुहवीको सोनापुरदेखि बुढी खोला नदीसम्म ६९ वटा दुर्घटना हुँदा नौ जनाको मृत्यु भएको तथ्याङ्क सार्वजनिक गरियो।

‘विशेष गरी बढी मात्रमा तराईका तीन जिल्लाका छ वटा क्षेत्रमा बढी दुर्घटना हुँदा मानवीय क्षति भएको छ, तिनै स्थानमा भएका दुर्घटनामा घाइते हुनेको सङ्ख्या पनि बढी छ,’ नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय इटहरीका प्रमुख एसपी श्यामकुमार महत्तोले भने।

उनका अनुसार विगतका वर्षमा सबैभन्दा बढी तीव्र गतिमा सवारी साधन चलाउँदा र त्यसपछि मादक पदार्थ सेवन गरी सवारी चलाउने चालककै कारण दुर्घटना भएका थिए। पछिल्लो एक वर्षयता भने ट्राफिक नियमको उल्लंघन गर्दा बढी दुर्घटना भएको ट्राफिक प्रहरीले जनाएको छ।

यो अवधिमा ट्राफिक नियम उल्लंघन गर्नेको सङ्ख्या पछिल्लो एक वर्ष ११.८७ प्रतिशतले वृद्धि भएको छ। जसमा अघिल्लो साउनदेखि असार मसान्तसम्म तीन लाख एक हजार ८७१ वटा ट्राफिक नियम उल्लंघन गर्ने सवारी साधनलाई कारबाही गरिएको छ।

२०६८ साउनदेखि २०७९ असार मसान्तसमम ट्राफिक नियम उल्लंघन गर्ने दुई लाख ६९ हजार ८२३ वटा सवारी साधनलाई कारबाही गरिएको थियो।

‘धेरैलाई ट्राफिक ज्ञान भएतापनि मानेर कार्यान्वयन गर्ने परिपार्टी कम छ,’ एसपी महत्तोले भने।

कोशी प्रदेशमा आठ लाख ७० हजार सवारी साधन दर्ता भएका छन्। कारबाहीका क्रममा ट्राफिक नियम उल्लंघन गर्नेसँगै मापसे गर्नेविरुद्ध पनि विगतमा भन्दा पछिल्लो वर्ष कारबाहीमा वृद्धि भएको छ। जसमा आठ हजार ३६३ जनालाई मादक पदार्थ सेवन गरी सवारी चलाउनेलाई कारबाही गरिएको जानकारी दिइयो। २०६८ साउनदेखि २०७९ असार मसान्तसम्म पाँच हजार १०५ जना मापसे गरी सवारी चलाउने कारबाहीमा परेका थिए।

अचेल बढी मात्रमा युवायुवतीसँगै अन्यले मोटरसाइकल बढी मात्रमा प्रयोग गर्ने गर्छन्। युवायुवतीले एक त ट्राफिक नियम उल्लंघन गरी मोटरसाइकल कुदाउने र कतिपयले मापसे गर्दा बढी दुर्घटना हुने गरेको पाइएको छ।

यसरी मापसे गरेर सवारी साधन चलाउनेको सङ्ख्या बढिरहेका बेला केही दिनअघि सकिएको ट्राफिक सप्ताह कार्यक्रममा कोशी प्रदेश भरी लागू औषध सेवन गरी सवारी साधन चलाउनेलाई पनि निगरानी गर्दा २६ जना फेला परेको जानकारी दिइयो। २० वटा स्थानमा किटमार्फत पिसाब चेक गर्दा लागू औषध सेवन गरेर पनि सवारी साधन चलाउने फेला परेको एसपी महत्तोले जनाए।

पछिल्लो एक वर्षयता ट्राफिक प्रहरी कार्यालयले दुर्घटनालाई न्यूनीकरण गर्नकै लागि शहरी क्षेत्रका ३७ वटा स्थानमा पार्किङ व्यवस्थित गरेको जनाएको छ। जसमा सुनसरीका नौ, मोरङका २३, झापाका दुई, उदयपुरका दुई र सोलुको एक स्थानमा पार्किङ व्यवस्थित गरिएको छ।

प्रकाशित: ३ श्रावण २०८० १२:२२ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App