१२ असार २०८१ बुधबार
image/svg+xml
समाज

एक गाग्री पानीका लागि घन्टौँ हिँड्नुपर्ने बाध्यता

जाजरकोट –  त्रिवेणी नलगाड नगरपालिका–४, प्यारगाराकी सुशीला सार्कीलाई एक गाग्री पानी ल्याउन दैनिक छ घन्टाको समय खर्चनुपर्छ। 

घर नजिक पानीको सुविधा नहुँदा सुशीला मात्र हैन प्यारगाराका ३० घरपरिवारलाई तीन घन्टा टाढाको नाउलोबाट पिउने पानी ओसार्नुपर्ने बाध्यता छ । प्यारगाराका ३० घरपरिवारका पशुचौपायालगायतको पनि एकमात्र पानीको स्रोत हो, छिपछिपे मूलको नाउलो । यसमा पानीको स्रोत कम हुँदा गाग्री लिएर पुग्नेबित्तिकै पानी भर्न पाइँदैन । पालो कुरेर पानी भर्नुपर्दा समय बढी लाग्ने गरेको छ। 

“गाउँ नजिक पानीको कुनै स्रोत छैन । दुई घन्टा लगाएर पानी ल्याउनुपर्छ, पानी ओसार्दै दिन बित्छ । ५० वर्ष अघिदेखि पिउने पानीका लागि दुःख पाउँदै आएका छौँ,” स्थानीय तिलबहादुर सार्कीले भने, “पिउने पानीका लागि कुनै नेता र सङ्घसंस्थाले वास्ता गरेका छैनन् ।” यही नाउलोको पानी पनि कसले पहिला भर्ने भन्ने तछाडमछाड हुने गरेको उनले बताए। 

पशु चौपाया र जङ्गली जनावरले पनि यही नाउलामै पिउने गर्दा पानी दूषित हुने गरेको उनले बताए। वर्षात्को समयमा आकासे पानीको सङ्कलन गरेर खाने गरेको पनि उनले बताए। बालबालिकाले समेत पढ्न नपाई पानी ओसार्नमै समय खर्चन्छन्,” उनले भने। 

तीन हजार मिटरको उचाइमा रहेको प्यारगारा फूलचाउली गाउँमा पानी अभावले चर्पीको प्रयोग तथा सरसफाइमा समेत कमी देखिन्छ । पानी अभावमा नवआगन्तुकलाई बास बसाउन नै लाज लाग्ने गरेको भक्तबहादुर सार्कीले बताए। गाउँमा बनेका चर्पी प्रयोगविहीन छन् । स्थानीय बासिन्दा खोला खोल्सा र जङ्गलमा खुला शौच गर्न बाध्य भएका छन् । जसका कारण स्थानीय बासिन्दा झाडापखाला, आउँ, जुकालगायत रोगबाट पीडित हुने गरेका छन् ।

जिल्लाका सरकारी र गैरसरकारी निकायले बर्सेनि खानेपानी योजनामा करोडौँ खर्च गर्ने गरे पनि प्यारगारा, फूलचाउलीलगायत बस्ती भने सधैँ काकाकुल छ । रासस 

प्रकाशित: २९ जेष्ठ २०७४ ०६:२१ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App