१२ असार २०८१ बुधबार
image/svg+xml
समाज

लालपुर्जा पाउँदाको खुसी...

उद्घोषकले जग्गाधनी प्रमाणपुर्जा (लालपुर्जा) लिनका लागि नाम बोलाउँदा ८० वर्षीया ओकी सुनार खुसीले नाँच्दै मञ्चमा पुगिन्। हातमा लालपुर्जा पर्नासाथ उनका आँखाबाट आँसु झर्न थाल्यो। ‘यी दुःखका होइनन्, खुसीका आँसु हुन्,’ मञ्चबाटै उनले भनिन्, ‘लालपुर्जा नपाएरै मरिन्छ भन्ने डर थियो, त्यो पनि आजदेखि हट्यो।’

वर्षौ पहिले उनी रुकुमबाट श्रीमान्सँगै मेहलकुनाको खटाङ झरेकी थिइन्। भेरी किनारनजिकै उनका श्रीमान् भद्रे सुनारले बनमारा पन्छाएर जमिन जोडे। यहीँ ठाउँमा ओकीले तीन छोरा र तीन छोरी जन्माइन्। लालपुर्जा नदेखेरै उनका श्रीमान् र छोरीको मृत्यु भइसक्यो। ‘आफू बसेको जमिनको लालपुर्जा नदेखेरै लोग्ने र छोराहरू बिते,’ उनले भनिन्, ‘म पनि नदेखेरै मर्छुकी जस्तो लाग्थ्यो, हातमा लालपुर्जा पर्दा आँखाबाट आँसु रोक्न सकिनँ।’

तारादेवी बुढाको परिवार २०३५ सालतिर सल्यानबाट मेहलकुना बसाइँ सर्यो। ताराका श्रीमान् शेरबहादुरले बजार छेउमा सानो ऐलानी जमिन जोडे। जग्गाधनी पूर्जा नपाउँदै शेरबहादुरको मृत्यु भयो। दुई छोराले दुःख गरेर ऐलानी जमिनमै एक तले पक्की घर बनाए। ‘जग्गाधनी प्रमाणपुर्जा नहुँदा बनाएको घर र जमिनको कुनै मूल्य नहुँदो रहेछ,’ ७० वर्षीया तारादेवीले भनिन्, ‘अब छोरा–नातिहरूलाई सजिलो होला।’

जग्गा र घर भए पनि व्यापार–व्यवसाय गर्न नगद पैसा नहुँदा उनका दुवै छोरा कमाउन कालापहाड (भारत) जान्छन्। ‘अब त घर बैंकमा राखेर छोराहरूले यहीँ व्यापार गर्छौं भनेका छन्,’ उनले भनिन्, ‘बल्ल अहिले घर र जमिन मेरो हो भन्नेमा ढुक्क भएकी छु।’ मेहलकुना पूर्वीसुर्खेतको प्रमुख प्रशासनिक केन्द्र हो। मालपोत, नापी, इलाका प्रशासन, इलाका प्रहरी कार्यालयलगायतका कार्यालय यहाँ स्थापना भएका छन्। पूर्वीसुर्खेतको मुख्य बजार भए पनि यहाँका धेरै जनासँग जग्गाको स्थायी स्वामित्व थिएन। यसअघि पनि लालपुर्जा दिनका लागि भन्दै धेरै भूमि आयोग गठन भए। जति आयोग गठन हुन्थे, त्यसमा फारम भर्ने र रसिद लिनेबाहेक काम हुन्नथ्यो।

गत वर्ष गठन भएको भूमि आयोगले जिल्लामा लालपुर्जा वितरण तीव्र्र बनाएपछि ओकी र तारादेवीजस्तै धेरै नागरिकको अनुहारमा खुसी छाएको छ। भेरीगंगा नगरपालिका–८ कि नैनसरा बुढाथोकीले आइतबार तीनवटा कित्ताको लालपुर्जा पाइन्। वर्षौदेखि उपभोग गर्दै आएको जमिनको स्वामित्व पाउँदा उनले अहिलेसम्म व्यहोरेका दुःख र पीडा भुलेकी छन्। ‘लालपुर्जा नपाइकन मरिन्छ कि जस्तो लागेको थियो,’ ६८ वर्षीया नैनसरीले भनिन्, ‘अहिले पुर्जा हातमा परेपछि यसअघि पाएका दुःख र पीडालाई चटक्कै बिर्सेकी छु।’

भूमि आयोग सुर्खेतले एक वर्षको अवधिमा जिल्लाका करिब नौ सय जनालाई जग्गाधनी पूर्जा वितरण गरेको छ। तीन हजारबढी लालपुर्जा तयारी अवस्थामा रहेको आयोगले जनाएको छ। जग्गाधनीपुर्जा वितरण गर्न गृह जिल्ला सुर्खेत आएका उपप्रधानमन्त्री एवं रक्षामन्त्री पूर्णबहादुर खड्काले भूमि आयोगमार्फत जग्गाधनी प्रमाणपुर्जा वितरणको काम तिब्र बनाइने बताए। ‘सरकारको लक्ष्य कोही पनि नागरिक भूमिविहीन भएर बस्नु नपरोस् भन्ने छ,’ उनले भने, ‘आयोगमार्फत जतिसक्दो चाँडो लालपुर्जा वितरणको काम सम्पन्न गर्ने गरेर तीन तहकै सरकार लागिरहेका छौं।’

प्रकाशित: २ श्रावण २०८० ०२:३४ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App